स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न आग्रह

२०७७ कार्तिक १ गते, शनिबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा. अवधेश झाले स्वस्थ खसी-बोका चिनेरमात्रै खरिद गर्न आग्रह गरेका छन । उनले बजार आनुगमन गरी स्वस्थ र अस्वस्थ खसी-बोका छुट्याइएकोले चिनेरमात्रै खरिद गर्न आग्रह गरेका हुन् । स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थमा रातो रङ लगाइएको डा. झाले बताए । उपभोक्ताले हरियो रङ लगाइएको खसी-बोका र च्यांग्रामात्रै खरिद गर्नुपर्ने उनले बताए ।
उपत्यकाका मुख्य खसी-बोका बजारमा नियमित अनुगमन गरी महानगरपालिकाले स्वस्थ र अस्वस्थ खसी-बोका र च्यांग्राको पहिचान गर्दै हरियो र रातो रङ लगाइ छुट्ट्याएको छ । पशुको तापक्रम नाप्ने, नाकबाट सिँगान बगे/नबगेको, पखला लागे/नलागेको, झोक्राएर बसे/नबसेको हेरेर स्वस्थ र अस्वस्थ पशु छुट्ट्याउने गरिएको छ । चेकजाँचको क्रममा अस्वस्थ भएको पाइए छुट्टै आइसोलेसनमा राखेर उपचार गर्न लगाइएको पनि उनले बताए ।
दसैंको बेला काठमाडौंका खसी-बोका बजारमा देशका विभिन्न स्थान तथा भारतदेखिसमेत खसी-बोका र च्यांग्रा ल्याइ बिक्री-वितरण सुरु भइसकेको छ । यस्तो अवस्थामा अस्वस्थ पशुको बिक्री-वितरण हुनसक्ने भन्दै महानगरपालिकाले अनुगमन गरी स्वस्थ र अस्वस्थ पशु छुट्ट्याइ स्वस्थ पशुको सिङमा हरियो रङ र अस्वस्थको सिङमा रातो रङ लगाएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु