‘ रेम्डिसिभिर औषधिले कोरोना संक्रमितको स्वास्थ्यमा खासै सुधार ल्याउन सकेन ‘

२०७७ कार्तिक १ गते, शनिबार


काठमाडौं । रेम्डिसिभिर नामक औषधिले परीक्षणमा कोरोना संक्रमित बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले जनाएको छ । कोरोना संक्रमितको उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा औषधिले खासै सुधार ल्याउन नसकेको देखिएको हो । डब्ल्यूएचओले यो नतिजाले कोरोनाको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको जनाएको छ । सो परीक्षणमा रेम्डिसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११ हजार बिरामीमा प्रयोग गरिएको थियो । तर ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव नपारेको बताइएको छ ।
रेम्डिसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ । सो अध्ययनबाट कुनै निष्कर्ष निकाल्न सकिनेमा पनि उसको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो । अमेरिकामा गरिएका परीक्षणमा रेम्डिसिभिरमा संक्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका थिए ।
इबोलाको उपचारको लागि तयार गरिएको यो औषधिले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउने गर्दछ । -एजेन्सी-

प्रतिक्रियाहरु