महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता वितरण

२०७७ कार्तिक १ गते, शनिबार


काठमाडौं । दूरदराजको प्रसंग होइन, देशको जेठो अस्पताल वीर अस्पतालमा अक्सिजन प्लान्ट बिग्रिएको ६ महिना भएको छ । जम्मा ३५ लाखमा मर्मत हुन सक्ने प्लान्ट बनाउने बजेट नभएकोले कोभिड महामारीका बिरामी मर्कामा परेका छन् । तर, जनताले अक्सिजनका लागि संघर्ष गर्दा मौन बसेका सांसदहरूले दसैँ मनाउने खर्च पनि राज्यबाट लिएका छन् । महामारीको वेला उनीहरूले नियमित तलब र सुविधाबाहेक दर्जनौँ शीर्षकका कुनै पनि भत्ता रोकिएको छैन ।
सांसद र उनीहरूका स्वकीय सचिवहरूको दसैँ भव्य बनाउन संसद्ले तीन करोड सात लाख ५४ हजार चार सय १० रुपैयाँ दसैँ भत्ता वितरण गरेको छ । सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा पाउँछन् । त्यस्तै, बैठकभत्ता, भ्रमणभत्ता, औषधि खर्चलगायतका शीर्षकमा सुविधा लिइरहेका छन् । कोभिड महामारीका वेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दसैँ भत्ता पनि बुझेका छन् ।
संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् । संविधानतः प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ हुन्छन् । तर, उनीहरूमध्ये राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मात्र दसैँ भत्ता लिएका छैनन् । उनले कोभिड महामारी नियन्त्रण नभएसम्म आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेका थिए । चैतयता उनले तलब लिएका छैनन् । त्यस्तै राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य वामदेव गौतमको पद नै अदालतमा विचाराधीन रहेकाले उनको तलब र भत्ता रोकिएको छ ।
त्यस्तै, प्रतिनिधिसभातर्फ पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार, कैलाली घटनामा जेलमा रहेका सांसद रेसम चौधरी, बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा झेलिरहेका विजय गच्छदार र रौतहट बमकाण्डमा जेल परेका मोहम्मद आफताब आलमको तलब–सुविधा स्वतः रोकिएको छ । – नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु