आज घटस्थापना

२०७७ कार्तिक १ गते, शनिबार


काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैं सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । पञ्चांग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको छ । शनिबार आजदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखेर कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । यस दिन बिहानै आत्मशुद्धी गरी नदी, खोला, बगर तथा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने गरिन्छ ।
माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ ।
यसैगरी माटोको शुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरी घडाको वरिपरि जौ छर्ने गरिन्छ । त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गा पूजा, आराधना र प्रार्थना गरिन्छ ।
दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । घटस्थापनामा राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार