अक्टोबर क्रान्ति र कला साहित्यबारे अन्तरक्रिया सम्पन्न

२०७७ कार्तिक १ गते, शनिबार


काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोद्वारा शुक्रबार अक्टोबर क्रान्ति र कला साहित्यबारे अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा वक्ताहरुले रूसी समाजवादी अक्टोबर क्रान्तिको युगान्तकारी महत्व भएको भन्दै नेपालमा यसले वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागी क्रान्तिकारीहरुलाई उत्प्रेरणा दिइरहेको बताएका छन् ।
महासङ्घका पूर्व केन्द्रीय सदस्य एवं लेखक डा. शिवशङ्कर बस्यालले अक्टोबर क्रान्तिले तत्कालीन जारसत्ताको जाँतोमुनि पिसिएका रूसी जनतालाई मुक्त गरेको भन्दै कम्युनिस्ट सिद्धान्त अनुरुप पहिलो समाजवादी सत्ता स्थापना भएको बताए । उनले रूसी अक्टोबर क्रान्तिको प्रभाव कला साहित्यमा परेको भन्दै नेपालमा एकीकृत जनक्रान्ति सम्पन्न गर्न अक्टोबर क्रान्तिले प्रेरणा दिइरहेको बताए । अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले अक्टोबर क्रान्तिको शिक्षाबाट नेपालमा क्रान्ति सम्पन्न गर्ने सकिने बताए । महासङ्घका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले विचारधारा अन्त्यको हल्ला चलाएर पुँजीवादले आफ्नो आयु लम्ब्याउन खोजेको भन्दै अक्टोबर क्रान्तिको झण्ड नझुकेको बताए । उनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनापछि कला साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव परेको बताए । अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक विरेन्द्र विकले पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद भएको भन्दै एकीकृत जनक्रान्तिमा कला साहित्यको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा क्षितिज परिवारले अक्टोबर क्रान्तिसम्बन्धी गीतहरु प्रस्तुत गरेको थियो भने १५ जना कविहरुले कविता वाचन गरेका थिए । पारस राहादी मगरले लेनिनद्वारा रचित “त्यो आँधीमय बर्ष” वाचन गरेका थिए । अन्तरक्रियामा रूपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी, नवलपुर जिल्लाहरुबाट सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय गीत गाएर सुरु भएको कार्यक्रम ब्युरो संयोजक खोमा तरामु मगरको अध्यक्षता, ब्युरो सदस्य एवं क्षितिज परिवारका संयोजक संयोगको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि महासङ्घले बुटवलमा एमसीसी विरुद्ध सिर्जनात्मक कार्यक्रम गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु