गृह मन्त्रालयद्वारा नवरात्रमा मन्दिर नखोल्न निर्देशन

२०७७ आश्विन ३० गते, शुक्रबार


काठमाडौं । गृह मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र पठाउदै यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दसैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।
शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको गृहमन्त्रालयले जनाएको छ ।
यही असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । शक्तिपीठ खोल्नेबारेमा गरेको प्रस्तावमा अहिलेसम्म कुनै जवाफ नआएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी देवालयहरू खोल्न आग्रह गरिएको थियो । केही दिनअघि पर्यटनमन्त्री योगेश भट्टराईले पनि कात्तिक १ गतेदेखि शक्तिपीठ खोल्ने तयारी भइरहेको बताउनुभएको थियो । गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु