उत्तर कोरियाली नेता किम जोङ उन असफल भए भन्दै भावुक बने

२०७७ आश्विन २९ गते, बिहीबार


काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन असफल भएँ भन्दै भावुक बनेका छन् । नेशनल पाेस्टका अनुसार पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रमलाई सम्बाेधन गर्दै देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको उनले आँसु झारेका हुन् । राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उनले देश एकदमै संघर्षपूर्ण अवस्थामा रहेको बताए । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न नसकेकाेमा उनले माफि पनि मागे । चस्मा खोलेर आँसु पुछ्दै किमले भने, “हाम्रा जनताले ममाथि आकाश जति उच्च र समुद्र भन्दा गहिरो विश्वास राखेका थिए तर मैले सबैलाई निराश बनाएँ । म त्यसका लागि माफी माँग्न चाहान्छु ।”
उत्तर कोरियाली प्रमुख, किम, त्यसरी सबैका सामु भावुक हुनुलाई अत्यन्तै दुर्लभ दृश्य मानिएको छ । सार्वजानिक गरिएको भिडियोमा किम रोएसँगै त्यहाँ उपस्थित सेना अनि सर्वसाधारणहरु पनि भावुक बनेकाे देखिन्छ ।
यसका साथै उनले सबै जनताहरुलाई तिनका त्याग र समर्पणका निम्ति धन्यवाद व्यक्त गर्दै आफ्नो असफलताका लागि सार्वजानिक रुपमा माफी पनि मागेका छन् ।

हजुरबुवा र बुवा दुवैले देशको नेतृत्व जस्तो गम्भीर जिम्मेवारीका लागि आफूलाई विश्वास गरेको तर आफूले देशवासीका कठिनाइ र जीवनमा पर्याप्त सुधार ल्याउन नसकेको बताउँदै उनी दुःखी भए । २०११ मा आफ्नो बुबाको उत्तराधिकारी भएदेखि किमले आर्थिक प्रगतिलाई आफ्नो एजेन्डाको आधारशिला बनाएका छन् । उनको आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा लगाइएको प्रतिबन्धको बाबजुद अन्तर्राष्ट्रिय व्यापार, निर्माण परियोजनाहरू र अन्य आर्थिक क्षेत्रका महत्वाकांक्षी योजनाहरू ठप्प भएको छ । काेराेना महामारीको कारण उत्तर कोरियाले लगभग सबै सीमाना बन्द गरेकाे छ, जसले खाद्यान्न आपूर्ति खतरामा छ । प्योङयोङले अहिलेसम्म कोरोना संक्रमित भएका एकजनाबारे पनि खबर गरेको छैन । त्यहाँ कसैले पनि मास्क लगाएका छैनन् भने सामाजिक दुरी कायम गरिएको पनि देखिएको छैन ।
पछिल्ला केही महिना कोरोना महामारीका कारण सबै सिमाना बन्द हुँदा उत्तर कोरियाल चीनसँग कुनै आर्थिक कारोबार गर्न पाएन जसले देशको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पारेको बताइएको छ ।
वर्षौँदेखि जारी विश्वव्यापी आर्थिक प्रतिबन्ध अनि विनाशकारी प्राकृतिक प्रकोपहरुले उत्तर कोरियलीहरुको जनजीवन झन कष्टकर बनाइदिएको छ । त्यसैले पनि किमले त्यस किसिमको समारोहमा भावुक भइ आँसु झार्नुले देशको नेतृत्व सम्बन्धी उनी वास्तवमै अहिले धेरै ठूलो दबाबमा रहेको स्पष्ट देखिने कोरियन एकिकृत संगठनका निर्देशक हङ मिन बताउँछन् । -एजेन्सी

प्रतिक्रियाहरु