महिलामाथि भइरहेका अमानविय घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग

२०७७ आश्विन २८ गते, बुधबार


काठमाडौँ । सयुक्त महिला संघ संयुक्त संघर्ष समितिले पछिल्लो समय महिलामाथि भइरहेका सबै घटना अत्यन्त अमानवीय बर्बर र निच प्रकारका भएको भन्दै ती सबै घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि जोडदार माग गर्दै पीडितलाई उचित क्षतिपूर्ति, उपचार र पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यस बिषयमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सचिवालय सदस्य राजकुमारी शाही ,अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिव शारदा महत ,अखिल नेपाल महिला संघको अध्यक्ष मीना पुनले जारी गरेको संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ – ” देशका विभिन्न जिल्लाहरूमा लगातार रूपमा महिलामाथि भइरहेको सामूहिक बलात्कार, बलात्कारपछि हत्या, बोक्सीको नाममा कुटपिट, घरेलु हिंसालगायतका घटनाप्रति संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको गम्भीर ध्यान आकर्षित भएको छ । उक्त घटनाप्रति सङ्घर्ष समितिले गम्भीर खेद प्रकट गर्दछ ।
केही समयअघि भक्तपुरमा बसचालक र सहचालक मिलेर एक १७ वर्षीय युवतीलाई रोकिराखेको बसभित्र बन्धक बनाई सामूहिक बलात्कार गरेको घटना विभिन्न सञ्चार माध्यमबाट बाहिर आएको छ ।
बझाङ बुङ्गल नगरपालिकाकी २१ वर्षीय युवतीलाई उपचार गर्ने निहुँमा भारत लगी उनकै श्रीमानको मिलेमतोमा ससुरा, काकाससुरा, नन्देभाइले महिनौँसम्म बलात्कार गरेको विभिन्न यातना दिएको र उनीहरूले पैसा लिई परपुरुषलाई बलात्कार गर्न लगाएको घटना सार्वजनिक भएको छ । उक्त घटनाले उनी शारीरिक, मानसिक रूपमा विक्षिप्त भई हाल बझाङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बझाङ मष्टा गाउँपालिकाको १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको छ । पर्सा जिल्ला छिपरमाई गाउँपालिका–३ की ४५ वर्षीय एकल महिला उमादेवी ठाकुरलाई उनका देवर, छिमेकी र एक जना प्रतिनिधि मिली चरित्रहीन र बोक्सीको आरोपमा कपाल काटी कालोमोसो दलेर कुटपिट गर्दै अर्धनग्न अवस्थामा गाउँ घुमाएको घटना सार्वजनिक भएको छ । माथि उल्लेखित घटनाहरू प्रतिनिधिमूलक घटना मात्र हुन् ।
महिलामाथि भइरहेका सबै घटना अत्यन्त अमानवीय बर्बर र निच प्रकारका घटना हुन् । ती सबै घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि जोडदार माग गर्दछौँ र पीडितलाई उचित क्षतिपूर्ति, उपचार र पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।
मुलुकमा दिनानुदिन बढिरहेको महिला, बालिकामाथिको बलात्कार, हत्या, हिंसाका घटना सामान्य र व्यक्तिगत घटना होइनन् । यो सिङ्गो मुलुकका लागि चिन्ता र लज्जाको विषय हो । समाजमा बारम्बार दोहोरिने यस प्रकारका घटनाले हाम्रा सामाजिक मूल्यमान्यता बिग्रँदै र धरासायी हुँदै गइरहेको कुरालाई बताउँछ । यस प्रकारको समस्या समाधान गर्नका लागि राज्यले सामाजिक, मानवीय, आर्थिक, मानसिक सबै क्षेत्रको अध्ययन गरी गम्भीरतापूर्वक लाग्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ । साथै जबर्जस्ती बलात्कार, घरेलु हिंसा, बोक्सीलगायतका घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा कारबाहीका लागि विद्यमान कानुनलाई थप कडा बनाउने कानुनको कठोर कार्यान्वयन गराउने र घटनाको अनुसन्धान पद्धति, प्रभावकारिता र छिटो न्यायका लागि आवश्यक कदम चाल्न जोडदार माग गर्दछौँ ।
अहिले देशमा दैनिक उपभोग्य वस्तुमा व्यापक मूल्यवृद्धि भइरहेको छ । महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको छ । कालाबजारीको बिगबिगी छ । राष्ट्रियता कमजोर भइरहेको छ । सार्वजनिक यातायातको भाडा बढाइएको छ । सार्वजनिक यातायातमा कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगिन कुनै सावधानी अपनाइएको छैन । माथि उल्लेखित समस्याले सरकारको नालायकीपनको उजागर हुन्छ । यी सबै विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौँ र सर्वसाधारण जनताको पक्षमा कदम चाल्न सरकारसँग जोगदार माग गर्दछौँ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु