आइफोन १२ बजारमा

२०७७ आश्विन २८ गते, बुधबार


काठमाडौं । अमेरिकी कम्पनी एप्पलले मंगलबार डिजिटल इभेन्ट मार्फत आइफोन १२ को चार मोडल सार्वजनिक गरेको छ । आइफोन १२ का यी मोबाइल ५ जी नेटवर्कयुक्त हुने एप्पलले जनाएको छ । एप्पलका प्रमुख टिम कुक भन्छन्, ‘हामीले आइफोनमा ५ जी नेटवर्क ल्याउँदै छौँ । आइफोनका लागि यो नयाँ युगको शुरुवात हो ।’
६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा आइफोन–१२ उपलब्ध हुने एप्पलले जनाएको छ । यस्तै आइफोन–१२ मिनी पनि ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । फाइफोन–१२ प्रो मा भने १२८, २५६ र ५१२ जिबी तथा आइफोन–१२ प्रो म्याक्सको स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी रहेको छ । आइफोन–१२ सिरिजका फोनको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म पर्नेछ ।
आइफोन–१२ मिनीका लागि विश्वभर नोभेम्बर ६ देखि प्रि अडर शुरु भएकामा १३ नोभेम्बरदेखि पाइने जनाइएको छ । आइफोन–१२ र आइफोन–१२ प्रोको प्रि–अडर अक्टोबर १६ देखि शरु हुने र अक्टोबर २३ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । आइफोन–१२ प्रो म्याक्सको प्रि–अडर भने १३ नोभेम्बरदेखि लिइने र २० नोभेम्बरदेखि बिक्री गरिने जनाइएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वभर अर्थतन्त्र गम्भीर रुपमा प्रभावित भए पनि पछिल्लो एक वर्षदेखि आइफोनको बिक्री भने बढेको देखाइएको छ ।
आइफोन–१२ प्रो मा स्क्रीनको आकार अघिल्ला आइफोनको भन्दा ठूलो छ । आइफोन–१२ को स्क्रीन ६.१ इन्चको हुने र पहिलेको भन्दा ११ प्रतिशत पातलो र १६ प्रतिशत हलुका हुने एप्पलले जनाएको छ ।
रातमा फ्ल्याश लाइट बिनै पनि सेल्फी लिन सकिने फिचर थपिएको छ भने कलर कन्ट्रस्ट र आवाजमा पनि पहिलाभन्दा निकै राम्रो बनाइएको दाबी कम्पनीको छ । -एजेन्सी

प्रतिक्रियाहरु