उपचारत् ट्रम्प सार्वजनिक कार्यक्रममा सहभागी

२०७७ आश्विन २५ गते, आईतवार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट संक्रमित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । विज्ञहरुले भिडभाडयुक्त कार्यक्रम नगर्न सुझाव दिएपनि ट्रम्पले ह्वाइटहाउसमै समर्थकहरुलाई सम्बोधन गरेका हुन् । उपचारकै क्रममा रहेका ट्रम्पले सम्बोधनको क्रममा आफूले कोरोना विरुद्धका औषधि लिन छोडेको र आफूले राम्रो महसुस गरिरहेको बताए । सम्बोधनका क्रममा ट्रम्पले आफ्ना डेमोक्र्याट प्रतिष्पर्धी जो बाइडेन र डेमोक्रेट पार्टीको आलोचना गरेका छन् । डेमोक्रेट पार्टीको कार्यक्रम समाजवादभन्दा पनि पर कम्युनिष्टसरह रहेको आरोप उनको थियो ।
सभामा ट्रम्पले अश्वेत समुदायको हितमा पूर्वराष्ट्रपति अब्राहम लिंकनपछि अरु कुनै राष्ट्रपतिले भन्दा धेरै काम आफूले गरेको दावी दोहोर्‍याए । राष्ट्रपति ट्रम्पले आफ्नो समयमा अर्थव्यवस्थामा गरिएको काम, सीमामा लगाइने पर्खाल र हुलाकमार्फत् गर्न लागिएको मतदानलगायतका विषयमा पनि धारणा राखेका छन् ।
ह्वाइट हाउसले बिहीबार यता ट्रम्पको स्वास्थ्य अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक गरेको छैन । अहिलेसम्म ट्रम्प अझै पनि संक्रामक छन् कि छैनन् भन्ने स्पष्ट भएको छैन । ह्वाइटहाउसमा भएको कार्यक्रम ट्रम्पको चुनावी र्‍याली जस्तो देखिएको आलोचकहरुले बताउँछन् ।
उता नोभेम्बरमा हुने चुनावमा ट्रम्पका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले पेनसिलभेनियामा चुनावी कार्यक्रम गरेका छन् । उनले कोरोना भाइरसबाट आफ्ना प्रियजन तथा आफन्त गुमाएकाहरुप्रति सो क्रममा समवेदना प्रकट गरेका छन् । पछिल्ला मत सर्वेक्षणहरुमा जो बाइडेन ट्रम्पभन्दा अघि देखिँदै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु