दलाल सरकारलाई दूधमा परेको झिंगालाई टिपेर फ्याँकेझै फ्याँक्न जरुरी

२०७७ आश्विन २५ गते, आईतवार

हस्तबहादुर केसी

सत्ताधारी नेकपाभित्र देश र जनताका समस्याहरुलाई एकातिर पन्छाएर पदको लुछाचुँडी कायमै छ । २०७५ साल जेठ ३ गते पूर्वएमाले र पूर्वमाकेका बीच पार्टी एकता ती पार्टीहरुका स्वार्थी, घोर अवसरवादी नेताहरुको निहित स्वार्थपूर्तिका लागि भएको थियोे भन्ने कुरा त्यस पार्टी भित्र जुन लामो समयदेखि पदको लुछाचुँडी चलिरहेको छ, यसले सप्रमाण पुष्टि गरिदिएको छ । सत्ताधारी पार्टी भित्रको पदको लुछाचुँडीका शृङ्खलाहरुले अर्को के कुराको प्रमाणित गरिएको छ भने पार्टी एकता हुनुभन्दा पहिले नै पूर्वएमाले र पूर्वमाके कम्युनिस्ट पार्टीहरु थिएनन् । उनीहरू दक्षिणपन्थी, नवसंशोधावादीमा रुपान्तरण हुँदै सोसल डेमोक्रेटिक पार्टीका रुपमा गिरेर नितान्त बुर्जुवा पार्टीका रुपान्तरण भइसकेका थिए भन्ने कुरा पुनः प्रमाणित हुन पुगेको छ । एकता पछि पनि र २०७४ सालको संसदीय चुनावमा वाम तालमेल गरेर कम्युनिस्ट नै भएको प्रचार गरेर साथै जनतालाई झुक्याएर करीब दुई तिहाईको सरकार बनाउन सफल पनि भए र समाजवादको नारा दिएर जनतालाई भुलभुलैयामा राख्न पनि उनीहरू सफल नै रहे । एकातिर सत्तारुढ नेकपाले देशको समृद्धि र समाजवादको नारा घन्काउँदै आएको छ भने अर्कोतिर जनताबाट देशव्यापी रुपमा चर्को कर असुलेर जनताको ढाड सेक्ने र चरम् भ्रष्टाचार गरेर जनताको सम्पत्ति लुट्ने कार्यमा व्यस्त छ । जनतामाथि यति चर्को कर असुली गरेको छ कि जसरी फ्रान्सका राजा लसई चौधौले फ्रान्सेली जनताबाट ८० प्रतिशत कर असुलेर राज्यको कोषमा जम्मा गरेर त्यो जनताको करबाट जम्मा गरेको सम्पत्तिमाथि लुट मच्चाउने काम गर्दै आएको थियो । पछि सन १७८९–९० तिर पुगेर फ्रान्सका राजा लुई सोह्रौंले पनि त्यही लुई चौधौंले उठाउने जनताको करलाई निरन्तरता दिएर राज्य कोषबाट सम्पूर्ण जनताको सम्पत्ति लुटेर जनतालाई हालतमा पु¥याएर फ्रान्सेली जनतामाथि हरक्षेत्रमा अत्याचार गरेर पछि जनतामा असैय भए पछि अन्तिममा फ्रान्सेली जनता आक्रोशित भए र जनताको आक्रोशले फ्रान्सका साज लुई सोह्रौं र उनकी रानीलाई समेत पक्रेर पेरिस शहरमा लगेर राजारानी दुवैलाई काटेर टुक्रा–टुक्रा पारेर शहरमा फालिदिएका थिए ।

आज नेपालको सत्ताधारी नेकपाको केपी ओली नेतृत्वको दलाल सरकारले जसरी फ्रान्सका निरंकुश राजा लुई चौधौं हुँदै राजा सोह्रौंसम्म पुग्दा जनतामाथि जुन प्रकारको ज्यादति गरिएको थियोे, जनतामाथि शोषण, उत्पीडन र अत्यार गरिएको त्यही प्रकृतिको ज्यादति र अत्याचार आज सत्ताधारी नेकपाको केपी ओली–प्रचण्डको नेतृत्वको दलाल सरकारले गरिरहेको छ ।

त्यस्तै आज सत्ताधारी नेकपा ओली नेतृत्वको दलाल सरकार पूर्वी युरोपका एउटा राष्ट्र रुमानियाको कम्युनिस्ट राष्ट्रपति चाउचेश्की र उसकी श्रीमती जस्तै जनताको रारा सम्पत्ति आफ्नो परिवारको नाममा बनाएर जनताकै सम्पत्तिमा हदैसम्मको यैस आराम गर्ने, सम्पूर्ण मानवीय सुखभोकको जिन्दगी ज्यूउने गरेको थियोे । पछि त्यसका लोग्ने स्वास्नीलाई समेत जनताले सडकमा ल्याएर उसका दुबैजनालाई फासी दिए र उसले निजी बनाएको सारा सम्पत्ति कब्जा गरेर जनताको साझा सम्पत्ति बनाएका थिए । यहाँ पनि ओली नेतृत्वको दलाल सरकारमा बस्ने र त्यस पार्टीका भ्रष्ट र नैतिक हराम एवं लाज हराएका सत्ताधारीका नेताहरु फ्रान्सका लुई सम्राटहरु र रुमानियाका चाउचेस्कु भ्रष्ट कम्युनिस्ट नामधारी शासक जस्तै बनेर राष्ट्रको सारा सम्पत्ति आफ्नो नाममा, आफ्नो परिवारको नाममा जम्मा गर्न लागिपरेका छन् ।

जस्तो कि गत वर्ष सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरबाट उत्पन्न भएर आज करोडमा संक्रमण र लाखौंजनाको ज्यान लिन पुगेको कोरोना महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० को महामारीबाट नेपाल पनि अछुतो रहन सकेन र आजका मितिसम्म नेपालमा पनि कोरोना भाइरसको महामारीबाट आजसम्म एक लाख जति नागरिक संक्रमित भइसकेका छन् भने ६ सयजनाले ज्यान गुमाइसकेका छन् । यसको प्रकोपको असरले आज हाम्रो देशमा मात्रै लाखौं काम गरिखाने श्रमजीवि मजदुरहरु रोजगारी गुमाएर साँझ–विहानको खाना जुटाउन नसकेर भोकभोकै सडक र गल्ली–गल्लीमा मर्ने अवस्था पुगेका छन् ।

देश भित्र रोजगारीको अवसर नपाएर संसारका विभिन्न मुलुकहरुमा रोजगारीका लागि गएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी, मजदुरहरु पनि त्यहाँ पनि कोरोना प्रकोपकै कारण ती देशका रोजगारदाताहरूले, रोजगारदाता कम्पनीहरु र त्यहाँका मालिकहरुले रोजगारीबाट निकाला गरे पछि बेरोजगार भए र विपत्ता भए र स्वदेशमा फर्किएका छन् । उनीहरूलाई नेपाल पनि रोजगारीको अवसर नभएर भोकभोकै मर्ने अवस्थामा पुगेका छन् । त्यति मात्र होइन, भारत प्रवासमा रोजगारीका लागि गएका लाखौं हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरु पनि भारतमा पनि कोरोना संक्रमण बढ्दै गयो । त्यहाँका राजगारदाता कम्पनी र मालिकहरुबाट निकालिएका नेपाली दाजुभाइ, दिदीबहिनीहरु पनि लाखौंको संख्यामा विभिन्न मठिनाइहरु झेल्दै र मोल्दै आफ्नो देश, आफ्नो जन्मभूमि, आफ्नै घर आँगनमा पुगेका थिए । कतिपयले कोरोना भाइरसको संकलनबाट ज्यान गुमाउन पनि पुगे ।

बाँकी बचेका हजारौं हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी, मजदुरहरु आफ्नो देशमा, आफ्नो जन्मभूमिमा, आफ्नो घरआँगन बसेर खान नपाएर भोकभोकै मर्ने अवस्था सृजना भएपछि उनीहरू पुनः फेरि विविध प्रकारका मठिनाई र झमेलाहरु बेहोर्ने आँट गरेर जीवनलाई हत्केलामा राखेर भारततिर पुनः फर्किरहेका छन् । भारतमा कोरोना संक्रमण र जोखिम झनै बढेर गइसकेको छ, त्यस्तो देशमा रोजगारीका लागि ज्यानलाई हत्केलामा राखेर भारततिर फर्कनेको लर्को लागेको हामी सिमानाहरुमा देख्न विवस भइरहेका छौँ । यता देश भित्र पनि स्कुल, कलेज र विश्वविद्यालयहरु गत वर्ष २०७६ चैत देखि बन्द छन् । आज लाखौं नेपाली विद्यार्थीहरु आफ्नो पढाइबाट बञ्चित भैरहेका छन् । एकातिर उनीहरूको शैक्षिक जीवन बर्वाद भइरहेकाले छ भने अर्कोतिर उनीहरू मानसिक रोगले समेतले ग्रसित भएर धेरैले आत्महत्या समेत गरिसकेका खबरहरु प्रकाशमा आइरहेका छन् ।

त्यस्तै साना व्यापारीहरु, शहरीया गरीबहरु, शहर बजारमा डेरा डण्डा गरेर र शोरुमहरु भाडामा लिएर र बन्द व्यापार गरी गुजारा चलाउनेहरुको कोरोना कहरका कारण उनीहरूको जीवन बर्वाद भइसकेको छ । यसकै कारणले धेरैले आत्महत्या गरेका खबरहरु प्रकाशमा आइरहेका छन् । दलाल सरकार र उसको माउपार्टी सत्ताधारी नेकपाका नेताहरु यही कोरोना कहरले जनता बोल्न र केही गर्न नसक्ने अवस्थामा पुगेको मौका छोपेर पदको बाँडफाँड गर्ने, पदकै लुछाचुँडी गर्ने खेल र षड्यन्त्रमा लागिरहेका छन् । केपी ओली र प्रचण्डबीचको प्रधानमन्त्री पदको खोसाखोस र लुछाचुँडीले देश दुनियाँलाई हसाएरै छाड्यो । त्यति मात्र होइन जनताबाट तिरस्कृत भएका, चुनाव हारेर गल्लीमा फ्याँकिएका वामदेव गौतम, नारायणकाजी श्रेष्ठजस्ता जनताबाट तिरस्कृत भइसकेकाहरुलाई राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने र भत्ता खुवाउने र राष्ट्रको सम्पत्ति लुट्ने तहमा पु¥याउने र जनताको सम्पत्ति लुटेर बाडिचुँडी खाने स्थानमा पु¥याउने कसरतले पनि देश दुनियाँलाई कम हँसाएन । लाज हराएकाहरुलाई कुनै लाज सरम छैन । यही मौकामा राष्ट्रिय सम्पत्ति लुट्न पाए भयो ।

यस प्रकारको विकराल अवस्थामा जनतालाई राहत दिने, बाँच्ने अवसर दिने, सरकार त जनताको अविभावक भएको नाताले जनतालाई संरक्षण गर्नुपर्ने बेलामा उल्टै जनतालाई तड्पिन बाध्य पार्ने आफ्नो निहित स्वार्थपूर्ति पूरा गर्ने, यहीँ मौकामा राष्ट्रको सम्पत्ति लुटेर पुस्तौसम्म पुग्ने सम्पत्ति जम्मा गर्ने खेलमा लागेका छन्, सत्ताधारीहरु । एकातिर जनताको अवस्थामा यसरी हालतमा पुगेको छ भने अर्कोतिर सत्ताधारी नेकपाको केपी ओली–प्रचण्ड नेतृत्वको दलाल तथा राष्ट्रघाती एवं जनघाती सरकार आफ्नो आवश्यकताले कतिखेर कोरोनाका कारण देखाएर लकडाउन गर्ने, कतिखेर कफ्र्यु लगाउने र खोल्ने र जनताबाट कर असुल्ने र जनताको सम्पत्तिमाथि ब्रह्मलुट मच्चाउने खेलमा तल्लीन छन् । यति मात्र कहाँ होर, केपी ओली नेतृत्वको दलाल सरकार आज संसारमै पहिलो नम्बरको भ्रष्ट सरकारको रुपमा दर्ता हुन पुगेको छ । यतिबेला केपी ओली नेतृत्वको दलाल सरकार संसारमै भ्रष्टाचारी सरकारका नामले पहिलो नम्बरमा चिनिने भएकोले यसले संसारमै नेपाली जनताको बेइज्जती गरिरहेको छ । तर, लाज हराएका यी नकचराहरुलाई कुनै लाज घिन र सरम छैन ।

यसरी आज देश कंगाल भइसकेको छ । धनीहरु राता रात धनी भइरहेका छन् भने गरीबहरु झन्झनै गरीब हुने मात्र होइन, भोकभोकै मरिरहेका छन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर दलाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संलग्नतामा कोरोनाका नाममा चीनबाट आौषधि खरिद गर्ने निहुँमा ओम्नी नामको नक्कली कम्पनी खडा गरेर करिब ४५ करोडको भ्रष्टाचार गरियो र त्यो प्रमाणित भइसकेको छ । सरकारले ती भ्रष्टाचारीहरुलाई सख्त कारवाही गर्नुपर्ने उल्टै भ्रष्टहरुका नाइके र संरक्षकका रुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण दिइरहेका छन् । ओम्नी नामको नक्कली कम्पनीबाट भ्रष्टाचार गर्न अरु नांगिने भएकोले नेपाली सेनालाई दियो, दलाल सरकारले चीनबाट आौषधिजन्य सामान खरिद गर्न । नेपाली सेनाले पनि व्यापक मात्रामा भ्रष्टाचार गरेरै छाड्यो ।

कोरोना पीडितलाई राहत वितरण गर्ने सवालमा पनि दलाल सरकारले वितरणमा पक्षपात गर्नुका साथै गुणस्तरहीन खाद्यान्न जनतालाई बाँढ्ने र त्यसमाथि पनि व्यापक रुपमा भ्रष्टाचार गर्न पछाडि परेरनन् स्थानीय निकायहरु । वाइडबडी जहाज खरिद काण्डका भ्रष्टाचारीहरुलाई, यतिकाण्डका भ्रष्टहरुलाई, बालुवाटरको सरकारी जग्गा आफ्नो नाममा बनाउने विष्णुप्रसाद पौडेलजस्ता भ्रष्टाचारीहरुलाई, गोकुल बास्कोटाजस्ता भ्रष्टाचारीहरुलाई सख्त कारवाही गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरेर यो मुलुक महाभ्रष्टहरुलाई बचाएको मात्र होइन, भ्रष्टाचार गर्नलाई प्रोत्साहन गर्ने कार्य भइरहेको छ । सत्ताधारी पार्टी नेकपाका नेता, प्रधानमन्त्री, मन्त्रीहरु, सभासद्हरु, स्थानीय निकायका पदाधिकारीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सभासदहरु र कर्मचारीहरु सब मुलुकको सम्पत्ति लुटेर कब्जा गर्ने काममा लागिपरेका छन् ।

त्यति मात्र होइन, कोरोना कहरका कारण जनता मरिरेको बेला, देशै रोइरहेको बेला सत्ताधारीहरु आ– आफ्ना मान्छेहरु करोडौं घुस र कमिशन लिएर नियुक्ति गर्ने होडबाजीमा लागि परेका छन् । प्रधानमन्त्री केपी ओली स्वयं भ्रष्टाचारीहरुको मुख्य नाइके र संरक्षक भएको देशमा जनताले सुख र शान्तका दिन हेर्न कहाँ पो पाउने भएर ! यसरी ओली नेतृत्वको दलाल सरकार संकटग्रस्त बन्न पुगेको छ । यो संकटको प्रमुख कारण नेपालमा सञ्चालनमा ल्याइएको संसदीय व्यवस्थाकै असफलता हो । अतः मुलुक यसरी संकटग्रस्त बन्न पुगेको यो विषम परिस्थिति भनेको नेपाली क्रान्तिको पूर्वबेला हो । यतिबेला नेपाली जनता मुक्ति चाहन्छन् । नेपाल राष्ट्रले स्वाधीनता चाहन्छ । नेपालले आफ्नो राष्ट्रिय स्वाधीनता गुमाइरहेको छ । यो ओली नेतृत्वको दलाल सरकारले जनताको दवावका कारणले, क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको संघर्षको दवावमा परेर कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गुमेको भूमिको चुम्चे नक्सा छाप्नसम्म सकेको छ । कानुनी रुपले भारतीय विस्तारवादबाट हाम्रो गुमेको भूमि फिर्ता लिन सक्ने हैसियत राख्दैन किनभने महाकाली नदी भारतलाई बेचेर ज्यान पाल्दै आएकाहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा होला भनेर पर्खेर बस्नु भनेको, महाकाली नदी बेचेर खानेहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको गुमेको भूमि फिर्ता ल्याउलान् भन्नु भनेको ‘गोरु ब्याउला र बेगुतो खाउला’ भनेर पर्खेर बस्नु जस्तै मात्र हो । त्यसैले यो राष्ट्रिय स्वाधीनताको प्राप्ति र रक्षाका निम्ति पनि अब जनताको सरकार निर्माणको आवश्यकता छ । किनभने भारतीय विस्तारवादी शासकहरुले हाम्रो देशको ७१ स्थानहरुमा सीमा अतिक्रमण गरेर करीब ६१ हजार वर्ग किलोमिटर जमिन अतिक्रमण गरिएको छ । त्यो भूमि फिर्ता गर्न यो केपी ओली नेतृत्वको दलाल सरकारको हुति छैन ।

कोशी, गण्डकी, महाकाली नदीहरुमा जुन राष्ट्रघात भएको छ, त्यसको खारेज गरेर दुबै देश र जनताको हितमा हुने गरी नयाँ आधारमा नयाँ एकता कायम गर्न यो दलाल सरकार सक्षम बन्ने कुरै भएन । भारतीय शासकहरुबाट नेपाल भारतबीच सीमा छुट्याउनका लागि गाडिएका जङ्गे पिलरहरु कतै भत्काइएको छ भने कतै गायब गरिएको छ । यी सबको खोजी गर्न यो दलाल सरकार सक्षम हुने कुरा सम्भावना छैन । यो दलाल सरकारले जनताको गाँस, बाँस, कपासको ग्यारेन्टी गर्न सक्ने कुरै भएन । किनभने यो जनविरोधी र गैरजिम्मेवार सरकार हो । त्यति मात्र होइन, केपी ओली नेतृत्वको दलाल सरकारले कोरोना भाइरसको संक्रमण र जोखिमबाट जनतालाई बचाउन र जोगाउन सक्दैन । यो सरकार असफल भइसकेको छ र कोरोना समस्याबाट पन्छिसकेको छ । पिसआर परीक्षण गर्ने कार्यलाई जनताले निजी रुपमा गर्नुपर्ने व्यवस्था गरिसकेको छ । दलाल सरकारको यस प्रकारको गैरजिम्मेवार र जनविरोधी तथा नालायकी रबैयाका कारण घर–घरमा, परिवार–परिवारमा समाजमा मानिसहरु कोरोना संक्रमणबाट आतंकित बन्नुपर्ने बातावरण सृजना गरिएको छ । एकातिर यस्तो स्थिति छ भने अर्कोतिर सत्ताधारी नेकपा भित्र पदको लुछाचुँडीकै क्रममा मन्त्रिमण्डल पुनर्गठन गर्ने र आ–आफ्ना व्यक्तिहरुलाई मन्त्री बनाउने खेलमै नेकपाका दलाल, भ्रष्ट र कमिशनखोर नेताहरु रस्साकस्सी गरिरहेका छन् ।

यी माथि उल्लेखित प्रमाणित आधारमा आधारित भएर विश्लेषण गर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने केपी ओली–प्रचण्ड दाहाल नेतृत्वको दलाल सरकारलाई एक दिन पनि सत्तामा बस्न दिनु हुँदैन । किनभने जति दिन यो दलाल सरकारलाई सत्तामा बस्न दिने हो । त्यही अनुपातमा राष्ट्र र जनताले हानी–नोक्सानी बेहोर्नु पर्ने हुन्छ । राष्ट्र र जनताले क्षति बेहोर्नु पर्ने हुन्छ । जति दिन सत्तामा बस्छ यो दलाल सरकार यसले त्यही अनुपातमा राष्ट्रघात र जनघातका शृङ्खलाहरु थप्ने छ र जनतालाई दुख–कष्टबाहेक अरु दिने छैन ।

त्यसो भएर यो दलाल सरकारलाई दूधमा परेको झिङ्गालाई टिपेर फ्यँके झै तुरुन्तै बारीको मूला उखेले झै उखेलेर फ्याँक्न जरुरी छ । यसको निम्ति एक मात्र उपाय भनेको देशमा क्रियाशील सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु विचार मिल्नेसित पार्टी एकता गर्ने, विचार नमिल्नेहरुसित कार्यगत एकता कायम गर्ने र अन्य देशभक्त तथा प्रगतिशील शक्ति र जनसमुदायसँग बलियो एकता कायम गर्न जरुरी छ । र, यसकै आधारमा तेस्रो जनआन्दोलनको सुनामीमयी संघर्षको आँधी–बेरी सृष्टि गर्न जरुरी छ र आन्दोलन, जनसंघर्षकै बलमा यो दलाल सरकारलाई, माफियाहरुको सरकारलाई, हत्यारा र बलत्कारीहरुको सरकारलाई, विचौलियाहरुको सरकारलाई, कमिसनखोर र कालाबजारियाहरुको सरकारलाई, तस्कर र भ्रष्टाचारीहरुको सरकारलाई, शैक्षिक माफिया र मेडिकल माफियाहरुको सरकारलाई जरैदेखि उखेलेर फ्याँकेर देशभक्त र जनगणतान्त्रिक शक्तिहरुको सरकार निर्माण गरेर मात्र जनताको जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गरेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्न सकिन्छ । यसका लागि अब क्रान्तिकारी एवं परिवर्तनकारी शक्ति र ताकतहरुले कत्ति पनि ढिला गर्न हुँदैन ।

(केसी अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु