मालेमावाद, राज्यको उत्पत्ति र विकास

२०७७ आश्विन १९ गते, सोमबार

कलम विश्वकर्मा ‘दिपेन्द्र’

दर्शन, राजनीतिक, अर्थशास्त्र र वैज्ञानिक समाजवाद, मालेमावादका तीनवटा संघटक अङ्ग हुन् । यी एक अर्कामा सम्बन्धित हुन्छन् । दर्शनले प्रकृति र समाजमा घट्ने घटनाहरुको द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी ढंगले अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण गर्दछ । राजनीतिक, अर्थशास्त्रले राज्यको उत्पादन प्रणाली, उत्पादन, उपभोग र वितरणका क्रममा मानिसहरु बीच कायम हुने आर्थिक सम्बन्ध, वर्ग सम्बन्ध, वर्गको उत्पत्ति र वर्ग संघर्षबारे गहिरो अध्ययन अनुसन्धान गर्छ । वैज्ञानिक समाजवादले मानव समाजको उत्पत्ति, मानव समाज र मानव समाज विकासका बिभिन्न अवस्थाहरुको बारेमा ऐतिहासिक भौतिकवादी ढङ्गले अध्ययन गर्दछ । आदिम साम्यवादी युगलाई छाडेर आजसम्मको मानव जातिको इतिहास वर्ग सघर्षको इतिहास हो भन्ने माक्र्स–एङ्गेल्सको वैज्ञानिक निष्कर्षलाई आत्मसातिकरण गर्दछ । यसरी मालेमावादले तथ्यको आधारमा अध्ययन, अनुसन्धान र निष्कर्ष दिने भएकाले यो समाज विज्ञान हो ।

राज्यको उत्पत्ति र विकास कहिले र कसरी भयो ? भन्ने कुरा जानकारी पाउन मानव समाजको आदिम साम्यवादी युग, दास युग, सामन्ती युग र पुँजीवादी युगको अध्ययन र बिष्लेषण गर्न जरुरी हुन्छ । आदिम साम्यवादी युगमा वर्ग, निजी सम्पत्ति र राज्यको जन्म भएको थिएन । समाजमा धनी गरीब, सानो ठूलो भन्ने भेदभाव पनि थिएन । उत्पादन शक्तिको विकासले क्रमशः आवश्यकताभन्दा बढी अतिरिक्त उत्पादन हुन थाल्यो । अतिरिक्त उत्पादन कब्जा गर्ने क्रममा नै आदिम साम्यवादी युगको गर्भबाट दास युगको जन्म भयो । दास युगबाट नै वर्ग, निजी सम्पत्ति र राज्यको उत्पत्ति भएको थियो । दास युगमा राज्य मालिक र दास दुईवटा वर्गमा विभाजित थियो । मालिकहरुले प्राकृतिक साधन स्रोत मात्र होइन, दासहरुलाई पनि पशुसरह किनबेच गर्ने अधिकार पाएका थिए । राज्यको आडमा मालिकहरुले दासहरु माथि निर्मम ढंगले दमन गर्दथे जसका कारण दास मालिकहरु बीचमा झगडा भइरहन्थ्यो । मालिकहरु बिरुद्ध दासहरु पटक–पटक बिद्रोह गर्दथे । स्पाटाकसको नेतृत्वमा भएको ठूलो बिद्रोहले मालिकहरुको निरङ्कुशतामा आधारित दास मालिक राज्यको पतन भयो । दासहरु मालिकहरुको दासताबाट मुक्त भए । दास मालिकको निरङ्कुश राज्यको पतन र त्यसको गर्भबाट सामन्ती राज्यको जन्म भयो । सामन्ती राज्यमा सामन्त र भूदास दुईवटा वर्ग देखा परे । सामन्ती युगमा, दास युगको मालिक वर्ग, सामन्त वर्ग र दास वर्ग, भूदास वर्गमा बद्लिन पुगे । सामन्ती राज्यले धर्मलाई राज्य सञ्चालनको मुख्य आधार बनायो । जन्मजात उत्तराधिकारीमार्फत् राज्य चलाउन थाल्यो । भाग्य, पुर्वजन्म, पुनरजन्म, पाप र पुन्य जस्ता अन्धविश्वासको आधारमा राज्यको नीति बनाउने र लागू गर्ने काम ग¥यो । धनी र गरीव हुनु पूर्वजन्मको फल हो र शासक वर्ग ईश्वरको अवतार हो भन्ने अबैज्ञानिक दृष्टिकोणलाई मानव समाजमा जबरजस्त थोपर्न पुग्यो । यसरी सामन्ती राज्यले सामन्त र जमिन्दारको वर्गीय हितलाई बलियो बनायो । गरीब किसान, भूदासमाथि निर्मम दमन ग¥यो । किसानहरुले सामन्ती राज्यबिरुद्ध बिद्रोह गरे । बिद्रोहबाट सामन्ती राज्य ढल्यो ।

सामन्ती राज्यको गर्भबाट पुँजीवादी राज्यको जन्म भयो । पुँजीवादी राज्यमा मजदुर र पुँजीपति दुईवटा वर्ग जन्मिए । पुँजीवादी युगमा सामन्त वर्ग, पुँजीपति वर्ग र किसान वर्ग, मजदुर वर्गमा बद्लिए । यसरी दासयुगदेखि पुँजीवादी युगसम्म आउँदा पनि शोषणमा आधारित राज्यको वर्गीय स्वरुपमा परिवर्तन भएको छैन । दास युग, सामन्ती युग, पुँजीवादी युगहरुमा राज्य मालिक, सामान्त र पुँजीपति बर्गको वर्गीय हितमा काम गर्ने र दास, भूदास किसान र मजदुरलाई दमन गर्ने साधन मात्र भयो । यी सबै राज्यमा श्रमजीवि वर्गको श्रम शोषण कायमै रह्यो । पुँजीपति वर्गले सेना, प्रहरी, कर्मचारी, अदालत र कानुनको बलमा शासन गर्छ र शासन ब्यवस्थाको बिरुद्ध आउने शक्तिहरुलाई दमन गर्छ । नेपालका सन्दर्भमा महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनपछि सामन्ती राजतन्त्रको अन्त्य त भयो तर गणतन्त्रको नाममा दलाल पुँजीपति वर्गले राज्य सञ्चालन गरेको छ । मजदुर किसान, मध्यमवर्ग र देशभक्तहरुलाई दमन गरिहरेको छ । भ्रष्टाचारी, राष्टघाती, जनघाती, हत्यारा र बलत्कारीलाई संरक्षण गरिरहेको छ । अतः यो राज्य दलाल पुँजीपति वर्गको राज्य हो । दलाल पुँजीपति वर्गको राज्यलाई परिवर्तन गरेर श्रमजीवि वर्गको राज्य बनाउन सबै अग्रगामी, वामपन्थी, देशभक्त शक्तिहरु एकजुट हुन आवश्यक छ ।

राज्य गतिशील र परिवर्तनशील छ । आदिम युगको पतन पछि, दास युग दास युगको पतन पछि, सामन्ती युग, सामान्ती युगको पतन पछि, पुँजीवादी युग र पुँजीवादी युगको पतन पछि, समाजवादी, साम्यवादी युगको उदय हुने कुरा इतिहाससिद्ध छ । शोषक र शोषितबीचको वर्गसंघर्षले नै मानव समाज र राज्य गतिशील भएको छ । दास युगमा मालिक र दासबीच, सामन्ती युगमा सामन्त र किसानबीच, पुँजीवादी युगमा पुँजीपति र मजदुरबीचमा हुने वर्गसंघर्षले नै राज्य परिवर्तन भएका छन् । सन् १८७१ मा पेरिसमा मजदुर र पुँजीपति वर्ग बीचको वर्गसंघर्षले सफलता हासिल गरेर ७१ दिनसम्म सर्वहारावर्गको राज्यसत्ता चलेको थियो । पेरिस कम्युनको नामले चर्चित सर्वहारा वर्गको राज्य सत्ता लामो समय टिक्न सकेन । पुँजीपति वर्गले प्रतिक्रान्तिबाट फेरि शासनको बागडोर आफ्नो हातमा लियो । सन् १९१७ मा लेनिनको नेतृत्वमा पुँजीवादी रुसमा भएको मजदुर र पुँजीपति वर्गको संघर्षले पुँजीवादी रुसलाई समाजवादी रुसमा बदलेको थियो । रुसको समाजवादले विश्वभरि समाजवादको प्रचार–प्रसारमा महत्वपूर्ण योगदान गरेको थियो । रुसमा पनि स्टालिनको मृत्यु पछि ख्रुश्चेवको नेतृत्वमा प्रतिक्रान्ति भयो र रुसमा पुँजीवादको पुनरावृत्ति भयो । सन् १९४९ मा माओको नेतृत्वमा अर्धसामन्ती र अर्धऔवनिवेशिक चीनमा सामन्त र किसानबीच भएको संघर्षले चीनलाई जनवाद हुँदै समाजवादमा पु¥याउन सफल भयो । यसरी इतिहासमा शासक वर्ग र शासित वर्गबीचको संघर्षले नै राज्यको परिवर्तन भएको छ ।  पुँजीवादी राज्य श्रमजीवि वर्गको रगत पसिना चुसेर बाँचेको छ । पुँजीवादी राज्यले रोग भोक र गरीबको समस्या समाधान गर्न सक्दैन । पुँजीवादी राज्य नाफाखोर पुँजीपति वर्गको राज्य हो । इतिहासदेखि वर्तमानसम्म श्रमजीवि वर्गले निरंकुश, सामन्ती र पुँजीवादी राज्यविरुद्ध निरन्तर सघर्ष गरेको छ । श्रमीकवर्गको सघर्षले नै राज्य परिवर्तन भएका छन् । पुँजीवादी राज्य परिवर्तन गरेर समाजवादी राज्य स्थापना गरेपछि मात्र श्रमजीवि वर्गको मुक्ति र सम्मान हुन्छ । क्षमताअनुसारको काम र आबश्यकता अनुसारको दामको नीति लागू हुन्छ । संसारका श्रमजीवि वर्गले समाजवादी राज्यको लागि संघर्ष गर्न जरुरी छ । त्यसैले आउनुहोस् वैज्ञानिक समाजवादी राज्यका लागि लडौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु