राहुल र प्रियंकासहित २०० जनाविरुद्ध मुद्दा

२०७७ आश्विन १६ गते, शुक्रबार


काठमाडौं भारतको प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै २०० जनाविरुद्ध मुद्दा लगाइएको छ । भारतीय दन्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उहाँहरुकाविरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु २०० जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दाबी गरेको छ ।
यसअघि, संहिता उल्लंघन गरेकै आरोपमा उहाँहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । सामूहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उहाँहरुलाई गिरफ्तार गरिएको हो । बलात्कारपीडितको मंगलबार उपचारकैक्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो ।
गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उहाँहरुको सवारी-साधनलाई प्रहरीले रोकेपछि उहाँहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो ।
प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उहाँले आक्रोशित हुँदै प्रश्न गर्नुभएको थियो-‘के यो मुलुकमा मोदीजीमात्रै हिँड्न पाउने व्यवस्था छ ?’ उहाँले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो ।
नेता गान्धीले आफूलाई प्रहरीले जबर्जस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाउनुभएको छ । उहाँले आफ्ना सवारी-साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गर्नुभएको थियो । ‘म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनोस् । मलाई नरोक्नुस् । मलाई तपाइँहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?’-उहाँले भन्नुभएको थियो । – रासस/एएनआई

प्रतिक्रियाहरु