विप्लवलाई जनआन्दोलनमा ल्याउनेबारे !

२०७७ आश्विन १२ गते, सोमबार
नारायण शर्मा

विप्लवलाई अहिलेसम्म हामीले कार्यनीति बदलेर खुला हुन र संयुक्त जनआन्दोलनको बाटो अवलम्बन गरी देश र जनताका पक्षमा सशक्त संघर्ष गरेर देश र जनताका तात्कालिक जल्दाबल्दा समस्या समाधान गराई राहत पुराउनका लागि अनुरोध, सुझाव र दबाब दिनेजस्ता कार्यहरु गर्दै आयौं । तर, आज नेपाललगायत विश्वभरी जहाँ, कहीँ संसदवादी हवाहुरी जोडले चलिरहेको छ । यो संसदीय हुरीले एकातिर खुला भएका सबैजसो शक्तिहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले संसदवादी फोहोरी आहालमा डुबाउँदै गरेको छ भने अर्कातिर प्रतिक्रियावादी सत्ता, शक्ति, सरकार र नेता, कार्यकर्ताहरुले खुला भएका इमानदार र निष्ठावान् क्रान्तिकारी र क्रान्तिप्रेमीहरुलाई उपेक्षा, अपहेलना र अलगावमा पारेर निरीह बनाउने गरिरहेका छन् । यो स्थितिमा उनीहरुले भूमिगत क्रान्तिकारीहरुलाई त झन् त्यतिले पनि नपुगेर उग्रवादी, आतङ्ककारी, अपराधी, लुटेरा र हत्यारा करार गर्दै प्रतिबन्ध, दमन, धरपकड र कृतृम मुठ्भेडमा हत्यासमेत गर्ने गरिरहेको सन्दर्भ छ । यो स्थिति र सन्दर्भमा क्रान्ति र क्रान्तिकारीलाई बचाउन के गर्नु सही होला भन्ने प्रश्नले अहिले पिरोल्ने गर्न थालेको छ ।

वास्तवमा क्रान्ति र क्रान्तिकारीहरुलाई संरक्षण र सम्बद्र्धन गर्ने नै हो भने सके त त्यसै दिशामा हामी क्रान्तिकारी भनिने क्रान्तिप्रेमीहरु पनि लागेर त्यसमा भएका कमीकमजोरीहरु सच्चाउने, सुदृढ गर्ने, सबल र सफल पार्ने होस् नसके पनि उनीहरुप्रति सहानुभूति, सहयोग र सद्भाव प्रकट गर्दै उनीहरुमाथि भैरहेका गैरकानुनी प्रतिबन्ध, गिरफ्तारी, हत्या, दमन र आतंकका विरुद्ध खुल्ला रुपमा सहरमा, सडकमा, सदनमा वा सरकारमै पनि सक्रिय सच्चा क्रान्तिकारी शक्ति र व्यक्तिहरुले एकल–दुकल वा संयुक्त संघर्षको कार्यनीति अवलम्बन गरेर प्रतिक्रियावादी सत्तालाई सशक्त प्रहार गर्नुपर्ने हो । जसरी हामीले हिजो जनयुद्ध गर्दैगर्दा एमाले, एकता केन्द्र, नागरिक समाज, स्वतन्त्र व्यक्ति, बुद्धिजीवि, मानव अधिकारकर्मी आदिबाट सत्ताका दमनकारी गतिविधिका विरुद्धमा र जनयुद्धका विचार–व्यवहार, नीति–नेता, कार्यकर्ता–जनताका पक्षमा एउटा सानोतिनो निर्णय, वक्तव्य, कार्यक्रम, समाचार, लेख, गीत, नाटक आदि केही हुँदा हामीलाई ठूलो राहत, प्रेरणा र सहयोगको अनुभूति हुन्थ्यो र हामी थप उत्साहित, सशक्त र उर्जावान् अनुभूत गर्दै विजयप्रति अझ विश्वस्त हुँदै लड्थ्यौं र बढ्थ्यौंस ठीक त्यसैगरी विप्लवले पनि अहिले हामीबाट त्यही आशा र अपेक्षा गरेका होलान् भन्ने लाग्दछ । सत्य र न्यायपूर्ण कुरा पनि के हो भने अरुबाट आपूmले जे व्यवहार अपेक्षा गरिन्थ्यो वा गरिन्छ, त्यही व्यवहार अरुलाई रुचिकर वा अपेक्षित हुन्छ र त्यसै गर्नु पर्दछ । यदि यसो नगर्ने हो भने त न हामी आपूmले क्रान्तिकारी व्यवहार गर्ने अर्थात् जनताकहाँ जाने, सुखदुखमा सहभागी हुने, जनतालाई सचेत, संगठित र संघर्षशील बनाउने र क्रान्ति गर्ने, न त अरुले त्यसो गर्न लागेकोलाई नै समर्थन–सहयोग गर्ने हुन जान्छ । यस्तो हुनु भनेको कि त कुहिराको काग हुनु हो कि भने आफ्नो घर पनि न बनाउने र अर्कालाई पनि घर बनाउन नदिने बाँदर हुनु हो ।

आज नेपालमा समाजवाद उन्मुख संविधान बनेको छ । त्यो संविधान कार्यान्वयन गर्न दुईतिहाई बहुमतको कम्युनिस्टको एकलौटी शक्तिशाली संघीय सरकार पनि बनेको छ । सातमध्ये छवटा प्रदेशमा यसकै यस्तै प्रादेशिक सरकार समेत छन् । अधिकांश स्थानीय सरकार पनि यसकै छन् । देशमा वामपन्थीहरुको दुई तिहाईभन्दा बढी जनमत पनि छ । यो अवस्थामा सरकारद्वारा देश, जनता र क्रान्तिका विरुद्धमा तमाम गतिविधि भएका छन् तर पक्षमा भने खासै केही कामकाज भएका छैनन् । देशमा सत्तासीन पार्टीइतरका दर्जनौं वामपन्थी क्रान्तिकारी मानिने सच्चा क्रान्तिप्रेमी कम्युनिस्ट शक्तिहरु सक्रिय र संघर्षरत पनि छन् तथापि सरकारलाई सुझाव, दवाव, चेतावनी, खबरदारी र हस्तक्षेप आदि खासै केही गर्न–हुन नसकिरहेको विडम्बनापूर्ण स्थिति छ । यो स्थितिमा हामी जान–अन्जान, चाहेर–नचाहेर, प्रत्यक्ष–अप्रत्यक्ष र थोरै–धेरै रुपमा सहरिया, सुविधाभोगी, सुधारवादी र संसदवादी गोलचक्करमा फसिरहेका छौं । यहाँसम्म कि एमसीसीजस्ता सर्वसम्मत विषयमा पनि हामी वामपन्थी भनिने खुला, संसदीय, सुधारवादी देशभक्त शक्तिहरुबीच समेत सशक्त संयुक्त मोर्चा बनाएर शान्तिपूर्ण लडाइँ लड्ने गर्न नसकिइरहेको दुखद् अवस्था छ । आजको एघार दलीय वाममोर्चामा नेमकिपा पनि छैन । यो अवस्थामा क्रान्तिकारी व्यवहार र संघर्ष गरिआएको विप्लवसँग के संयुक्त मोर्चा बनाउन सहमत होलान् संसदवादी शक्तिहरु ? मुस्किल छ । कथम् केही बाध्यताले सहमत भइहाले पनि त्यो विगतमा माओवादीसँग संसदवादीहरुले गरेझैं संसदको पुनस्र्थापना र राजतन्त्र विस्थापनको आफ्नो स्वार्थपूर्ति गरेपछि माओवादीलाई बदनाम गर्ने, एक्लाउने, फुटाउने, कमजोर पार्ने र सिद्धाउने गरेझैं नहोला भन्ने के ग्यारेन्टी छ र ? अनि यसरी विप्लवलाई पनि विगतका माओवादी र वर्तमानका क्रान्तिप्रेमी वामपन्थीकै मति, गति, रीति र स्थितितिर अर्थात् सत्ताइतरका वा भितरका संसदवादी र सुधारवादी चक्रब्यूहमा पार्न जोडबल गरेका हुनेछौं । यदि यस्तो होइन र हुँदैन नै भन्ने हो भने आजका एमसीसीलगायतका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त समस्यालाई लिएर संयुक्त र सशक्त आन्दोलन गरी विप्लवहरुसमेतको क्रान्तिलाई सहयोग पुराए हुन्न र ? यसरी पो खुला र भूमिगत दुवै तरिकाले क्रान्तिलाई सफल पार्ने कुरालाई सार्थक बनाउन सकिन्थ्यो । नत्र हामी सच्चा क्रान्तिकारी हौंला कि इमानदार अवसरवादी होऔंला ? लाग्छ, यसरी त हामी पनि संसदीय आसपासमा बसेर गासबासको आशमा बाँच्ने दास त बन्ने नै छौं, सँगसँगै विप्लवहरुलाई यतातिर घिसारेर संसदवादी भासमा फसाउने क्रान्तिविरोधी अक्षम्य गल्ती गर्न पुग्ने दुखद विडम्बनापूर्ण स्थिति भोग्न पुग्नेछौं । यो बहुतै गम्भीर, संवेदनशील र विचारणीय सवाल छ । तथापि यहाँहरुलाई यसबारेको सही नीति र व्यवहार के हो भन्ने लाग्छ ? कृपया छलफल चलाउँदा राम्रै हुन्थ्यो ।

प्रतिक्रियाहरु