अखिल क्रान्तिकारीद्वारा राजनीतिक प्रशिक्षण संचालन

२०७७ आश्विन ७ गते, बुधबार


काठमाडौँ । अखिल क्रान्तिकारीले काठमाडौँमा एकदिने राजनीतिक प्रशिक्षण सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीको उपत्यका विशेष क्षेत्रीय समन्वय समितिले राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा नेपालमा शैक्षिक आन्दोलनको अबको दिशा, क्रान्तिकारी विद्यार्थीको भूमिका, वैज्ञानिक समाजवादमा शिक्षा नीतिलगायत विषयमा प्रशिक्षण सञ्चालन गरेको हो ।
काठमाडौँ उपत्यकामा कार्यरत विद्यार्थी सहभागी प्रशिक्षणमा सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल, उपाध्यक्ष रुद्र भट्टराई, महासचिव प्रकाश शाही र उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले सहभागीलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा अध्यक्ष ढकालले वैज्ञानिक समाजवादी शिक्षाका लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यसका लागि सङ्घर्ष गर्नुपर्ने बताए । त्यसका लागि आफ्नो सङ्गठनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । उनले संयुक्त विद्यार्थी आन्दोलनमार्फत पनि नेपालको विद्यार्थी आन्दोलन चर्काउनुपर्नेमा जोड दिए ।
सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले केही विद्यार्थी सङ्गठन शैक्षिक दलाल र माफियाबाट पालिएका कारण विद्यार्थी आन्दोलनमाथि प्रश्न उब्जिएको बताउँदै अबको आन्दोलन विश्वविद्यालयमा केन्द्रित गर्नुपर्ने धारणा राखे ।
महासचिव शाहीले विद्यार्थी आन्दोलनको नेतृत्व आफ्नो सङ्गठनको काँधमा आएकाले योजना दृढतापूर्बक कार्यान्वयन गर्न कार्यकर्तालई निर्देशन दिए । उनले क्रान्तिकारी व्यवहारबाट विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी संयोजक विकले शैक्षिक रूपान्तरणका साथै सत्ताको आमूल रूपान्तरण गर्न नेपालका क्रान्तिकारी युवा विद्यार्थीको काँधमा ऐतिहासिक जिम्मेवारी आएको बताए । उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्न सङ्गठन शुद्धीकरणका साथसाथै सुदृढीकरणको प्रक्रिया सँगसँगै चलाउनुपर्ने आवश्यकता औँल्याए । दलाल राज्यसत्ताको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको दलालीकरण र माफियाकरणको अन्त्य नहुने भन्दै विकले पहिला राज्यसत्तामै आमूल परिवर्तन हुनुपर्ने धारणा राखे ।
कार्यक्रमको सञ्चालन सङ्गठनका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिष्टले गरेका थिए भने स्वागत मन्तव्य क्याम्पस जिल्ला अध्यक्ष तारा सञ्ज्याल रावलले गरेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु