चिनद्वारा नेपाली भूमि नमिचेको प्रष्टीकरण

२०७७ आश्विन ७ गते, बुधबार

काठमाडौं । चीनले नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको जिकीर गर्दै नेपालको भूमिमा भवन नबनाएको बताएको छ। साथै नेपालले आफ्नो भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न सक्ने पनि प्रष्ट गरेको छ । हुम्लाको लाप्चाबगरमा शदीयौंदेखि नेपालीले भोगचलन गरिरहेको नेपाली भूमि अतिक्रमण गरेर चीनले भवन बनाएको खबर आएकै बेला चीनको यो प्रष्टीकरण आएको हो ।


काठमाडौंस्थित चिनियाँ दूतावासले निकालेको प्रेस नोटमा भनिएको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुबै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’
नेपाल–चीन निकटका छिमेकी रहेको र नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको चीनले सँधै सम्मान गरेको पनि दूतावासले भनेको छ ।नेपालस्थित चिनियाँ दूताबासका लुआन सिउतानले लेखेका छन्, ‘चीन र नेपाल मित्रवत् छिमेकी हुन् । चीनले सधैँ नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको छ । सञ्चार माध्यमले उल्लेख गरेका भवनहरू नेपाल–चीन सीमाको चिनियाँ खण्डमा रहेको कुरा प्रमाणित भएको छ ।’
नेपालले यसको आफैले परीक्षण गर्नसक्ने भन्दै दूतावास भन्छ, ‘नेपाली पक्षले यसको परीक्षण गर्न सक्छ । नेपाल र चीनबीच कुनै भौगोलिक विवाद छैन । सीमा मामिलामा दुबै पक्षले निकटरूपमा सञ्चार सम्बन्ध कायम गरेका छन् ।’ केही भारतीय मिडियाले यो विषय उछालेको पनि दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु