शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक

२०७७ आश्विन ६ गते, मंगलवार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ का कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन गर्ने सन्दर्भमा होम स्कुलिङको अवधारणा, विद्यार्थी—शिक्षक सम्पर्क प्रवर्द्धनजस्ता विधि अपनाएर सिकाइ सहजीकरण गरी सरोकारवालाहरुले आफ्नो दायित्व निर्वाह गर्नेगरी आकस्मिक कार्ययोजना ल्याइएको मन्त्रालयले जनाएको छ । मंगलबार ‘भर्चुअल प्रेस मिट’मा मन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजना सार्वजनिक गरिएको जानकारी गराउँदै बसाइँ स्थानान्तरण भएका विद्यार्थीहरुको तथ्यांक संकलन, सबै बालबालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकहरुको उपस्थितिलाई सुरुआती दिनमा गरिहाल्नुपर्ने कार्यकोरुपमा जोड दिइएको बताए । शैक्षिकसत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्यांकन प्रक्रियाको लागि ढाँचा विकास नमुना स्वअध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको उनले बताए ।

सरकारले यसअघि नै असार १ गतेबाट वैकल्पिक विधिबाट सिकाइ गर्ने निर्देशिका र असोज १ गतेबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरिसकेको छ । महामारीका विषयलाई एकीकृतरुपमा सम्बोधन गर्न जरुरी रहेकोले अन्तर मन्त्रालय र सम्बन्धित निकायसँगको छलफलपछि कार्ययोजना निर्माण गरिएको हो । मन्त्रिपरिषद्को यही असोज १ गतेको निर्णयबाट विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ स्वीकृत भएको हो ।

प्रतिक्रियाहरु