‘ जबर्जस्ती ब्याज र किस्ता नउठाऊ ‘

२०७७ आश्विन ५ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीका कारण जनताको जीवन आर्थिक अभावको चपेटामा परेकाले सबै स्थिति सहज नहुँदासम्म विभिन्न बैङ्क र वित्तीय संस्थाहरूलाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ ।
नेकपाका जिल्ला इन्चार्ज नवीन र सेक्रेटरी आखिरले सोमबार प्रेस विज्ञप्ति जारी गरी पार्टीको निर्देशन अटेर गरेर डिप्रोस नामको वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘डिप्रोस भन्ने वित्तीय संस्था (माइक्रो फाइनान्स) ले जिल्लाको कमलबजार न.पा. ७ सेरामा जनताबाट ब्याज र किस्ता उठाइरहेको बेला पार्टीका कमरेड सोही स्थानमा गई उक्त काम रोकी सम्पुर्ण जनताको सहभागितामा चेतावनीसहित उठाइएको झन्डै २ लाख ५० हजार रकम जनतालाई फिर्ता गर्न लगाउनुका साथै त्यहाँबाट उक्त संस्थाको प्रतिनिधिलाई लखेटिएको छ ।’
यस्तै माइक्रो फाइनान्स र वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिविपरीत गई चर्को ब्याज असुल्ने र विभिन्न सेवा शुल्कका नाममा गाउँमा जनतालाई लुटिरहेको भन्दै नेकपाले यस्ता गतिविधि रोक्न अटेर गर्दै गए पार्टी जनकारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ ।
श्रमिक जनतालाई शोषण गर्ने ढङ्गबाट अगाडि बढिरहेका यस्ता वित्तीय संस्थाहरूलाई पार्टीको खारेज गर्ने नीति रहेको नेकपा अछामको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु