चैतदेखि ठप्प रहेको आन्तरिक हवाइ उडान सुरू

२०७७ आश्विन ५ गते, सोमबार


काठमाडौँ । गत सालकाे चैतदेखि ठप्प रहेका आन्तरिक हवाइ उडान आजवाट नियमितरूपमा सुरु हुँदै छन् । अन्तर्राष्ट्रिय नियमित उडान भने २० दिनअघि नै खुला भइसकेको छ । हवाइ क्षेत्रकाे नियामक निकाय नेपाल उड्डयन प्राधिकरणले सोमबारदेखि हुने आन्तरिक उडानका लागि सबै तयारी पूरा भएको जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान र विमानस्थलहरूमा उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाइएको बताए ।
सरकारकाे पछिल्लाे निर्णयसँगै वायु सेवा कम्पनीहरूले नियमित पूर्ण क्षमतामा उडान गर्न पाउने छन् । यद्यपि प्राधिकरणले भने असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको छ । त्यसपछि माग र औचित्यका आधारमा उडान तालिका स्वीकृत गर्नेगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको छ ।
हवाइ उडान सुरू भएसँगै ट्राभल एवं पर्यटन व्यवसायी उत्साहित भएका छन् । आन्तरिक उडानको टिकट बुकिङ उत्साहजनक नै रहेको व्यवसायीहरूले बताएका छन् । लामाे समय उडान बन्द हुँदा मारमा परेका व्यवसायी उडान खुला भएसँगै उत्साही भएका हुन् । यद्यपि पूर्ण चहलपहल फर्किनसकेकाे र स्वास्थ्य सावधानी अपनाउनुपर्ने अवस्थाले भने केही झन्झट, केही चिन्ता यथावतै रहेकाे उनीहरू बताउँछन् ।
यसअघि सरकारले असोज १ देखि नै आन्तरिकतर्फका उडान खुला गर्ने निर्णय गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने बताएपछि असाेज ५ बाट सुरू गर्ने निर्णय भएकाे थियाे ।

प्रतिक्रियाहरु