संविधान दिवस सबैले खुशीसाथ मनाए भन्नु हास्यास्पद !

२०७७ आश्विन ४ गते, आईतवार

काठमाडौं । दलित मुक्ति मोर्चा नेपालले राज्यले संविधान दिवस सबैले खुशीसाथ मनाइरहेका छन् भन्नु हास्यास्पद भएको बताएको छ ।
दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय समितिका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष बिश्वकर्माले दलित समुदायमाथि भइरहेका यसप्रकारका अन्याय र अत्याचार बीच राज्यले संविधान दिवस सबैले खुशीसाथ मनाइरहेका छन् भन्नु हास्यास्पद हो भन्दै वर्तमान दलाल संसदीय व्यवस्था उत्पीडित जाति, जनजाति, दलित समुदाय र तल्लो वर्गको पक्षमा नभएको ठोकुवा गरेका छन ।
यस बिषयमा दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिका अध्यक्ष डम्बरबहादुर बिश्वकर्माले जारी गरेको बिज्ञप्ति यस्तो छ – “दलित समुदाय माथि पछ्ल्लिो समय देशव्यापी घटिरहेका विभेदका घटना र राज्यद्धारा त्यसमाथि गरिएका बेवास्ता र विभेदपूर्ण व्यवहार प्रति हाम्रो गौरवशाली संगठन दलित मुक्ति मोर्चा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । कैलाली जिल्लाका १९ वर्षीय युवक रोशन बिक.को जिल्ला प्रहरी हिरासतमा चरम यातना पश्चात भएको मृत्युको घटनासम्म आइपुग्दा यो वर्ष मारिने दलित समुदायका व्यक्तिहरुको संख्या दर्जन नाघेको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका(५ जाइ टोलका निज रोशनलाई सार्वजनिक मुद्दामा भदौ २२ गते पक्राउ गरिएको र २४ गते हिरासतमा आत्महत्या गरेको खबर सार्वजनिक गरिएको थियो । प्रत्यक्षदर्शी र घरपरिवारका अनुसार ति युवकको शरीरमा पुरै घाउचोट र निलडाम देखिएकोले सो घटना आत्महत्या नभई प्रहरीको यातना र कुटपिटबाट हत्या भएको छर्लङ्ग हुदा पनि प्रहरी प्रशासनले सामान्य अनुसन्धान टोली निर्माण गरेर घटनालाई ढाकछोप गरी आत्महत्या नै सावित गर्ने प्रयास भैरहेको देखिन्छ ।
विगत एकवर्षको अवधिमा दलित समुदायमाथि विभेद, हत्या र बलात्कारका घटनाहरु व्यापक भइरहेका छन् । रौतहट जिल्लाको गरुडा स्थित नर्सरीमा काम गर्ने २१ वर्षीय निरञ्जन रामको हत्या काण्डमा साहु फरार तर प्रहरीद्धारा सोझा सिधा दलित समुदायका व्यक्तिहरु पक्राउपछि यातनाबाट विजयरामको मृत्यु र लाश शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौमा अलपत्र, धनुषामा शम्भु दासको हत्या, सप्तरीमा दलित युवतीको बलात्कार घटनाको उजुरी दिने त्रिभुवन रामको घाँटी रेटी हत्या, रौतहटकै गडीमाईमा ३५ वर्षीया मित्रादेवी बैठाको १४ भाद्रमा उखुबारीमा बलात्कारपछि हत्या, त्यस्तै रुपन्देहीमा १३ वर्षीया अंगिरा पासीको गत जेठ १० गते बलात्कार पछि हत्या र सप्तरीमा सडक मिचेको विरोध गर्दा दलित बस्तीमाथि आक्रमण र कुटपिट गर्दा २ जना दलित सख्त घाइते आदि यो बिचका प्रतिनिधिमूलक घटनाहरु हुन । जेष्ठ १० गते रुकुमको चौरजहारी नगरपालिका(८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाह प्रसङ्गमा पुरै गाउँलेको आक्रमणमा परि मारिएका ६ जना युवाको विभत्स हत्या यी मध्य सबैभन्दा भयानक र दर्दनाक घटना हो । देशका सबै गाउँ र नगरमा यसप्रकारका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन् । उपरोक्त सबै घटनामा कतिपय ठाउँमा प्रहरी स्वयं संलग्न रहेको छ भने अन्य घटनामा प्रहरीले पीडितलाई न्याय प्रदान गर्नुको सट्टा उल्टै पिडकलाई बचाउने र घटनालाई ढाकछोप गर्ने गरेको पाइएको छ ।
दलित समुदाय माथि भइरहेका यसप्रकारका अन्याय र अत्याचार बीच राज्यले संविधान दिवस सबैले खुशीसाथ मनाइरहेका छन् भन्नु हास्यास्पद हो । उपरोक्त घटनाक्रमहरुबाट स्पष्ट हुन्छ कि वर्तमान दलाल संसदीय व्यवस्था उत्पीडित जाति, जनजाति, दलित समुदाय र तल्लो वर्गको पक्षमा छैन् ।। हामी यावत सम्पूर्ण घटनाहरुको घोर निन्दा एवं भत्र्सना गर्दछौं । साथै यि घटनाहरुको गहिराईमा छानबिन गरि दोषीलाई कार्वाही र पीडितलाई न्याय र क्षतिपूर्ति प्रदान गर्न हाम्रो मोर्चा राज्यसंग जोडदार मांग गर्दछ । अन्यथा, त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार राज्य स्वयं हुनुपर्नेछ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु