प्रतिबन्धित मान्छेको घोषणा

बलराम तिमल्सिना २०७७ आश्विन २ गते, शुक्रबार

निकै गहिरो लगन
र कठोर परिश्रमले
निर्माण गरेपछि एउटा मूर्ती
अघ्घोर मायाँ लाग्दा लाग्दै पनि
राख्न पठाएको थिएँ मन्दिरमा
सबैको साझा होस भनेर !

मूर्ती बनाईसकेपछि
निकैवेर नियालेर हेरेको थिएँ मैले
मुसुक्क हाँस्लाजस्तो
र ‘ए बा संचै छौ ?’भन्लाजस्तै थियो !
मैले मेरो सिर्जनामा
कुनै भगवान हैन
आफ्नो सन्तान देखेको थिएँ
र सुम्सुम्याउँदै म्वाइँ खाएको थिएँ !

मूर्ती बनाउँदा छिनो चिप्लिएर
खुट्टामा लागेको चोट निको भएको छैन
घन चिप्लिएर औंलामा लागेकोले
औंला अझै दुखिरहन्छ कर कर कर कर
एउटी आमाले गर्भ धारण गरेर
सुत्केरी बेथा सहेर
नानी जन्माए जसरी नै
मैले जन्माएको थिएँ त्यो मूर्ती !

मूर्तीलाई मन्दिरतिर लैजाँदा
निकै वेर रोएको थिएँ म
छोरी अन्माएजस्तै सोचेर !

मन्दिरमा राख्न पठाएको
ठीक एक वर्षपछि
असाध्यै न्यास्रो लागेर
मूर्ती भेट्न भनेर मन्दिरमा गएँ
मलाई दैलामै सोधियो-
तिम्रो जात के हो ?
‘कामी हजूर
म मैले बनाएको मूर्ती भेट्न आएको’
मैले उत्तर दिएँ
त्यसपछि जे व्यवहार भयो मसँग
धेरै के भनौं हजुर ?

मैले हेरेरै छोड्ने जिद्दी गरें रे
कामी भएर मुखमुखै लागें रे
घँचेट्न खोज्दा मानिन रे
म होसमा आउदा
मन्दिरभन्दा पर
फोहोर फाल्ने ठाममा
रक्तमुछेल थिएँ !

घस्रदै घर आइपुगें
एक डबको छिप्पुवा निगार पिएँ
र ऐले म सडकमा निस्केको छु
रात छिप्पिदै छ
‘म एक्लै नारा लगाइरहेको छु-
मेरो मूर्ती मलाई फिर्ता गर !’
‘आफ्नै सिर्जनालाई भेट्न नदिनेहरू
सामाजिक अपराधी हुन् !
‘तिमीहरूको राज खरानी बनोस !’

मलाई लाजभाँड पनि बोल्न मन लाग्दै छ
दुई दुई अक्षरका
असंख्य लाजभाँड शब्दहरू मिसाएर
आरनको आगोजस्तै ताता ताता
नयाँ नयाँ नाराहरू अर्जाप्न मन छ !
शब्दहरू तँछाड मछाड गर्दै
मुखको डिलमा आएर बसेका छन्
मेरो मूर्ती कब्जा गर्ने
तिम्रो अत्याचारका विरुध्द
के म ती शब्दहरूलाई खुल्ला गरिदिऊँ ?

ए मान्छेहरू हो
छ कुनै अदालत
मेरो माग पुरा गर्ने ?
यदि छैन भने त्यो अदालत
म आफ्नै अदालत खडा गर्छु
आरनको अदालत
जसले निर्णय गर्ने छ-
मूर्तीमाथिको पहिलो अधिकार कसको हुने छ !

म तिम्रो समाजको प्रतिबन्धित मान्छे
आजको दिनमा घोषणा गर्छु-
अव कुनै मुर्तीहरू बन्ने छैनन्
बरु बन्ने छन् –
मेरो खाँचोका हतियारहरू
जसले दस्तक दिने छ
तिम्रो पाँच हजार वर्षको पुरानो किल्लामा !

प्रतिक्रियाहरु