नेकपाद्वारा पार्टीका नाममा नक्कली र अनधिकृत हर्कत नगर्न चेतावनी

२०७७ आश्विन १ गते, बिहीबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका नाममा नक्कली र अनधिकृत हर्कत नगर्न चेतावनी दिदै कहीँकतै भेटिएमा कठोर कारबाहीको भागीदार हुनु पर्ने चेतावनी दिएको छ । पार्टीले सामाजिक सञ्जालमा केही व्यक्तिहरूबाट आएका अनर्गल हल्ला र भ्रमको पछि नलाग्न समेत आम जनसमुदायहरूमा अपिल गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । विश्वासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले हाम्रो पार्टीको राजनीतिक वैचारिक, साङ्गठनिक सङ्घर्ष अर्थात् राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका पक्षमा र राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसनखोरी, लुट, दलाली तथा अनेकखाले जनविरोधी क्रियाकलापविरुद्धको अभियानमा तमाम सहयोगी, शुभचिन्तक र आमजनता आर्थिक, नैतिक, भौतिकलगायत सहयोग प्राप्त गरिरहेको विषय सबैमा स्पष्ट नै छ । तर हाम्रो पार्टीको लोकप्रियता, आकर्षण र विजय अभियानलाई दुरुपयोग गरी आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न केही व्यक्तिहरूले र विभिन्न गिरोहहरूले देशका विभिन्न ठाउँहरूमा हाम्रो पार्टीको नामबाट आर्थिक चन्दाका कुकर्म गर्ने दुष्प्रयासप्रति हाम्रो पार्टीको बदनाम गर्ने हाम्रो पार्टीका नाममा गरिरहेका नक्कली गतिविधिप्रति कास्की जिल्ला पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र गम्भीर निगरानी गरिएको पनि अवगत गराउन चाहन्छौँ ।’


विज्ञप्तिमा भनिएको छ, ‘२०७७/५/३१ गते पोखराको हल्लनचोकबाट अर्जुन राउत र रामकुमार डीसी नाम गरेका २ जना व्यक्तिलाई हाम्रो स्थानीय पार्टी र शुभचिन्तकको पहलमा भण्डाफोर गरेर केही समयपछि उनीहरूलाई प्रहरीले लगेको छ । हाल उनीहरू हाम्रो पार्टीका कुनै पनि आधिकारिक व्यक्ति नभएको स्पष्ट पार्न चाहन्छौँ । साथै पार्टीका नाममा नक्कली र अनधिकृत हर्कत जोकसैले नगर्न हाम्रो पार्टी खबरदारी गर्दछ । कहीँकतै भेटिएमा पार्टीबाट कठोर कारबाहीको भागीदार हुनु पर्नेछ । सामाजिक सञ्जालमा केही व्यक्तिहरूबाट आएका अनर्गल हल्ला र भ्रमको पछि नलाग्न पनि आम जनसमुदायहरूमा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रियाहरु