संझनाका सङ्कट

बलराम तिमल्सिना २०७७ भाद्र ३१ गते, बुधबार

के के मात्र संझनु
को को मात्र संझनु
एउटा संझ्यो अर्को भुलिन्छ
अर्को संझ्यो अर्को पुरिन्छ
संझनाहरू शङ्कटमा छन् अचेल !

चुनाव आउँछ –
जनता संझनु पर्यो
चुनाव सकिन्छ-
तस्कर संझनु पर्यो
सरकारमा पुगिन्छ-
विदेशी संझनु पर्यो
सत्ताबाट गुल्टिन्छ-
जुलुस संझनु पर्यो
विदेशी पनि को को पो संझनु ?
भारत संझ्यो चीन रिसाउँछ
चीन संझ्यो भारत र अमेरिका रिसाउँछ
न संझदा पनि संझनै पर्ने
संझन पनि तर्सिनु पर्ने
यो पीरै पीरको संझना
यो डरै डरको संझना
यो करै करको संझना
नसंझदा पनि शङ्कट
संझन थाल्यो अझ ठूलो शङ्कट !

नियुक्ति आउँछ –
सालो संझनु पर्यो
साली झन् दिलवाली छ
झनै संझनु पर्यो
छोरी नसंझौ पाप लाग्छ
ज्वाइँ नसम्झौं श्राप लाग्छ
छोरा र बुहारी त घरकै भए झन्
पल पलमा संझनु पर्यो
छलफलमा संझनु पर्यो !

ब्रिफकेश ल्याउँनेलाई भुल्नै भएन
ढोकामा चिहाउनेलाई छोड्नै भएन
मिठो बोल्ने छन्
कोही खुट्टा मोल्ने छन्
पाकेको साँप्रामा दिन बिताउनेहरू छन
जिउँदा साँप्रामा रात विताउँनेहरू छन्
ती सवै सवैलाई संझनामा राख्नै पर्यो !

अलिकति मार्क्स संझनु पर्यो
अलिकति मनु संझनु पर्यो
अलिकति चे
अलिकति चाउचेस्कु संझनु पर्यो
अलिकति लोकलाज
अलिकति कामकाज
यि सबै सबै संझनु पर्यो !

सबै संझनालाई खातै खात राख्न
खोजेको बेला फुत्त झिक्न र लुत्त घुसार्न
घडीपला मिलाउन जान्नु पर्यो
चौर्यकला मिलाउन सिक्नु पर्यो !

यो संझनाभन्ने कुरा राख्ने
एउटा मेरोरी कार्ड भैदिए
आहा ! मान्छे कति ताजा हुने थियो होला ?

प्रतिक्रियाहरु