१३ विद्यार्थी सङ्गठनद्वारा बिभिन्न माग प्रस्तुत

२०७७ भाद्र ३१ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी)सहित १३ विद्यार्थी सङ्गठनले कोरोनाका कारण अलपत्र परेका विद्यार्थी , निजी विद्यालयमा कर्यरत शिक्षक तथा कर्मचारीहरूको तलबको व्यवस्था गर्न र विद्यालय सञ्चालन नहुँदै निजी विद्यालयहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुलेको भन्दै त्यस्ता विद्यालयहरूलाई कारबाही गर्न माग गरेका छन । ति विद्यार्थी सङ्गठनले देशमा कोरोना भाइरस तत्काल नियन्त्रण नहुने, अझै एक–दुई वर्ष रहने प्रक्षेपण गरिएको र वैकल्पिक सिकाइ पनि प्रभावकारी नभएकाले आवश्यक सतर्कता अपनाउँदै विद्यालय, क्याम्पस र विश्वविद्यालयको पठनपाठन सञ्चालनको वातावरण बनाउन आग्रहसमेत गरेका छन् । काठमाडौँमा मङ्गलबार बसेको विभिन्न १३ विद्यार्थी सङ्गठनको बैठकले कक्षा १२ सहित क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न अनुरोध गरेको हुन् ।
१३ विद्यार्थी सङ्गठनहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा कोरोनाका कारण अलपत्र परेका विद्यार्थी र निजी विद्यालयमा कर्यरत शिक्षक तथा कर्मचारीहरूको तलबको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ । यस्तै विद्यालय सञ्चालन नहुँदै निजी विद्यालयहरूले विद्यार्थीहरूबाट चर्को शुल्क असुलेको भन्दै त्यस्ता विद्यालयहरूलाई कारबाही गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
त्यस्तै पोखरा, नेपाल संस्कृत, कृषि तथा बन विद्यालयमा पदाधिकारी नियुक्त नहुँदा कामकारबाही अस्तव्यस्त भएको भन्दै खुला प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्न माग गरिएको छ । विज्ञप्तिमा छात्रवृत्ति दोब्बर वृद्धि गरी वैज्ञानिक र व्यावहारिक मापदण्ड बनाएर पारदर्शी ढङ्गले कार्यान्वयन गर्न माग गर्दै सीटीईभीटीले प्रवेशपरीक्षा नलिई जीपीएका आधारमा भर्ना गर्ने सूचना जारी गरेको र त्यसबाट सरकारी विद्यालयका विद्यार्थी भर्नाबाट वञ्चित हुने देखिएकाले सरकारी विद्यालयका ८० प्रतिशत र निजी विद्यालयका २० प्रतिशत विद्यार्थी भर्ना लिने व्यवस्था गर्न माग गरिएको छ ।


यातायातका साधनमा दिइने विद्यार्थी सहुलियतलाई कडाइपूर्वक कार्यान्वन गर्न पनि विद्यार्थी सङ्गठनहरूले माग गरेका छन् । विद्यार्थी सङ्गठनहरूका तर्फबाट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अनेरास्वुवियुका संयोजक ऐन महर, नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना, अखिल छैटौँका अध्यक्ष विमल पोख्रेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, अखिल (पाँचौँ) का अध्यक्ष घनश्याम मिश्र, राष्ट्रवादी विद्यार्थी सङ्घका उपाध्यक्ष हिमाल थापा, राष्ट्रिय विद्यार्थी सङ्घका महासविच रञ्जित निष्पक्ष, अनेवियुका सचिवालय सदस्य मनीष भट्टराई, राप्रविसङ्घ (संयुक्त) का अध्यक्ष धनसुर शाही, राप्रविसङ्घका अध्यक्ष महेशबहादुर सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रियाहरु