‘विपतमा परेका नागरिकको जीविकोपार्जन सहज बनाउ ‘

२०७७ भाद्र २७ गते, शनिबार


काठमाडौँ । जनगणतान्त्रिक मञ्चले सरकारले विपतमा परेका नागरिकको जीविकोपार्जन सहज बनाउन कदम नचाले सङ्घर्षमा उत्रने बताएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनका केन्द्रीय समन्वय समितिले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण, बाढीपहिरोलगायत समस्याका कारण विपत्मा परेका नागरिकको जीविकोपार्जन सहज बनाउन सरकारले सारात्मक कदम नचाले सङ्घर्षमा उत्रिने चेतावनी दिएको हो । मञ्चका केन्द्रीय सदस्य खेम प्रधानले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकभर गरिएको औचित्यहीन लकडाउनले गर्दा ज्यालामजदुरी गरी जीविका चलाउनेहरू अहिले सडकभरि भोकभोकै छट्पटाउँदै कामको खोजीमा हिँडिरहेको, कामविहीन भएर बसेकाहरू घरभाडा तिर्न नसकेर घरधनीद्वारा घरनिकाला गरिएको, ऋण गरेर वैदेशिक रोजगारीका लागि गएका श्रमिकहरू, कामविहीन भई बसेकाहरूलाई पुँजीवादी सरकारका कमिसनखोरहरू मिली उद्धारका नाममा चर्को भाडा लिई नेपाल ल्याई क्वारेन्टाइनको बहानामा लुटिरहेको भन्दै यी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हालै विश्वभर मानवजातिलाई नै गम्भीर सङ्कटमा पार्ने गरी कोरोना भाइरस महामारीका रुपमा फैलिरहेको छ । उक्त महामारीले गर्दा नेपालमा सयौँको सङ्ख्यामा मानिसहरूको मृत्यु हुनुका साथै ५० हजारभन्दा धेरै मानिस सङ्क्रमित भई मृत्युसँग लडिरहेको अवस्थाका साथसाथै प्रतिकूल मौसमका कारण आएको बाढी, पहिरो र चट्याङले गर्दा सयौँको सङ्ख्यामा मानिसको मृत्यु भएको र धेरै मानिस घाइते भई उपचारका क्रममा रहनुका साथै हजारौँ मानिस घरबारविहीन भएको अवस्थामा पनि दलाल पुँजीवादी सरकारले जनविरोधी हर्कतहरू गरिरहेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सम्बन्धमा मुलुकभर गरिएको औचित्यहीन लकडाउनले गर्दा ज्यालामजदुरी गरी जीविका चलाउनेहरू अहिले सडकभरि भोकभोकै छट्पटाउँदै कामको खोजीमा हिँडिरहेको अवस्था, कामविहीन भएर बसेकाहरू घरभाडा तिर्न नसकेर घरधनीद्वारा घरनिकाला गरिएको अवस्था, ऋण गरेर वैदेशिक रोजगारीका लागि गएका श्रमिकहरू कामविहीन भई बसेकाहरूलाई पुँजीवादी सरकारका कमिसनखोरहरू मिली उद्धारका नाममा चर्को भाडा लिई नेपाल ल्याई क्वारेन्टाइनको बहानामा लुट्नु, साना तथा मझौला व्यवसायीहरूले लिएको ऋण असुउपर गर्नको लागि वित्तीय संस्थाहरूले अमानवीय हर्कत गरेको, कमिसन र शक्तिको आडमा मल ल्याउने ठेक्का जिम्मा दिँदा किसानहरूमाथि बलिरहेको आगोमा घ्यु थप्ने काम भएको यावत् समस्याहरूले गर्दा श्रमजीवी वर्गलाई आत्महत्या गर्न बाध्य बनाएको छ ।’
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अतः कोभिड १९ को महामारीले देश गम्भीर सङ्कटमा रहेको अवस्थामा पनि सरकारका भरौटेहरू कमिसन खाने चक्करमा एकपछि अर्को विवादित निर्णयहरू गरिरहेका छन् । कोरोना परीक्षणको दायरा नबढाई मिडियाबाजीमै सीमित रहेको छ । उक्त परीक्षण पनि वास्तविक सङ्क्रमित पहिचान गर्नतर्फ नलागी शक्तिको आडमा गर्ने गरेको र प्राकृतिक प्रकोपमा परेका नागरिकहरूको गाँस, बास, कपासका लागि अहिलेसम्म कुनै ठोस कदमसमेत नचालेको, विषम परिस्थितिमा पनि विभिन्न बहाना बनाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिसमेत गरेको हुँदा उल्लिखित विषयहरूलाई सरकारले बेलैमा आमनागरिकको हितअनुसार तत्काल कदम नचाले हाम्रो सङ्गठन यसको कडा सङ्घर्षमा उत्रिने चेतावनीसमेत दिन चाहन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार