पर्यटन पुनरूत्थान गर्न कार्यदल !

२०७७ भाद्र २४ गते, बुधबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीको संरक्षकत्वमा पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने उद्देश्यसहित कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरेर यस क्षेत्रको पुनरुत्थानका लागि नियमित सुझाव उपलब्ध गराउने बताइएको छ । त्यस्तै कार्यदलले सम्पूर्ण व्यवसायीलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माणमा पनि सहयोग गर्ने बताइएको छ ।
कार्यदलमा पाटा, एसकेएएलजस्ता पर्यटन क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई सल्लाहकारका रूपमा समावेश गरिएको छ । कार्यदलले तत्काल सुरक्षित रूपमा पर्यटन गतिविधि अध्ययन गर्नसक्ने सम्बन्धमा पनि अध्ययन गर्नेछ ।
त्यस्तै पर्यटन व्यवसायी तथा मजदुरलाई ल्याउन सकिने आर्थिक कार्यक्रमको विषय कार्यदलको अध्ययनको विषय हुनेछ ।
बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययन अनुसार चैत ११ देखि सुरु भएको बन्दाबन्दीको कारण पर्यटन तथा उड्डयन क्षेत्रले मासिक १० अर्ब रुपियाँ नोक्सानी बेहोर्नुपरेको तथ्याङ्क सार्वजनिक भएको थियो । साउनमा सेवा क्षेत्रसँग सम्बन्धित केही गतिविधि सञ्चालन भए पनि पर्यटन क्षेत्रलाई उल्लेख्य राहत भने हुन सकेन ।
त्यसयता भदौमा पूर्ण रूपमा निषेधाज्ञा जारी भए पनि पर्यटन तथा उड्डयन क्षेत्रले नोक्सानी बेहोर्नुपरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन तथा उड्डयन क्षेत्र र यससँग आश्रित करिब १० लाख व्यक्ति कोभिड सङ्क्रमणका कारण प्रभावित छन् ।

प्रतिक्रियाहरु