नेकपाद्वारा नाजायज फाइदा लिन खोज्नेमाथि कारबाही गर्ने उदघोष

२०७७ भाद्र २३ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कोरोनाको फाइदा उठाएर नाजायज फाइदा उठाउन खोज्ने कतिपय माफिया, कालोबजारिया र कमिसनखोरहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । उसले कोरोना भाइरस सङ्क्रमणविरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाइकर्मीहरूमा सङ्क्रमण बढिरहेको भन्दै जनताको सुरक्षामा राज्य उदासीन भएको समेत जनाएको छ । सो पार्टीका रूपन्देही जिल्ला सक्रेटरी प्रभातले मङ्गलबार विज्ञप्ति जारी गर्दै पीसीआर किटको अभावले क्वारेन्टिन वा आइसोलेसनमा बसेका व्यक्तिहरूको पनि परीक्षण हुन नसकेको स्वास्थ्य सामग्री र जनशक्तिको अभाव, नाम मात्रका क्वारेन्टिन र आइसोलेसन, उपचार अभावमा दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी र नवजात शिशुहरूको मृत्यु भएको कुराप्रति पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
यसैबीच नेपालमा कोरोना भाइरसको महामारी झन् बढ्ने देखिएको बेला भारतका सुनौलीलगायत विभिन्न ठाउँबाट लुकीचोरी गरेर अवैधानिक तरिकाले भारतीय नागरिकहरू जिल्ला प्रवेश गरिरहेका छन् ।
नेकपा रूपन्देहीका अनुसार जिल्लामा प्रवेश गरेपछि निर्बाध रूपमा उनीहरू विभिन्न व्यवसायहरूमा सक्रिय भइरहेका छन् । त्यसले गर्दा पनि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको भन्दै नेकपा रूपन्देहीले कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिरहेको अवस्थामा यसको रोकथामका लागि परीक्षणको दायरा बढाउनुको सट्टा कतिपय दलालहरूको दबाबमा बन्दाबन्दी खुलाउनु र बन्दाबन्दीको समयमा श्रमिक वर्गको गाँस, बास, कपास तथा स्वास्थ्यजस्ता आधारभूत आवश्यकता उपलब्ध गराउन नसक्नुले राज्य पूर्णतः असफल भएको बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु