श्राद्धको अर्थ र औचित्य

नारायण शर्मा २०७७ भाद्र २३ गते, मंगलवार

श्रद्धाको भावले, श्रद्धास्वरुप, श्रद्धापूर्वक, श्रद्धेय ब्यक्तिको लागि गरिने श्रद्धाजन्य कार्य हो श्राद्ध ! संस्कृत भाषाको यो शब्दको संस्कृतमै “श्रद्धया दियते इति श्राद्ध:” यस्तै केही भनेर अर्थ गरिएको एको छ, जसको अर्थ हो : श्रद्धाले दिइने वा गरिने कार्य श्राद्ध हो !
मेरो विचारमा बाबुआमा मरेको एकिन दिन तिथिमिति पत्ता लागेको अवस्थामा सोही दिनमा गरिने सम्झना र श्रद्धा कार्यलाई हाम्रो पूर्वीय परम्परामा एकोतिष्ठ अथवा तिथि श्राद्ध भनिन्छ भने मरेको दिन एकीन हुन नसकेको अवस्थामा सोह्र श्राद्ध वा पितृपक्षमा अर्थात् भाद्र कृष्ण पक्ष (चन्द्रमा क्रमश: सानो, कमजोर र मलिन हुँदै विलिन हुने पन्ध्र-सोह्र दिनको/आधामहिनाको/ भाद्र शुक्ल पूर्णिमादेखि औंशीसम्मको अवधि) मा रहेका जम्मा सोह्र तिथिमध्ये कुनै एक तिथिमा गर्नसकिने वा गरिने गरिएको छ ! यो आवश्यक र स्वाभाविक नै हो ।
श्राद्ध गर्दा दिवङ्गत हुनुभएका आमाबुबा र उहाँहरुका बाबु, बाजेका कम्तीमा तीनपुस्तालाई र सासुससुरा आदिलाई सम्झना गरी श्रद्धा गरिन्छ र हिन्दु संस्कार अनुसार पिण्डपानी/खानापिना दिइन्छ ! यो तीन पुस्तालाई सम्बोधन गर्ने कुरा पनि स्वाभाविक नै हो किनकी सामान्यतया सय बर्षको मानव आयुमा हामीले सहकार्य यही चार पुस्ताको बिचमा गर्ने हुनाले आफूले माया, ममता, सहयोग, सद्भाव, पालनपोषण र शिक्षादीक्षा आदि आफू माथिका तीन पुस्ताबाट पाउन सकिन्छ ! त्यसैले उहाँहरुको सम्झना र श्रद्धा गर्नु अनि उहांहरुप्रती कृतज्ञता र आभार प्रकट गर्नु र उहाँहरुका नाममा केही अर्पण गर्नु मनासिब कार्य नै हो ! तर यहाँनेर एउटा पाटो चाहिँ छुटेको देखिन्छ, जस्ले गर्दा यो श्रद्धाकार्य अपूरो र अधुरो मात्र हैन, भेदभावपूर्ण र अन्यायपूर्ण समेत छ । र, त्यो भेदभाव र अपूर्णता यो हो कि यसमा आमाका पनि आमा, हजुर आमा अनि श्रीमतीका पनि आमाकी आमा, हजुर आमाहरुलाई सम्झना र सम्बोधन गरिन्न ! शायद पितृप्रधान समाज र सोंच भएर होला संस्कार पनि पितृकै पक्षमा भएको छ ! तथापि आजको समतामुखी र न्यायपूर्ण समाजमा आफ्ना पुर्खाको सम्झना र सम्मान/श्राद्ध गर्नेहरुले यो छुटेको पक्षलाई समेटेरै सम पिंढीका सम्बन्धित सबैलाई सम्झना र श्रद्धा गर्नु पर्दछ !
यो श्रद्धा गर्ने कार्य हाम्रा आआफ्ना बाबुआमा र पुर्खाहरुलाई हामी उहाँहरुका सन्तती भएको र उहाँहरुबाट जन्म र कर्म मात्र होइन तन, मन, धन, विद्या, बुद्धि आदि सबै प्राप्त गरेकोले कृतज्ञता स्वरुप पनि गर्ने गरिएको हो र अद्यापि गरिन्छ । पूर्वीय संस्कृत भाषाको पुरानो विधिपद्धति अनुसार गरिने श्राद्धकर्म गर्दा आफ्ना पूर्खालाई मात्र होइन, गुरुलाई पनि सम्झना र सम्बोधन गरिन्छ अर्थात् गुरुको शिक्षादीक्षा दानप्रती आभार र कदर प्रकट गर्दै बाबुआमा सरह पिण्डपानी पनि दिइन्छ । यो ज्ञानप्रतिको मानवीय ध्यान र सम्मान पनि हो र जो सराहनीय पक्ष नै हो । सोह्र श्राद्ध वा पितृपक्ष आदि नाम दिइएको यो अवधिमा बाबुआमालगायत कम्तीमा तीन पुस्ताका पुर्खाहरुलाई र एक जना मुख्यगुरु आदि सबैलाई साथसाथै श्रद्धा गरिन्छ भने अन्य दिनहरुमा अलग-अलग रुपमा पनि सम्झना र श्रद्धा गर्ने प्रचलन छ ! कुशे औंशी अर्थात् बुबाको मुखहेर्ने दिनमा पिताको, मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिनमा आमाको र गुरुपूर्णिमाको दिनमा गुरुको स्मरण र कदर गरी जीवित भए भेटघाट र उपहार प्रदान गरेर र मृत भए श्राद्धकर्म गरेर दानदक्षिणा दिने गरिन्छ । त्यसैले यो श्राद्धकर्म एक महत्त्वपूर्ण अनुशरणीय कार्य मानिएको हो र यो हजारौं बर्षदेखिको पुरानो संस्कार भए पनि चलिआएको परम्परा, विधि र पद्धति अनुसार नै हाम्रो समाजमा यो श्राद्धकर्म अद्यापि गर्ने गरिएको छ !
दिवङ्गत पुर्खाहरुको स्मरण र श्रद्धा गर्ने यो सोंच र संस्कारलाई पुरानै रुढीबादी विधि-पद्धति अनुसार भन्दा नयाँ आधुनिक र बैज्ञानिक विधि-पद्धती अनुसार गर्नु-गराउनु उचित र आवस्यक छ ! त्यो नयाँ विधि अहिले आआफ्नै प्रकारका र अपरिमार्जित छन् ! तिनलाई संयोजन र संश्लेषण गरेर एउटा परिमार्जित, आधुनिक, प्रगतिशील र बैज्ञानिक विधि विकसित र स्थापित गर्नु जरुरी भैसकेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्रतिबन्धित मान्छेको घोषणा

२०७७ आश्विन २ गते, शुक्रबार

प्यारो देश

२०७७ भाद्र ३१ गते, बुधबार

संझनाका सङ्कट

२०७७ भाद्र ३१ गते, बुधबार