रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै आपत्ति

२०७७ भाद्र २२ गते, सोमबार


काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले आपत्ति जनाएका छ्न् । पन्तले साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको बताए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौथी तिथि परेको छ । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले भेद गरेकाले पनि यस्तो साइत दिनु ठीक नभएको ज्योतिषीको भनाइ छ ।
“पितृपक्षसमेत परेका बेलामा कसरी साइत दिन मिल्छ ? कोरोनाको त्रास फैलिरहेका बेला उपत्यकामा चैत्र शुक्ल पक्षमा मनाइने सेतो मच्छिन्द्रनाथ, भक्तपुरमा वैशाख १ गतेका दिन मनाइने बिस्केट जात्रा र भाद्र शुक्ल पक्षदेखि आश्विन कृष्ण पक्षसम्म मनाइने इन्द्रजात्रासमेत रोकिएका बेला रातो मच्छिन्द्रनाथको जात्रा मनाउनै पर्ने कारण के हो ?”, पञ्चाङ्गकार पन्तले भने ।
ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहत्संहितालगायत ग्रन्थमा उल्लेख भए पनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउँछन् । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभए पनि सामान्यरूपमा साइत दिन नहुने समयकै साइत आइतबार दिइएको पाइएको उनले जानकारी दिए । तिथिको हिसाबले शनिबार वा सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउँछन् । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि उस्तै दिइनु गलत भएको ज्योतिषशास्त्री बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार