अक्षर र पुस्तकालयको ठाँटवाँठ वारे

बलराम तिमल्सिना २०७७ भाद्र २१ गते, आईतवार

जब कसैले भन्यो-
‘पुस्तकालय नभएको घर
गोठजस्तै हो/ खोरजस्तै हो
जसको घरमा थिएन पुस्तकालय
उसले सोच्यो-
‘भनेपछि म गोरु रहेछु !’

जव फेरि कसैले भन्यो-
‘पुस्तक नपढ्ने मान्छे
जनावर जस्तै जस्तै हो’
कहिलै अक्षर नचिनेकी
मेरी हजुर आमाले भनिन्-
‘हो तिनीहरूको लागि हामी जनावर नै हो !’

म समझदारीको दोभानमा उभिएर
सोचिरहेछु केही कुरा

  • के अक्षर नचिनेको भए
    म साँच्चै जनावर बन्ने थिएँ त ?
    के अक्षरको आविष्कारभन्दा पहिले
    हाम्रा सबै पूर्खा जनावर थिए ?

जसको घर छैन डेरा छ
जसको डेरा पनि छैन सडक छ
जसको सडक पनि सुबिस्ताको छैन
स्थायी छैन/ आफ्नो छैन
नगर प्रहरीको जगजगीमा छ
उसले कहाँ राख्छ पुस्तकालय ?

जसको घर त छ
तर किताव किन्नै पैसा छैन
दिनहुँ पेटले लखेटिरहेको छ
जोसँग पढ्ने फुर्सद पनि छैन
तिनले कसरी राख्लान पुस्तकालय ?

जव सुनिन्छ-
पुस्तकालय नभएको घर
गोठजस्तै हो / खोर जस्तै हो
अनि सुनिन्छ-
अक्षर नचिन्ने मान्छे जनावर हो
मलाई त्यसो भन्ने मान्छे
अक्षर चिनेको मूर्खझैं लाग्छ
मलाई त्यो मान्छे
जसको घरमा विशाल पुस्तकालय छ
ऊ घघडान साइँदुवाझैं लाग्छ !

गोठको आरोपबाट बच्न
घरमा सानो पुस्तकको चाङ्ग राखेको छु
जनावरको आरोपबाट बच्न
दिनमा दश बीस अक्षर पढ्छु
दश बीस अक्षर लेख्छु
तर मलाई आफ्नै यो गतिविधी
ठालु पल्टने रवैयाझैं लाग्छ !

यहाँ पुस्तकालयको फोटो देखाएरै
अरुमाथि शासन गरिरहेछ मान्छे
अक्षरको धाक लगाएर
र त्यो पनि अङ्ग्रेजी अक्षरको
रैती बनाइरहेछ कोही हामीलाई !

घरमा छ छैन दाल चामल
यो नसोधी यो प्रश्न
पुस्तक सोध्ने मान्छे
यो संसारकै महामूर्ख हो
उज्यालो र अँध्यारो वारेमा
थाहा छ कि छैन
नसोधी यो प्रश्न
अक्षर वारे सोध्ने मान्छे
जनावर या सो सरह हो !

हाम्रा घरहरूलाई गोठ या खोर
घरमा पुस्तकालय हुनेहरूले बनाइरहेछन्
हामीलाई सबैभन्दा बढ्ता जनावर
विकासी अक्षर चिन्नेहरूले मानिरहेछन् !

प्रतिक्रियाहरु