भ्रष्टाचारीलाई कारवाही गर

२०७७ भाद्र २१ गते, आईतवार

अहिले देश र जनता कोरोनाबाट आक्रान्त भएका छन् । देशको अर्थव्यवस्था चौपट भएको छ भने जनजीवन दिनप्रतिदिन कष्टपूर्ण बन्दै गएको छ । सरकारले कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा जारी गरेर जनता थप प्रताडित बनाएको छ । कोरोना संक्रमित उचित स्वास्थ्य सेवा नपाएर अकालमा ज्यान गुमाउन बाध्य छन् । तर, पनि सरकारको घैँटोमा घाम लागेको छैन ।

कोरोनाको कारण देखाउँदै देशलाई बन्धक र जनतालाई घरमा थुनेर, सरकार, सत्ताधारी पार्टी भ्रष्टाचार र पदको लुछाचुँडीमा लागेको समाचार छताछुल्ल भएका छन् । तर, पनि सरकार मौन छ । खेतीको समयमा कृषकले मल पाएनन्, रेल्वेको नाममा अर्बौं भ्रष्टाचार भएको समाचार सार्वजनिक भएका छन् भने स्वास्थ्य, शिक्षा, क्षेत्रमा पनि मनपरि भएको छ, महँगीले आकाश छोएको छ, जनताको शान्ति सुरक्षालगायतको मौलिक हकअधिकार खोसिएका छन् तैपनि सरकार सफल भएको बताइरहन्छ ।

सरकारको यस्तो रबैयाबाट आमस्वाभिमानी जनता आक्रोशित भएका छन् । तसर्थ, सरकार तत्काल सच्चिनैपर्छ । यस्तो अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारीलाई कारवाही गर्ने उद्घोष गरिसकेको छ । उसले जनताको माग र अपेक्षाबमोजिम भ्रष्ट कर्मचारी, ठेकेदारलगायत कसैलाई नछोड्ने बताइसकेको छ । यस्तो अवस्थामा सरकारले भ्रष्टहरुलाई तह लगाउन कम्मर नकस्ने हो भने आमनेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्ने निश्चित छ । देश र जनताको पक्षमा संघर्षरत नेपाल कम्युनिस्ट पार्टीलाई उपेक्षा गरेर सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैन । किनकि नेपाल कम्युनिस्ट पार्टीले देश र जनताको आवाज बोलिरहेको छ । यस्तो स्थितिमा सरकारले भ्रष्ट कर्मचारी ठेकेदारलगायत राजनीतिको खोलमा भ्रष्टाचार गर्ने सबैलाई कारवाही थाल्दै नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध खारेज गरेर वार्ताबाट वर्तमान राजनीतिक समस्याको समाधान खोज्नुपर्छ । अन्यथा सरकार यही ढङ्गले अगाडि बढे जनविद्रोह निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार

सहिदका सपना साकार पारौं

२०८० फाल्गुन १४ गते, सोमबार