फिरफिरे राजनीति र संसदीय प्रपञ्च

२०७७ भाद्र २१ गते, आईतवार


खेम थपलिया


लेनिनले संसदीय व्यवस्थालाई ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो’ भन्नुभएको थियो । संसदीय व्यवस्थाको हरेक प्रपञ्च यही कुकुरको मासु बेच्ने पसलमा आएर टुङ्गिन्छ । झन् जब जब निर्वाचनको मौसम सुरु हुन्छ, तब तब देखिन्छ नेपालमा फिरफिरे राजनीतिको कमाल अनि संसदीय प्रपञ्चको तामझामा । अरू समयमा पनि यो प्रक्रिया चलिरहेको देखिन्छ । राजनीतिक दलमा मान्छेहरू फिरफिरे जस्तै यताका उता र उताका यता भइरहेका देखिन्छन् । यस्तो यता उता गर्ने प्रक्रियामा सामान्य कार्यकर्तादेखि स्थापित नेताहरू पनि सामेल हुन्छन् । डा.बाबुराम भट्टराई माओवादीको छाता फाल्दै र नयाँ शक्तिको चुलो पनि भत्काउँदै अहिले जनता समाजवादी पार्टीमा पुग्नुभएको छ । हुँदाहुँदा एउटा समूहको साथ प्रचण्ड नै एमालेमा विलय हुन पुग्नुभएको छ । आज पनि थुप्रै मान्छेहरू आकासतिर थुक्दै कता कता दौडिरहेकै छन् । राजनीतिक ध्रुबीकरणको समयमा यो विचित्रको रूपमा प्रस्तुत हुन्छ । राजनीतिक वृत्तको दल बदल प्रक्रिया नै अर्को शब्दमा फिरफिरे राजनीति हो । यो संसदीय राजनीतिमा भइरहने प्रपञ्च पनि हो । कोरोना कहरका बिचमा पनि यो प्रपञ्च रोकिएन । बजार ‘फलानो पार्टी छोडेर ढिस्कानो पार्टीमा यति मान्छे प्रवेश’ जस्ता समाचारले ढाकिन्छ ।
अचम्मको कुरा यो छ कि निश्चित रकम लिएर यस्तो काम गर्ने र गराउने गिरोहहरू पनि सक्रिय हुँदा रहेछन् । यो प्रक्रिया बुर्जुवा शिविरमा उनै उनै मान्छेहरू अझ बढी फिरफिर गरिरहेका देखिन्छन् । विश्व राजनीतिमा पनि नेता–कार्यकर्ताहरूले दल बदलिरहेका हुन्छन् । अन्तरिक वा बाह्य जे कारण भए पनि फिरफिरे राजनीति भइरहेको हुन्छ । नेपालजस्तो कम विकसित मुलुकमा स्थापना भएका राजनीतिक दल र त्यसमा आबद्ध नेता–कार्यकर्ता यताबाट उता र उताबाट यताको स्थितिबाट गुज्रिरहेका हुन्छन् । कहिलेकाहीँ यी फिरफिरेले पार्टीहरूलाई तोडफोड पनि गर्दछ । यी फिरफिरे कुनै न कुनै घरेलु तथा बाह्य शक्तिकेन्द्रसित जोडिएका पनि हुन्छन् । शक्तिकेन्द्रकै निर्देशनमा तमाम काम फत्ते गर्दछन् । आधारभूत जनताको ध्यान एकैपटक सारमा जाँदैन, उनीहरूले प्रारम्भिक रूपमा देख्ने र बुझ्ने भनेकै रूप पक्ष नै हो । संसदीय प्रपञ्च विषैविषले भरिएको छ । संसदीय प्रपञ्च एउटा प्रवृत्ति होे, जसको वस्तुगत कारणहरू छन् ।
वैचारिक, सैद्धान्तिक तथा दार्शनिक अस्पष्टता ः मानिसरू पार्टी बदल्न खासै अप्ठ्यारो मान्दैनन् । उनीहरूमा वैचारिक निष्ठामा कमी हुनुले यसो भएको हो । विचारमा प्रतिवद्ध र निष्ठावान् नभईकन मानिस स्थायी बन्न सक्तैन । नेपालको राजनीतिमा यस्तो देखिने गरेको छ । यस्तो अन्तर्राष्ट्रिय जगतमा पनि देखिन्छ । विचार नबनिसकेको मानिस राजनीतिक दलमा आबद्ध हुनु र उसको अगाडि अर्को नयाँ परिवेश खडा हुनेवित्तिकै ऊ त्यतातिर लाग्दछ । यसरी वैचारिक स्तर कमजोर हुनुले पनि मानिसहरू दल बदल्छन् । विचार नै नबनिसकेको मानिसलाई जबरजस्ती नेता बनाइन्छ तर प्रायोजित ती नेतामा वैचारिक स्तर नै हुँदैन । अनि त्यहाँ दल बदल मनोविज्ञान हावी हुन्छ । साथै, पार्टीहरूका आ–आफ्नै दर्शन र सिद्धान्त हुन्छन् । त्यही दर्शनका आधारमा उनीहरूले कार्यदिशा निर्माण गरेका हुन्छन् । त्यसैको आधारमा उनीहरूले जनतालाई गोलबन्द गर्ने प्रयत्न पनि गर्दै आएका हुन्छन् । दर्शनविनाको जीवनको कल्पना नै गर्न सकिन्न । सुपष्ट विश्वदृष्टिकोण नभएकाहरू, दार्शनिक रूपमा आफूलाई समायोजन नगरेकाहरू दल बदल्छन् । तात्कालिक अवस्थामा केही कारण पेस गर्न पनि उनीहरू हिच्किचाउँदैनन् तर आखिरमा त्यहाँभित्र त्यस्तो केही कारण नै हँुदैन । हुन्छ त उसमा केवल दर्शनविहीनता । माक्र्सवादी पार्टीमा सिद्धान्तहीनताको कल्पना नै गरिन्न । जब यस्तो परिघटना आइपर्छ, तब ऊ सजिलै दल बदल्छ ।
आर्थिक लालच ः मानिसलाई आर्थिक विषय आवश्यक हुन्छ तर अत्यावश्यक होइन । आज संसारमा आर्थिक चमक धमक बढेको छ । यो नै प्रधान बन्दै गएको छ । यो कुरा समाजमा रहेको आर्थिक विषयलाई हेर्ने दृष्टिकोणसित पनि सम्बन्धित छ । समाजले यसलाई अति महत्व दिएपछि त्यहाँ रहेका मानिसका मनोविज्ञान पनि त्यही रूपमा विकास हुनु स्वाभाविकै पनि हो । फेरि यो सभ्यताको विकाससित पनि सम्बन्धित छ । सभ्यताको विकास क्रममा विभिन्न अवस्थामा आर्थिकलाई ग्रहण गरिएको पाइन्छ । आज पुँजीवादले खर्लप्पै निलेको बेला यस्तो मोहका कारण मानिसहरू लोभिन्छन् । कतिपय अवस्थामा सबै कुराको कमान्ड राजनीतिले गरिरहेको हुन्छ भन्ने कुरा जाने–मानेकै व्यक्तिबाट पनि दल बदल हुन्छ । समाजवादी शिविरका नेताहरू पनि बुर्जुवा शिविरतिर गइरहेका हुन्छन् । खासगरी, यस्तो परिघटना आर्थिक मोहका कारण हुन पुग्दछ ।
प्रतिष्ठाप्रतिको तीब्र मोह र मनोविज्ञान ः मानिस स्वभावैले असन्तोषी प्राणी हो । असन्तोषकै कारण सभ्यताको विकास हुँदै आएको छ । विज्ञान प्रविधिको विकास पनि मानिसको असन्तोष र जिज्ञासाको कारणबाट विकास भएको हो । यसको विकासको गतिविधिमा जब मानिस पद–प्रतिषठामा लोभिन्छ, तब उसमा स्खलन आउन सुरु गर्छ । पार्टीमा ऊ अनेक किसिमका बार्गेनिङ गर्छ । मित्रघात गर्न पनि ऊ पछि पर्दैन । उसले आफूले चाहेको वा भनेको जस्तो भएन भने दल बदल्छ । मृत्यु भएपछि कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गरिने कुराको हेक्का यतिखेर कमैले राखेका हुन्छन् । देश र जनताको मुक्तिको प्रश्नसित आफ्नो पनि मुक्ति हुने कुरा सायद त्यतिखेर बिर्सिरहँदा उनीहरू सजिलैसित दल बदल्छन् । कैयौँ मानिसको मानसिकता अस्थीर हुन्छ । यसका विभिन्न सामाजिक र अन्य कारण पनि हुन सक्तछ । स्थीर मनोविज्ञान भएका मानिस थोरै हुन्छन् । यही मानसिकताका कारण मानिसहरू यताउति गरिरहेका हुन्छन् । केही देशहरूमा मनोवैज्ञानिक थेरापी पनि सुरु भएका छन् । नेपालजस्तो देशमा यस्ता थेरापीहरूको व्यवस्थित विकास हुन सकिरहेको छैन । विभिन्न चाहना र कारणका कारण मानिसमा अस्थीर चरित्र पैदा हुन्छ र दल बदल्छ । कतिपय अवस्थामा यो जैविक प्रक्रियासित पनि सम्बन्धित हुन्छ ।
विश्वदृष्टिकोण र शब्द–कर्मका बिच एकत्व ः मानिसका लागि विश्वदृष्टिकोण निकै महत्वपूर्ण कुरा हो । माक्र्सवादीहरूका लागि त यो पहिलो कार्यसूचीभित्रको कुरा हो । उसको आफ्नो वर्ग पक्षधरता पनि हुन्छ तर कतिपय मानिसहरू यो कुरा बुझेर पनि आफूलाई त्यसमा प्रतिवद्ध बनाइराख्न सक्तैनन् । ऊ सबै उस्तै हुन् भन्न थाल्दछ । विश्वदृष्टिकोणमा आएको स्खलनका कारण अन्तिममा ऊ दल बदल्न तयार हुन्छ । सर्वहारा वर्गको मुक्तिका लामा लामा प्रवचन दिनेहरू पनि दल बदलको दौडमा सामेल हुन्छन् । कतिपय राजनीतिक–वैचारिक स्कुलहरू व्यवस्थित हुन नसक्दा पनि यस्ता समस्या आउने गरेको छ । साथै, मानिसहरू कुरा एउटा र काम अर्को गर्दछन् । यसका कारण निकै समस्या आउने गरेको छ । कुनै बेला नेपालमा जे भन्यो, त्यही गर्ने माओवादीहरू मात्र हुन् भनिन्थ्यो तर आज परिस्थिति बदलिएको छ । बाहिर बाहिर क्रान्तिकारी कुरा गर्नेहरू भित्र भित्र त्यही क्रान्तिलाई ध्वस्त पार्न उद्यत रहेको पनि देखिएको छ । आज शब्द र कर्मका बिच एकत्व भएका मानिस पाउन कठिन हुँदै गएको छ । द्वैत मानसिकता मानिसहरू सजिलै दल बदल्छन् ।
प्रतिशोध र नेतृत्वप्रति अविश्वास ः कहिलेकाहीँ मानिसहरूमा यस्तो डरलाग्दो प्रतिशोधको भावना उर्लिन्छ कि ऊ यसै बस्नै सक्तैन । कतिपयमा व्यक्तित्वको टकराव पनि हुन्छ । कतिपयमा खराब चरित्र उर्लिएको पनि हुन्छ । कतिपयलाई हीनताबोधले पनि यस्तो स्वभाव पैदा गर्दछ । आफू रहेको दलबाट प्रतिशोधको भवना साँध्न नमिलेपछि ऊ अर्को दलमा प्रवेश गर्दछ, अनि त्यहाँबाट प्रतिशोध भावना मुखरित गर्दछ । बुर्जुवाहरूका तुलनामा कम्युनिस्टहरूमा प्रतिशोधको भावना निकै डरलाग्दो हुन्छ । केही वर्ष पहिले दुईलाइन सङ्घर्ष चर्किएको बेला खन्ना गार्मेन्टमा मजदुरले सुत्केरीलाई रडले हानेको थियो । साथै, नेतृत्व विश्वास र आशङ्काको द्वन्द्ववादमा आधारित हुन्छ । यो द्वन्द्ववादलाई बुझ्ने र त्यहीअनुरूप लागू गर्ने कुरामा पार्टीहरूमा गम्भीर समस्या रहेको देखिन्छ । कतै विश्वासै विश्वास र कतै अविश्वासै अविश्वास रहेको पनि पाइन्छ । कुनै बेला प्रचण्डलाई विश्वासै विश्वास प्राप्त थियो तर अहिले अविश्वासै अविश्वासमा बदलियो । नेतृत्व पार्टी, नेता तथा कार्यकर्ता सबैको संरक्षक बन्नुपर्दछ । यदि यसो हुन सकेन भने कार्यकर्तामा चरम निराशा पैदा हुन्छ । ‘यसले त मलाई हेरेन भने यसले नेतृत्व गरेको दलमा किन बसिरहने ?’ जस्ता भाव पैदा भएपछि ऊ दल बदल्छ । नेता–कार्यकर्ताका बिचमा उपयुक्त सम्बन्ध र त्यसको अन्तर्वस्तु नबुझ्दा पनि यस्ता समस्या आउने गर्दछन् ।
अवैज्ञानिक सङ्गठन र पुँजीवादी प्रभाव ः सबैले आ–आफ्ना पार्टीमा गतिशील र वैज्ञानिक सङ्गठनात्मक संरचना बनाउने इच्छा राखेका हुन्छन् तर ती सङ्गठनात्मक संरचना वैज्ञानिक र गतिशील बनिरहेको हुँदैन । अवैज्ञानिक सङ्गठनात्मक संरचनाले नेता–कार्यकतालाई काम गर्न धेरै असजिलो हुन्छ । त्यस्तो संरचनामा रहेर गरिएको कामको नतिजा पनि राम्रो आउँदैन । जति गरे पनि केही उपलब्धि नहुने भएपछि मानिस त्यहीँ गरिरहन अनिच्छुक हुन्छ । अवैज्ञानिक सङ्गठनात्मक संरचनाले कुनै पनि कार्यभार पूरा गर्दैन । कार्यभार पूरा नगर्ने सङ्गठनले जो कोहीलाई पनि त्यही पार्टीमा प्रतिबद्ध बनाइराख्न कठिन हुन्छ । हुन त बुर्जुवा राजनीतिमा दल बदललाई त्यति ठूलो विषय मानिँदैन तर माक्र्सवादी राजनीतिक दलहरूमा भने यसले निकै महत्व राख्दछ । माक्र्सवादी दलको तुलनामा बुर्जुवा दलको चमक धमक अलि बढी नै हुन्छ । प्रायः उनीहरूले राजकीय सुविधा प्राप्त गरिरहेका हुन्छन् । उनीहरूको पहुँच र प्रभाव पनि त्यहीअनुरूप हुने गर्दछ । औसत मानिसहरू त्यतातिर आकर्षित हुन्छन् र दल बदल्छन् ।
पारिवारिक दबाब र आर्थिक अभाव ः अल्प–विकसित देशहरूमा रहेका मानिसका पारिवारिक समस्या जटिल हुन्छन् । आधारभूत समस्या समाधान गर्न पनि उनीहरूलाई धौ धौ भइरहेको हुन्छ । उनीहरू पारिवारिक दबाबका कारण दल बदल्न बाध्य हुन्छन् । परिवारका सदस्यहरू सबै राजनीतिक रूपमा सचेत र विचारधारात्मक रूपमा प्रस्ट नहुन पनि सक्तछन् । उनीहरूलाई एउटै मात्र चिन्ता हुन्छ कि आफ्नो परिवार राम्ररी चलोस् । आफ्नो पारिवारिक बन्दोबस्ती होओस् । ‘यस्तो अवस्था तपाईं यस्तो पार्टीमा किन बसिरहेको, फलानो अर्को पार्टीमा गएर कति प्रगति गरिसक्यो, तपाईंको खोइ’ भन्ने जस्ता पारिवारिक दबाब आउन सक्तछ । यस्तो परिस्थितिमा ऊ अर्को राजनीतिक दलमा प्रवेश गर्न तयार हुन्छ । साथै, कतिपय गरिबी कल्पना नै गर्न नसक्ने खालको पनि हुन्छ । आज विश्व निगम पुँजीवादको हैकममा चलिरहेछ । भ्रष्टाचार व्याप्त भएको देशमा सामाजिक न्याय हुँदैन । त्यहाँ मुट्ठीभरका शासकले राज्यका स्रोत–साधनको एकलौटी दोहन गरिरहेको हुन्छ । दलहरू पनि त्यत्तिकै भ्रष्ट हुन्छन् । यस्तो अवस्थामा नागरिकहरू चरम आर्थिक अभावका बिचमा बाँच्न विवश हुन्छन् । आर्थिक अवस्था सुधार्ने अन्य विकल्प नदेखेपछि तथा सापेक्षित रूपमै भए पनि ‘फलानो दलमा गएपछि मलाई केही राम्रो हुन्छ कि’ भन्ने कुराले ऊ दल बदल्छ । कतिपय अवस्थामा केही दलहरूले आर्थिक आश्वासन पनि दिएका हुन्छन् । एकातिर आर्थिक अश्वासन र अर्कोतिर व्यक्तिगत जीवनमा भोग्नुपरिहेको चरम आर्थिक अभावका बिचमा ऊ अर्को राजनीतिक दलमा प्रवेश गर्दछ ।
निषेधीकरण र महत्वकाङ्क्षा ः राजनीतिक दलमा चरम निषेधकरण पनि हुन्छ । केही भ्रष्ट मानिसले पार्टीको नेतृत्वलाई यसरी चङ्गुलमा पारिरहेको हुन्छ कि नेतृत्वले कुन ठीक र कुन बेठीक भनेर छुट्याउनै सक्तैन । पार्टीको स्रोत, साधन र हैकमलाई उसले व्यापक दुरुपयोग गरिरहेको हुन्छ । यस्तो अवस्थामा उसले पार्टीमा आफ्ना राजनीतिक भविष्य देख्दैन । उसले जता हेरे पनि निषेधै निषेध देख्दछ । भन्नचाहिँ पार्टी सबैको हो भनिन्छ तर यथार्थमा पार्टी मुट्ठीभरका मानिसहरूबाट चलिरहेको हुन्छ । यस्तो अवस्थामा मानिस दल बदल्न तयार हुन्छ । साथै, केही मानिस अत्यन्त महत्वाकाङ्क्षी हुन्छन् । ऊ आफूबाहेक अरू कसैलाई मान्छे नै गन्दैन । ऊ आफूलाई नेता, नीति र जनताभन्दा माथि राख्छ । त्यस्तो उर्लंदो महत्वाकाङ्क्षाले ऊ बेस्सरी तडपिरहेको हुन्छ । उसलाई यताबाट यो हुन्छ कि, उताबाट यो हुन्छ कि भन्ने हुटहुटी भइरहेको हुन्छ । ऊ आत्मकेन्द्री व्यक्तिवादमा चुर्लुम्म डुबेको हुन्छ । आत्मकेन्द्री व्यक्तिवाद र चरम महत्वाकाङ्क्षाको गठजोडबाट नयाँ धरातल खडा हुनेबित्तिकै ऊ दल बदल्छ ।
हामी सबैखाले संसदीय राजनीतिक प्रपञ्चको विरुद्धमा छौँ । माक्र्सवादी हुनुको नाताले हामी राजनीतिक दल बदललाई निरपेक्ष ढङ्गबाट मात्र हेर्दैनौँ । राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा प्रतिवद्ध मानिसहरू क्रान्तिकारी पार्टीमा प्रवेश गरिरहेका पनि हुन्छन् । यस्तो दल बदलको सकारात्मक मूल्य हुन्छ, जसलाई हामी क्रान्तिकारी ध्रुवीकरण भन्दछौँ । देश र जनताको मुक्तिलाई केन्द्रमा राखेर गरिएको दल बदललाई क्रान्तिकारीहरूले विकास गर्नुपर्दछ । क्रान्तिकारी पार्टीमा आउने मान्छे रूपान्तरणसहित वा रूपान्तरण हुन तयार भएको हुनुपर्दछ । क्रान्ति गर्न आउने मान्छेलाई सम्मानपूर्वक स्वागत गर्नुपर्दछ । त्यसरी आउने मान्छेलाई ‘ठूलो भाग खान आएको’ भन्नुुहँुदैन । संसदीय व्यवस्थाको लुटको प्रपञ्चलाई बल पु¥याउनेविरुद्ध आन्दोलित हुनुपर्दछ । संसदीय प्रपञ्चको निरन्तर भण्डाफोर गर्नुपर्दछ । इतिहासको यस महत्वपूर्ण घडीमा हामीले दल बदल प्रक्रियालाई क्रान्तिकारी धु्रवीकरणका रूपमा माथि उठाउनुपर्दछ । प्रपञ्चकारी संसदीय व्यवस्थाको एक मात्र विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हो । हामीले क्रान्तिकारी ध्रुवीकरणको वैचारिकीसँगै त्यसको भौतिकी तागतलाई वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्तिको दिशामा लगाउनुपर्दछ ।

२१ भदौ, २०७७

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु