‘ अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति ‘

२०७७ भाद्र १७ गते, बुधबार

काठमाडौं ।  नेपाल कम्युनिष्ट  पार्टीका प्रवक्ता प्रकाण्डले    नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको  ठोकुवा गरेका छन ।  उनले नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा भएको समेत बताएका छन ।    प्रवक्ता प्रकाण्डले    इरातोखबर अनलाईनलाई दिएको अन्तर्वार्तामार्फत  आम  जनताले साथ दिए  पार्टीले  क्रान्ति र मुक्ति दिने समेत ठोकुवा  गरेका छन । प्रवक्ता प्रकाण्डले  नेपालको राजनीतिक आन्दोलनमा राणा शासनका विरुद्धको आन्दोलनदेखि अहिलेसम्म भएका आन्दोलन, सशस्त्र सङ्घर्ष र जनयुद्धमा पटकपटक नेपाली काङ्ग्रेस, माले, वाम मोर्चा र माओवादीका नाममा देश र नेपाली जनतालाई दिएको धोकाले जनता आजित   भएको ठोकुवा गरेका छन  । उनले अबको क्रान्ति र क्रान्तिकारी पार्टीका बारेमा राष्ट्रिय राजनीतिमा उठ्ने प्रश्नको वस्तुगत आधार विगतको धोकाधडीसँग सम्बन्धित रहेको बताउदै आफ्नो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिमा नेपाली जनतालाई फेरि धोका हुन्छ कि भन्ने प्रश्न हो सचेतताका निम्ति गरिने प्रश्नबाहेक त्योसँग व्यावहारिक आधार नभएको प्रस्ट पारेका छन  । उनले  नेपाल कम्युनिष्ट  पार्टी राष्ट्रिय मुक्ति, उत्पीडित नेपाली जनता र एकीकृत जनक्रान्तिप्रति प्रतिबद्ध  र  अहिलेको दुनियाँको सामाजिक क्रान्तिको वैज्ञानिक विचार माक्र्सवाद, लेनिनवाद, माओवादद्वारा निर्देशित पार्टी भएको बताएका छन  । उनले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नेपाली क्रान्तिको प्रक्रिया धेरै अगाडि बढिसकेको  जसको परिणाम नेपाली जनताको आशा, विश्वास र भरोसा पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिप्रति धेरै बढ्दै गएको बताउदै  नेपाली जनताका निम्ति अबको विकल्प नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्ति बन्दै गएको र नेपाल र नेपालीका निम्ति यो निकै गौरव र गह्रौँ कुरा भएको बताएका छन  ।

प्रवक्ता प्रकाण्डले अन्तर्वार्तामा भनेका छन – “राष्ट्र र जनताको आवरणमा आफ्नो सङ्कीर्ण एवम् छुद्र राजनीतिक स्वार्थ सिद्धिका निम्ति कहिले आन्दोलन त कहिले युद्धको फन्डा गर्ने अवसरवादी र गद्दार नेता र पार्टीहरूले नेपाली जनतालाई धोका दिएका छन् । क्रान्तिले आफ्नैविरुद्ध खडा गर्ने जीवनमरणको खतराको सामना गर्न नसकेर भागेका भगौडा र बलिदानबाट डराएर आत्मसमर्पण गरेका जिउँदा लासहरूले नेपाली क्रान्ति र राजनीतिक आन्दोलनमा अक्षम्य अपराध गरेका छन् । हाम्रो पार्टी भगौडा र जिउँदा लासहरूको खरानीबाट जन्मेको पार्टी हो । यसका अगाडि कि त राष्ट्र र जनताको मुक्ति छ, कि त अनवरत सङ्घर्ष र बलिदान छ । तसर्थ हाम्रो पार्टी, नेतृत्व र एकीकृत जनक्रान्तिलाई बिनाकुनै सङ्कोच विश्वास गर्न र साथ दिन म आमनेपाली जनतामा विनम्रतापूर्वक अनुरोध गर्दछु । नेपाली जनताले पार्टीलाई साथ दिनुहोस्, पार्टीले तपाईंहरूलाई क्रान्ति र मुक्ति दिनेछ ।”

यसैगरी  प्रवक्ता प्रकाण्डले एक प्रश्नको उत्तरमा भनेका छन  – “गणतन्त्र, सङ्घीयता र संविधान दलाल पुँजीवादी राज्यव्यवस्था संसदीय राजनीतिका दलाल तत्वहरूको प्रतिक्रान्तिकारी चरित्रमा पर्दा हाल्न बलियो रक्षाकवच बनाउने र नेपाली जनतालाई एक÷दुई दशक भ्रमित पारेर ती हतियारको बलमा नेपाली जनतालाई लुट्ने दलाल पुँजीपतिहरूको रणनीति एकदुई वर्षमै जनतामाझ सर्वाङ्गै भयो । सबैले सजिलै थाहा पाउने गरी यो संसदीय राजनीति भनेको दलाल पुँजीपति वर्गको राष्ट्रघाती र जनविरोधी तत्वहरूको राजनीति हो र गणतन्त्र, सङ्घीयता र संविधान ठग्ने अस्त्र हुन् भन्ने कुरा बुझ्न बाँकी छैन । अतः विद्यमान राज्यसत्ता, शासन व्यवस्था र नेतृत्वमा क्रान्तिकारी परिवर्तन आजको अनिवार्य आवश्यकता बनिसकेको छ । नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ निर्णायक एकीकृत जनक्रान्ति सम्भव मात्र होइन, तात्कालिक कार्यसूची बन्न पुगेको छ ।

देशमा भ्रष्टाचार चरम छ । बेरोजगारी बढिरहेको छ । जनताको दैनिक जीवन कष्टकर बनिरहेको छ । यसको समाधान के हो त ? राष्ट्रिय स्वाधीनताविरुद्ध सौदाबाजी, जनताको राजनीतिक स्वतन्त्रतामाथि प्रतिबन्ध, राज्यको ढुकुटीमाथि भ्रष्टाचार एवम् कमिसनको जाँतो र बेरोजगारीको समस्याले विदेशका गल्लीगल्लीमा भौँतारिनु पर्ने अवस्थाको सिर्जना, कष्टसाध्य जनजीवनलगायत समस्याहरूको सिर्जना दलाल पुँजीपति वर्गको संसदीय व्यवस्थाका दैनिकी हुन् । यसको आयु जति बढ्दै जान्छ समस्याहरू झन् विकराल बन्दै जाने कुरामा नेपाली जनता किञ्चित् भ्रमित हुनु हुँदैन । रातारात यसको अन्त्य जरुरी छ । त्यसका निम्ति एकीकृत जनक्रान्तिको सम्पन्नता र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना नै एक मात्र विकल्प हो ।”

यसैगरी प्रवक्ता प्रकाण्डले भनेका छन – ” देश यतिखेर आफ्नो इतिहासमै पहिलोपटक महासङ्कटको भुमरीमा परेको छ । देशको जीवनमा सिर्जित यस अवस्थाका निम्ति सत्तासीन दलाल पुँजीपति वर्ग, त्यसको राज्यसत्ता र शासन व्यवस्था मुख्य जिम्मेवार छन् । नेपाली जनताले देश र आफ्नो मुक्तिका निम्ति ०७ सालदेखि यतातिर सञ्चालन गरेका राजनीतिक आन्दोलन र जनयुद्धका मूल्य, मान्यता, बलिदान, भावना र आकाङ्क्षाविपरीत राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, सामाजिक असुरक्षा र कहालीलाग्दो जनजीविका देश र जनताको जीवनमाथि थोपरिएको छ । परिणामतः देशमा भयावह स्थितिको सिर्जना भएको छ ।

गत डिसेम्बरबाट उब्जेको कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नेपाली समाजमा परेको डरलाग्दो असर पनि राष्ट्रको जीवनमा अर्को प्राकृतिक स्वास्थ्य विपत्तिका रूपमा आइलागेको छ । राष्ट्रिय सङ्कटलाई महासङ्कटमा पु¥याउने कोरोना भाइरसको महामारी पनि भएको छ ।

मानव समाजको जीवनमा आइपर्ने कुनै पनि महाविपत्तिको पूर्वजानकारी हुँदैन । खतराको अनुमान मात्र गर्न सकिन्छ । त्यसका आधारमा समाज, राज्य आधारभूत रूपमा मानसिक एवम् भौतिक रूपमा तयारी अवस्थामा रहनु पर्दछ । बाँकी त विपत्तिले निम्त्याएको चुनौतीको सामना गर्ने दृष्टिकोण, नीति, योजना र कार्यक्रम बनाएर सिङ्गो देशलाई परिचालन गर्ने हो । हाम्रो देशका सन्दर्भमा राज्यको दृष्टिकोण र तत्परता दुईटै कमजोर साबित भयो । भएका प्रयासहरू पनि सकारात्मक हुँदाहुँदै पनि कमसल साबित भए । नेपाली जनता कोरोना भाइरसको आतङ्कले आक्रान्त छ । राज्यसत्ता र कोरोना भाइरसले देश र नेपाली जनताको जीवनमा निम्त्याएको महासङ्कटको हल गर्न निर्णायक ‘नेपाली जनक्रान्ति’ को आँधीका निम्ति वर्तमान देशको अवस्थाले अपिल गरिराखेकोे छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु