इब्रु तिम्तिकको उच्च शहादतप्रति संग्रामि अभिवादन !

२०७७ भाद्र १७ गते, बुधबार

राजेन्द्र विष्ट ‘परिवर्तन’

इव्रु तिम्तिक तिम्रो उच्च शहादतप्रति सगरमाथाको देश नेपालबाट श्रद्धा सुमनका साथ संग्रामि अभिवादन व्यक्त गर्दछुँ । ४२ वसन्त पुरा नगरेकी इव्रु तिम्तिक आज एउटा कुर्दिस-टर्कीस कानुन व्यवसायी र मानव अधिकारवादीको रुपमा मात्र नभएर पुरा दुनिया भरीका समानतामुलक नयाँ समाज निर्माण गर्ने लक्ष्य वोकेका समाजवादी आन्दोलनकारी, अभियन्ताहरुका लागि उर्जा पुन्ज बन्न पुगेकी छौ । तिमिले टर्कीको रेसेप तैयाप इर्दोगान नेतृत्वको जस्टिक एण्ड डेभलोपमेन्ट पार्टी (एकेपि) दलाल फासिवादी सत्ताको विरुद्ध मात्र नभई सिंगो अर्न्तराष्ट्रिय सर्वहारा वर्गिय मुक्ति आन्दोलनलाई थप नयाँ उचाइमा ल्याई पुर्याउनका लागि महत्वपुर्ण साहसिक संघर्षको सुरुवात गरेर गएकी छौ । आफ्नो व्यक्तिगत जिवनलाई न्यौछावर गर्दै तिमिले जुन गौरवमय वलीदान गरेकी छौ, यो आफैमा युगिन र ओजपुर्ण छ । महान माओले भने झैं, तिम्रो शहादत गह्रुगों पहाड जस्तै वजनदार भएको छ । जसको अपेक्षा न यो भन्दा अगाडी कुनै इतीहासका अध्यायहरुमा गर्न सकिन्छ, न आउँदा भविष्यका दिनहरुमा नै गर्न सकिन्छ । तिम्रो शहादतको सही ढंगले अर्थवोघ गर्ने जो सुकै मार्क्सवादीले पनि गर्वका साथ भन्न सक्छ, तिम्रो शहादत यो शताव्दीकै उच्च किर्तिमान पुर्ण वलीदान हो । तिमिले सदियौं देखि अन्याय,अत्याचार,विभेद र शोषणको जात्रो मुनि पिल्सिएका मेहनतकश श्रमजिवि जनताको उन्मुक्तीका लागि विद्रोहको उद़्घोष गरेकी थियौ । मानवता, स्वतन्त्रता र न्यायमुलक समाज निर्माण गर्नका लागि राजनितीक परिवर्तनको पक्षमा आवज वुलन्द गर्नु नै फासिवादी शासकहरुका दृष्टिकोणमा तिमिले अपराध गरेको ठहरीन गयो । तिमि र तिम्रा प्रोग्रेसिभ लयर्स एसोसिएशन संस्थाका सहयोद्धा कानुन व्यवसायी, मानव अधिकारवादी साथिहरुले निष्पक्ष, स्वतन्त्र न्याय सम्पादनका लागि न्यायपालिका राजनितीक हस्तक्षेपबाट मुक्त हुनुपर्छ भनेर अगाडी सारेको माग प्रजातन्त्रको पक्षमा र निरंकुशतन्त्रका विपक्षमा थियो । तर, यही बहस  टर्कीका अनुदार चरीत्र वोकेका फासिवादी तानाशाह हरुका लागि मुटुमा काँडा रोपिए झै हुन गयो । र, उनिहरुले आफ्नो लुटको स्वर्ग ध्वस्त भईरहेको नजिकै देखे । त्यसैले त उनिहरुले उत्पिडनमा रहेका बहुसंख्यक जनताहरुको मुक्तिगामि आन्दोलनको नेतृत्व गरीरहेको क्रान्तिकारी पार्टी रिभोल्युसनरी पिपुल्स लिवरेसन फ्रन्ट माथि प्रतिवन्ध लगाएका थिए । फ्रन्टका नेता कार्यकर्ताहरु संविधानले नै उपलब्ध गराएका प्रजातान्त्रिक मौलीक हकहरुको उपयोग गर्दै शान्तिपूर्ण तरीकाले सदस्यता वितरण, संगठन विस्तार, भेला, सम्मेलन, गोष्ठी जस्ता राजनीतिक कार्यक्रमहरु सन्चालन गर्दै आईरहेका थिए । उनिहरुले यसका साथै राष्ट्रलाई समुन्नत र जनतालाई आत्मसम्मान जनक तरीकाले अधिकार सम्पन्न वनाउनका लागि भ्रष्टाचार, घुसखोरी, तस्करी, शोषण, विभेद, जनघात र राष्ट्रघातका विरुद्ध आम जनतालाई सु-सुचित गराउने काम गरेका थिए ।

राष्ट्र र जनताको हितमा काम गरीरहेका  नेता कार्यकर्ताहरु माथि षड्यन्त्रमुलक ढंगले राज्य पक्षबाट गिरफ्तारी, धरपकड, झुटा मुद्दा लगाएर अमानवीय तरीकाले गैर न्यायिक हिरासतमा राख्दा त्यसका विपक्षमा आफुलाई उभ्याउने कठीन चुनौती जो कसैले मोल्न सक्दैनन् । के टर्कीको कुरा, के नेपालको कुरा संसार भरीको स्थिती यही हो । नेपालमा पनि जनताको अधिकारको कुरा, राष्ट्रीय स्वाभिमान, स्वाधीनता, सार्वभौमसत्ताका विषय उठाउँदा नेपाल कम्युनिष्ट पार्टी माथि सामाजिक फासिवादी के.पी.-पि.के. मण्डली नेतृत्वको सरकार प्रतिवन्ध लगाउन पुगेको छ । देश विभाजनको नारा दिदै हिडेको  उत्तर साम्राज्यवादी एजेंट सी.के.रावत लाई रातो कार्पेट ओछ्याएर फुलको माला र खादा सहित स्वागत गरीएको छ । दुनियाँ भरीका तानासाह फासिवादीहरुको नियत र त्यहाँका जनताको नियती नै यही हो भन्दा शायद फरक नपर्ला । तर पनि समाज गतिशित छ, समाज विज्ञानको नियम अनुसार समाज जहिल्यै पनि परिवर्तनको वाटोमा अग्रसर भईरहेको हुन्छ । त्यही भएर त जनतामारा शक्तिकेन्द्रका विरुद्ध जनताको अजेय शक्ती ज्वालामुखि विष्फोट भए झै विष्फोट हुन पुग्छ । सत्ता उलट पुलट हुन वेर लाग्दैन, र आफुलाई सधैं भरी अपरीवर्तनिय शक्तिको रुपमा घोषणा गर्दै आईरहेका शासकहरु क्षण भरमै  भुँईको धुलोमा कहील्यै उठ्न नसक्ने गरी पछारीन पुग्छन् । टर्कीका मदमस्त फासिवादी इर्दोगान र एकेपी झुण्डको हालत पनि अन्तिममा गएर हुने यही हो । त्यसका लागि तिमि जस्तो अठोट र दृढ संकल्प वोकेका मान्छेहरुको जरुरत पर्दछ । जो यो दुनियाँमा धेरै छैनन्, थोरै अपवादका रुपमा मात्र छन् । त्यही भएर त इर्दोगान फासिवादका विरुद्ध अट्टहासका साथ ठोक्किन तम्तयार भयौ । र, समाजवादी आन्दोलनको इतिहासमा आफुलाई सबल अनि सक्षम सावित गर्यौ । तेह्र वर्ष ६ महिनाको कारागार सजायका विरुद्ध तिमिले साहस र संयमतापुर्वक जेल मोर्चावाट नै संघर्ष अगाडी बढायौ । तिमिलाई थकाउन, गलाउन र पराजित गर्नका लागि एकेपि फासिवादी झुण्डले विभिन्न खालका दुष्प्रयत्न हरु नगरेको पनि होईन । तर, सर्वहारा बर्गिय विश्व दृष्टिकोण बाट लैस तिमिले विना कुनै शर्त, विना कुनै सम्झौता आफ्नो व्यक्तिगत जिवनको रत्तिभर पर्वाह नगरी आफुलाई क्रान्तिको वलीवेदीमा होम्यौ । साँच्चिकै अर्थमा भन्ने हो भने यो एकातिर सम्पुर्ण रुपमा पुँजिवादी सत्ताको वहीष्कार हो भने अर्कातिर  क्रान्तिकारी मुल्य, मान्यता, चरीत्र, नैतिकता र दृष्टीकोणमा अब्बल उत्कृष्टताको अनुपम निखार हो । तिमिलाई थाहा थियो लामो समय देखिको आमरण अनसनले क्षिण हुदै गईरहेको स्वास्थ्य र कमजोर भईसकेको रुग्ण शरीर बोकेर विना उपचार थप जीवित रहन सकिदैन । दर्शनबाट अभिप्रेरीत भएर संघर्षमा होमिएका विर विरागंना स्वप्नद्रष्टाहरु राजनितीक विचाराधारात्मक सवालमा पुर्णतया परिपक्व हुन्छन् । र, उनिहरुको सन्दर्भमा मृत्युको भयले कुनै पनि माईने राख्दैन भन्ने महान दार्शनिक शुकरातको जिवन चरितार्थ अहिलेको समाजले राम्रो सित वुझ्ने गरी हामि माझवाट अमर भएर गएकी छौ । त्यही भएर त आफुले अगाडी सारेका मागहरु सम्वोधन नहुँदा सम्म उपचारको कुरा अन्तिम समय सम्म अस्वीकार गरेर हाँस्दा हाँस्दै सत्य, न्याय र मानवताका लागि जिवनको आहुति दिन पुगेकी छौ । र, आफ्नो वर्गिय अडानमा चट्टान भएर दृढताका साथ अडिग भईरह्यौ । २३८ दिनको लामो समयको आमरण अनसन पश्चात अगस्त २७ मा शहादत प्राप्त गर्दै विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नअस्ताउने चम्कीलो रातो तारा भएर यो संसारवाट विदा लिएर गएकी छौ । तिम्रो शहादतले टर्कीस कम्युनिष्ट आन्दोलनलाई मात्रै होईन अर्न्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई नै थप समुन्नत र समृद्ध वनाउन पुगेको छ । साथै, आज कम्युनिष्ट आन्दोलनमा  देखा परीरहेको आत्मसमर्पणवाद, सम्झौतावाद, नव संसोधनवाद, विसर्जनवाद लगायतका तमाम खाले गलत प्रवृत्ति र पुँजिवादी विचारधाराको स्थायी वन्ध्याकरणको मार्ग समेत प्रशस्त गरी दिएकी छौ ।

तिम्रो वेमिशाल युक्त आमरण अनसनवाट अत्तालिएका फासिवादी ब्वाँसाहरु तिम्रो शहादत पश्चात पनि तिमि जस्तै हजारौं इब्रु हरु नजन्मिउन भनेर  कती सम्म त्रसित रहेछन् भन्ने कुरा तिम्रो शव यात्रामा उसले गरेको दमन वाट प्रष्ट भएको छ । उसले शवयात्रामा मान्छेहरुलाई सहभागि हुन नदिनका लागि आफ्नो रगतले लतपतीएको शैतानि रुप निर्लज्ज ढंगले प्रदर्शन गर्दै प्रहरी परीचालन गर्यो, लाठी चार्ज गर्न लगायो, अश्रु ग्याँस र रवरका गोलाहरु वर्षाउन आदेश गर्यो, अहँ त्यही पनि मान्छेहरु रोकिएनन् । ती कुनै पनि खालका वाधा व्यवधानहरुको पर्वाह नगरीकन प्रतिरोधका साथ आम मेहनतकश श्रमजिवि जनता तिम्रो श्रद्धान्जली सभा र सवयात्रामा सहभागि भए । र, उनिहरुले क्रान्तिकारी जोश र उमगंतापुर्क एक साथ प्रतिबद्धता व्यक्त गरे- तिम्रो सपना पुरा गर्नका लागि हामि वलीदानको बाटोमा दृढ संकल्पित छौं । यहिं प्रतिबद्धता अविचलनताका साथ संसार भरीका कम्युनिष्ट, वामपन्थीहरुले पनि गरीरहेका छन् । जो समस्त वैज्ञानिक समाजवाद स्थापनाका लागि जिवन मरणको संघर्षमा हेलिएका कम्युनिष्ट पार्टीका सदस्य हरुको दायित्व वोध पनि हो । र, यहीं दायित्व वोध मैले पनि गरेको छुँ । आज तिम्रो भौतीक शरीर समाजवादी क्रान्तिकारी आन्दोलनमा हिजोका दिनमा झैं देख्न नपाए पनि वैचारीक हिसावले हिजोको भन्दा कैयौं गुणा बढी दिशा निर्देश गरीरहनेछौ । संसार भरीका समाजवादी हरुले तिम्रो साहसिक शहादतलाई आफ्नो ताकतको रुपमा ग्रहण गर्दै पुँजिवादका विरुद्धको लडाईमा आफुलाई काविल वनाउनेछन् । र, पुँजिवादले खडा गरेका कागजि बाघहरुको छातीमा भाला रोप्दै क्रान्तिकारी गर्जनका साथ भन्ने छन्; जित्नका लागि सारा संसार हाम्रै हो ! इव्रु तिम्तिकको बलीदानको मुल्य विर्सिएका छैनौं ! वैज्ञानिक समाजवाद – जिन्दावाद ! संसारभरीका उत्पिडीत तथा श्रमजिवि जनता – एक होऔं ! मार्क्सवाद-लेनिनवाद-माओवाद – जिन्दावाद

प्रतिक्रियाहरु