जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै

२०७७ भाद्र १६ गते, मंगलवार


काठमाडौं । पर्वत जिल्लाको को एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यतिमात्र होइन, उनी आफैं खानसमेत सक्दैनन् । सहजरूपमा स्वास फेर्न पनि गाह्रो हुन्छ ।
शुरुआतमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गर्ने तथा नेपालका सबैजसो अस्पतालमा पुर्याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताउनुभयो । “नेपालका सबै ठाउँमा पुर्यायौँ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन”, सुवेदीले भन्नुभयो ।
शारीरिकरूपमा वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि काठको मुढोजस्तै चौबिसै घण्टा पल्टाएर वा ह्विलचियरमा ठडाएर राख्ने गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको सुवेदीको परिवारका जेठा छोरा सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको सन्दीपका बाबु कृष्णप्रसादले गुनासो गर्नुभयो । सुवेदी परिवारका अन्य दुई सन्तान भने सपाङ्ग नै छन् ।
“रोग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखौँ खर्च गरियो, बीसको उन्नाइस भएन”, आमा कल्पनाले रुँदै भन्नुभयो, “न धन बच्यो, न सपाङ्ग नै भयो ।” देख्दै असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पिरोलिने गरेका छन् । उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ ।
आमाबाबुले रात र दिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पनाको भनाइ छ । नेपालमा उपचारको अर्को पद्धति नभए पनि कतैबाट आर्थिक सहयोग पाएमा विदेशमा लैजाने सोच रहेको उनीहरुको छ ।
“अब त निको होला भन्ने आश पनि मरिसक्यो”, कल्पनाले भन्नुभयो, “यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।” भगवानले पनि आफ्नो जस्तो गरिब परिवारमा बज्रपात पारिदिएको कल्पनाको दुखेसो छ । सन्तान पाएपछि हुर्काउँला, बढाउँला, पढाउँला र उनीहरुको कमाइबाट सुखसयलमा बसौँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको कृष्ण दम्पतीको गुनासो छ ।
सन्दीपले पूर्ण अपाङ्गताको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि रु पाँच हजार सहयोग पाएका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहारसुसारका लागि होस् कुनै पनि सहयोग नपाएको गुनासो उनीहरुको छ । – रासस

प्रतिक्रियाहरु