खाद्यान्नको मौज्दात बढाउन भण्डारण गृह निर्माण सुरु

२०७७ भाद्र १४ गते, आईतवार


काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको मौज्दात बढाउनका लागि भण्डारण गृह निर्माण गर्न लागेको छ । बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउन खाद्यान्नको भण्डारण क्षमता बढाउन लागिएको हो । हाल कम्पनीसँग न्यून परिमाणमा खाद्यान्न भण्डारण क्षमता रहेकाले थप क्षमता बढाउन लागिएको हो । अहिले कम्पनीसँग मुलुकभर १ लाख ५९ हजार टन भण्डारण क्षमतामात्र रहेको छ । आन्तरिक वितरण प्रणालीलाई सुदृढ गर्न र आपूर्ति व्यवस्थामा पर्ने आकस्मिक अवरोधलाई सम्बोधन गर्न सहज पुग्ने कम्पनीको भनाइ छ । खाद्यान्नलाई भण्डारण गर्नका लागि कम्पनीले विभिन्न स्थानमा व्यावसायिक भवनसमेत निर्माण गर्न लागेको छ । संघमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत एक लाख टन खाद्यान्न भण्डारण गरिने छ । त्यसैगरी सातै प्रदेशमा २ लाख १० खाद्यान्न भण्डारण गरिने छ ।
भण्डारण क्षमता बढाएपछि बजारमा जुनसुकै बेला खाद्यान्नको आपूर्ति व्यवस्था सहज पार्न सहज हुने कम्पनीको भनाई छ । संघअन्तर्गत १ लाख टन र प्रत्येक प्रदेशमा कम्तीमा ३० हजार टनका दरले दुई लाख १० हजार टन खाद्यान्न मौज्दात राख्न भण्डारण गृह बनाउन लागिएको कम्पनीले जानकारी दिएको छ । भण्डारण क्षमता बढाउनका लागि भएका गोदाम मर्मत गर्ने र निजी क्षेत्रसमेतको सहभागितामा नयाँ गोदाम निर्माण गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु