नेकपाद्वारा सहिद लखनको स्मृतिमा चौतारो निर्माण

२०७७ श्रावण २७ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले जनयुद्धको समयमा जनमुक्ति सेनाका तत्कालीन कम्पनी कमान्डर सहिद रूपलाल ओली ‘लखन क्षेत्री’ स्मृतिमा परिवर्तन गाउपालिका वडा नं ३ हाइबाङ्मा निर्मित स्मारक चौतारी भव्य समारोहका बीच उद्घाटन गरेको छ । लखन क्षेत्रीले धादिङको कृष्णभीरमा सहादत प्राप्त गरेका थिए ।
स्मारक उद्घाटन कार्यक्रम नेकपा परिवर्तन गाउँ समितिका सेक्रेटरी महेशको अध्यक्षता, नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ को प्रमुख आतिथ्य, नेकपा रोल्पाका सल्लाहकार गणेश, सहिद परिवारका केन्द्रीय सदस्य प्रज्वल, युवा सङ्गठन नेपाल परिवर्तन गाउँ समिति अध्यक्ष एवम् युवा सङ्गठन नेपाल रोल्पा जिल्ला सदस्य सुरेन्द्र, परिवर्तन गाउँपालिका ३ का अध्यक्ष झपिराम डाँगी, सहिद लखनका बुबा कमलप्रसाद ओली, सहिद नेपबहादुर ओली ‘परिवर्तन’ की जीवनसँगिनी कलावती केसी, सहिद लखनका भाइ नरसिंह ओलीलगायतको आतिथ्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको सञ्चालन नेकपा परिवर्तन गाउँ समिति सदस्य बलप्रसाद बुढाले गरेका थिए ।
प्रमुख अतिथि मानवले दलाल संसदीय व्यवस्था असफल भैसकेकाले वैज्ञानिक समाजवाद अहिलेको अनिवार्य आवश्यकता भएको र वैज्ञानिक समाजवाद प्राप्त गर्न सबै एक हुनुपर्ने बताए । उनले आफ्नो पार्टीले जनयुद्धमा बलिदान गर्ने सहिदहरूको योगदानलाई कहिल्यै नभुल्ने र सहिदका सपना पूरा गर्न आफूहरूले पुनः क्रान्तिको झन्डा बोकिरहेको पनि बताए । आफूहरूले जनयुद्धका मुद्दा पूरा गर्नुपर्छ भनेर आवाज उठाउँदा केपी वली सरकारले प्रतिबन्ध लगाएर पार्टीका नेता–कार्यकर्तालाई बिनाकारण गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाएर जेल, हिरासतमा राख्ने काम गरेर राज्यआतङ्क मच्चाइरहेकाले सबै श्रमजीवी जनतालाई एक हुन अपिल गरे । उनले अहिलेको केपी वली सरकारले विकास निर्माण, न्याय, सुशासन कायम गर्नतिरभन्दा पनि भ्रष्टाचार, लुटपाटमा व्यस्त भएकाले जनताको आवश्यकताअनुसार आफूहरू विकास निर्माणका कार्यमा पनि लागिरहेको बताए । सहिद लखनको योगदानलाई स्मरण गर्न र उहाँको सम्मानस्वरूप यो चौतारी निर्माण गरिएको बताए ।
कार्यक्रमका अतिथि परिवर्तन गाउँपालिका वडा नं ३ का अध्यक्ष झिपिराम डाँगीले यो संसदीय व्यवस्थाबाट विकास निर्माणका काम जनचाहनाअनुसार नभएको र वैज्ञानिक समाजवाद आवश्यक रहेको औँल्याउँदै विद्रोही नेपाल कम्युनिस्ट पार्टीले स्थानीय सत्ताले गर्न नसकेको काम गरेर धेरै राम्रो काम गरेको बताए । सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर गलत गरेको बताए । स्थानीय स्तरमा भ्रष्टाचार अत्याधिक बढेको उनको भनाइ थियो ।
सहिद लखनका बुबा कमलप्रसाद ओलीले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो छोराको सम्झनामा चौतारो बनाइदिएर सम्मान गर्दा आफूलाइ ज्यादै गर्व लागेको बताए । नेकपालाई सहिदका अधुरा सपनाहरू जसरी पनि पूरा गर्न उनले आग्रह गरे । २०३४ साल असार ७ गते साबिकको इरिबाङ गाविसको हाइबाङमा जन्मिभएका लखन क्षेत्रीको २०६१ साल मङ्सिर १ गते धादिङको कृष्णभीर भिडन्तमा सहादत भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु