काठमाडाैंमा कोरोना संक्रमण : कोटेश्वरको असर्फी टोल सिल , कुलेश्वर क्षेत्रका पसल बन्द

२०७७ श्रावण २६ गते, सोमबार


काठमाडाैं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोल सिल गरिएको छ । कोरोनाभाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको हो । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो । काठमाडाैँ महानगरपालिकाका प्रवक्ता इश्वरमान डङ्गोल अनुसार थप १३ जनामा कोरोना पुष्टि भएकामध्ये १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको छ । तीन जनालाई भने उनीहरूकै घरमा राखिएको छ ।
यता , काठमाडौंको कुलेश्वर क्षेत्रमा क्यासेट पसल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रका पसलहरु बन्द गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि ती क्यासेट पसलेले टेकु अस्पतालमा परीक्षण गराएका थिए । पीसीआर परीक्षणमा ती पसलेमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि उनलाई कीर्तिपुरस्थित स्थित अस्पतालको एम्बुलेन्सले उपचारका लागि लिएर गएको थियो । तत्काल प्रहरी र वडाका स्थानीय प्रतिनिधिको उपस्थितिमा कुलेश्वर क्षेत्रका पसलहरु बन्द गरिएको थियो । कोरोना पुष्टि भएपछि कुलेश्वरको फलामे पुलदेखि गणेश मन्दिरको क्षेत्रका पसल बन्द गरिएको छ । प्रहरीले माइकिङ गर्दै क्यासेट पसलेको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्न आग्रह गर्दै माइकिङ समेत गरेको थियो ।
हाललाई सिल जस्तै गरेर पसलहरु बन्द गरिएको हो , सिल नै भने भइनसकेको वडाका एक पदाधिकारीले न्यूज २४ लाई बताए । अब सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ पछि आउने परिणामबाट के गर्ने भन्ने बारेमा निर्णय गरिने पनि ती सदस्यको भनाइ थियो । पसलेको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य अघि बढाइएको बताइएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ । काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ महानगरपालिकाका प्रवक्ता डङ्गोलले बताए । त्यस्तै वडा ५ अन्तर्गत हाँडीगाउँ क्षेत्रमा पनि एकै परिवारका पाँच जनामा सङ्क्रमण पाइएपछि लकडाउन गरिएको उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु