आऊ एकसाथ पिसाव फेरौं

बलराम तिमल्सिना २०७७ श्रावण २४ गते, शनिबार

आऊ कवि आऊ कलाकार
हामी एउटा सल्लाह गरौं
बालुवाटार, सिंहदरवार
निर्मल निवास , रामशाह पथ
यी सवै दरवारतिर फर्किएर
मर्यादाको बूढो हिसाव फेरौं !
एक साथ सबैले पिसाव फेरौं !!

हामीतिर फर्किएर
लाजै नमानी लर्किएर
यी दरवारहरूले
युगौं भयो पिसाव फेरेको
हाम्रो विश्वासको शिरमा चढेर
धेरै भयो यिनीहरूले धोका छेरेको
झिकौं बहीखाता हिसाव हेरौं !
आऊ एकसाथ पिसाव फेरौं !!

हाम्रो कञ्चन झरनाजस्तो
हुर्मत लुट्ने यिनीहरू नै हुन
मकै हाँडीमा भुटे जसरी
हामीलाई भुट्ने यिनीहरू नै हुन्
हामीलाई निशस्त्र राखी
बन्दूक बोक्ने यिनीहरू नै हुन्
हाम्रो छात्तीको तारो थापी
गोली ठोक्ने यिनीहरू नै हुन्
आशु रगत र पसिनाको हाम्रो
आऊ इतिहासको पैंचो फेरौं !
लाज नमानी , अन्यथा नठानी
आऊ एकसाथ पिसाव फेरौं !!

खप्ने कति हो मूर्दा जसरी
यिनको दमन यिनको दलन
छात्तीभरि आगो जसरी
दन्किरहेछ ज्वाला-जलन
सत्ता मैथुनमा यी लीन छन्
देखिरहेछौं स्खलन्
फेर्नु पर्दछ साथी अव ता
युगौं पूरानो जिर्ण चलन
उसले खप्दा कस्तो हुन्छ
आऊ मिलेर हामी नि हेरौं
हल्ला बोलेर दिल खोलेर
आऊ एकसाथ पिसाव फेरौं !

जसले गर्दछ हाम्रो इज्जत
ऊसँग इज्जत गर्नु सही हो
जसले गर्दछ वेइज्जत
पैंचो फेर्ने तरिका त्यही हो
नाङ्गै नाङ्गै छन् यी सारा
नाङ्गै हर्कत गर्छन् हजार
आहा कस्तो सौम्य पहिरन
भन्छ लुटेराहरूको बजार
इटको जवाफ फूलले हुन्न
आऊ पत्थर फाली हेरौं
लेखक कवि हो कलाकार हो
आऊ एकसाथ पिसाव फेरौं !

प्रतिक्रियाहरु