चिकित्सा शिक्षा सङ्घर्ष समितिद्वारा लेट फि भन्दै फेरि अर्को रकम नमाग्न चेतावनी

२०७७ श्रावण २४ गते, शनिबार

काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिले कोरोना महामारीको जटिल परिस्थितिमा पनि मेडिकल कलेजका मालिकहरूले विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्य गरेको भन्दै यसप्रकारको कार्यमा सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले सङ्र्ष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थी तथा काठमाडौँ विश्वविद्यालय परिवारका तर्फबाट विज्ञप्ति जारी गर्दै कोरोना महामारीको समयमा व्यापार–व्यवसाय गरिरहेका थुप्रै व्यवसायीहरूले पनि आफ्ना व्यावसायिक समूहहरूलाई भुक्तानी छुट दिइरहेको अवस्थामा मेडिकल कलेजका मालिकहरूलाई शिक्षाका नाममा विद्यार्थीलाई लेट फि भन्दै फेरि अर्को रकम नमाग्न चेतावनी पनि दिएका छन् ।

चन्द र भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षामा भएको विकृति, दलाली, भ्रष्टाचार र माफियागिरीका विरुद्ध सङ्घर्षरत विद्यार्थी र अभिभावकहरूको साझा सङ्घर्ष समिति–चिकित्सा शिक्षा सङ्घर्ष समितिले लामो समयदेखि विभिन्न सङ्घर्षहरू गर्दै आएको र धेरै विद्यार्थीहरूबाट मेडिकल माफियाहरूले असुल्दै आएको अतिरिक्त शुल्कको पीडाबाट राहत पाएको विषय तपाईं–हाम्रा सामु स्पष्ट नै छ । विश्व कोरोना भाइरस (कोभिड १९) बाट थलिएको छ भने नेपालजस्तो विकास उन्मुख देशको आर्थिक, शैक्षिक र सामाजिक पक्ष निकै भयावह भएको छ । यस्तो महामारीका क्रममा आफ्नो ज्यानको, परिवारको परबाह नगरी अहोरात्र बिरामीको सेवामा खटिने चिकित्सा क्षेत्रका डाक्टर, नर्स, प्रयोगशाला, फार्मेसी र अन्य पारामेडिक्स सहकर्मी एवम् अग्रजहरूलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछौँ साथै थप हौसला प्रदान गर्दछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस महामारीको विषम परिस्थितिमा पनि मेडिकल कलेजका माफियाहरूले अनावश्यक ढङ्गले विभिन्न शुल्कहरू (बेड शुल्क, ल्याब शुल्क, ओ.पी.डी. शुल्क) चरम रूपमा बढाएको तर अस्पतालमा कार्यरत कर्मचारीलाई कुनै सेवा, तलब, भत्तामा वृद्धि नगरेको साथै कोरोना सङ्क्रमित बिरामी अस्पतालमा आउँदा अन्य बिरामीको सङ्ख्या घट्ने र भनेजति पैसा कमाउन नपाउने भन्ने मनस्थितिले गर्दा कोरोना सङ्क्रमित बिरामीले केही मेडिकल कलेजमा मृत्युवरण गर्नुपरेको घटना हाम्रो अगाडि छ, मेडिकल कलेजको यस्तो अमानवीय र घृणित ब्यवहारप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । मेडिकल कलेजका मालिकहरूले यस्तो आर्थिक जटिल परिस्थितिमा विद्यार्थीहरू र अभिभावकहरूलाई फोन गरी पैसा माग्ने र धम्की दिनेजस्ता घृणित कार्यप्रति हाम्रो सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । प्रथमतः सबै विद्यार्थी, सङ्काय र वर्षका विद्यार्थीहरूको अतिरिक्त शुल्क समायोजन गरेको विषयलाई सूचना वा सम्झौतामार्फत जानकारी गराई चोरी गरेजसरी हैन, नैतिकतासहित विश्वविद्यालय वा डिनको कार्यालयले तोकेको आधिकारिक शुल्क बुझाउनका निम्ति अनुरोध गर्नका लागि अपिल गर्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘व्यापार–व्यवसाय गरिरहेका थुप्रै व्यवसायीहरूले पनि आफ्ना व्यावसायिक समूहहरूलाई भुक्तानी छुट दिइरहेको अवस्थामा मेडिकल कलेजका मालिकहरूले शिक्षाका नाममा विद्यार्थीलाई लेट फिका नाममा फेरि अर्को रकम नमाग्न पनि चेतावनी दिन चाहन्छौँ । मेडिकल कलेजका मालिकहरूलाई चेतना होस्, विद्यार्थीमाथि हुने हरकिसिमका दमन, ज्यादतीका विरुद्ध हरकिसिमका सङ्घर्ष र जस्तोसुकै कदम उठाउन हाम्रो सङ्घर्ष समिति बाध्य हुनेछ । स्वास्थ्य विज्ञले कोरोनाबाट जोगिने र जोगाउनका निम्ति मास्क लगाउने र २ मिटरको भौतिक दूरी कायम गर्ने सुझावलाई अनुशासनपूर्वक पालना गर्न पनि सबै विद्यार्थी, अभिभावक, युवा र सम्पूर्ण जनतामा अपिल गर्दछौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु