मुख्यमन्त्री पोख्रेलको योजनामा ‘सहिद कृष्ण सेन मार्ग’को नाम फेरिएको भन्दै व्यापक विरोध

२०७७ श्रावण २४ गते, शनिबार


काठमाडौँ । मुख्यमन्त्री शङ्कर पोखरेलको योजनामै दाङको लमही–घोराही–तुलसीपुर सडकलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामकरण गरिसकिएको भए पनि उक्त नाम हटाएर गोरक्ष मार्ग नामकरण गरी जनयुद्धका सहिदको अपमान गरेको भन्दै व्यापक आलोचना भएको छ । २०६८ साल पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त राजमार्गलाई ‘सहिद कृष्ण सेन मार्ग’ नामकरण गर्ने निर्णय गरेको थियो । दाङ जिल्लासभाको बुधबारको बैठकले ‘सहिद कृष्ण सेन मार्ग’ को नाम फेरेर गोरक्ष मार्ग नामकरण गर्ने निर्णय गरेपछि दाङलगायत जिल्लाबाट उक्त निर्णयको विरोध भएको हो । घोराही–लमही सडकसमेत पर्ने गरी जिल्लासभाबाट नयाँ नाम प्रस्ताव गरिएकाले चौतर्फी विरोध भएको समाचारमा जनाइएको छ । जिल्लासभाको निर्णयको विरोधसँगै जनस्तरबाटै ‘सहिद कृष्ण सेन मार्ग’ नाम कार्यान्वयन गर्न सुरु गरिएको पनि प्राप्त समाचारमा उल्लेख छ ।
जनयुद्धका नायक भनिएका प्रचण्ड पुष्पकमल दाहालमा ‘पुनर्मुसिको भवः’ भएपछि जनयुद्धका सम्पूर्ण संरचना र निर्माण समाप्त हुँदै गएका छन् । जनयुद्धका सहिदहरूलाई अझसम्म राष्ट्रिय सहिद घोषणा गरिएको छैन तर दाहाल प्रधानमन्त्री भएको समयमै सामान्य दुर्घटना वा झडपमा परेर मारिएका गैरराजनीतिक घटनाका व्यक्तिहरूलाई पनि सहिद घोषणा गरिएको भन्दै व्यापक आलोचना सुरु भएको थियो । स्मरणीय छ, काङ्ग्रेस र एमाले त यसअघिदेखि नै जनयुद्धका विरासत मेट्न लागिपरेका थिए, कृष्ण सेन मार्गको नाउँ मेटाएर अर्को नाउँ प्रस्ताव गरिँदा दाहाल पक्ष अर्थात् पूर्वमाओवादी पृष्ठभूमिका कसैले पनि विरोध नगरेको स्रोतले बताएको छ ।
क्रान्तिकारी शक्तिहरूले मात्र होइन, सरकारी पार्टीको भ्रातृ सङ्गठन अनेरास्ववियु दाङले समेत ‘सहिद कृष्ण सेन मार्ग’ मार्गलाई प्रचलनमा ल्याउन माग गर्दै घोराहीको गुम्राचौक र लमहीको अर्जुनखोलामा बोर्ड राखेको जनाइएको छ । तुलसीपुरमा पनि यस्तै बोर्ड राखिने उक्त सङ्गठनका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले बताएको समाचारमा उल्लेख छ । उक्त सङ्गठनका जिल्ला संयोजक जंगबहादुर रोकाले भने विज्ञप्ति जारी गरी २४ घन्टाभित्र जिल्लासभाको निर्णय सच्याउन जिल्ला समन्वय समितिसँग माग गरेको समाचारमा उल्लेख छ । तर दाहाल समूहबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन । कृष्ण सेन मार्ग नाम हटाएर गोरक्ष मार्ग नाम प्रस्ताव गर्नेमा प्रस्तावक सांसद अमरबहादुर डाँगी रहेको पनि समाचारमा जनाइएको छ ।
राजमार्गको नयाँ नामकरण गर्ने निर्णयसभामा प्रमुख अतिथि सत्ताधारी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री शङ्कर पोख्रेल रहेको जनाइएको छ ।

प्रतिक्रियाहरु