दाइँबराइँदो

बलराम तिमल्सिना २०७७ श्रावण २३ गते, शुक्रबार

तिम्रो छाला उधारेर पत्र पत्र
छालाकै पानामा
तिम्रै नलिहाडलाई
कलम बनाएर
तिम्रै रगत चोबेर
तिम्रै रगतको मसीले
लेखिएको थियो-
‘शूद्रहरू अछूत हुन् !’

तिम्रै छालामा
तिम्रै नलीहाडको कलमले
तिम्रै रगतले
लेखिएको ग्रन्थलाई
भनिएको थियो -धर्मशास्त्र
जुन शास्त्रले
आज पनि लखेटिरहेछ तिमीलाई !

तिमी जुन मन्दिरमा छिर्न
गरिरहेछौ मरिहत्ते
जसको मूर्ती छ मन्दिरभित्र
जसलाई ढोग्न तिमी छटपटाएका छौ
त्यो तिम्रो पूर्खाको हत्याराको मूर्ती हो !

जो पढिरहेको छ मूर्ती नजिकै
तिमीले नबुझ्ने भाषामा
“ढोल गवार पशू शूद्र नारी….”
ऊ तिमीलाई गाली गरिरहेछ
तिमी उसलाई पनि ढोग्न आतुर छौ
ऊ उल्टै भनिरहेछ –
‘तेरो निधारले छुँदा
अपवित्र हुन्छन् मेरा पैताला !’

म स्तव्ध स्तव्ध छु
सोचिरहेछु मनमनै
किन शम्वूकका सन्तानहरू
रामलाई अझै ईश्वर मान्छन् ?

तिम्रो छात्तीलाई खलो बनाएर
गाडिएको छ धर्म -ध्वजाको मियो !

तिमीलाई नै गोरू बनाएर
गरिदै छ वर्णाश्रमको दाइँ !

तिमी आफ्नै छात्ती कुल्चेर
प्रदक्षिणारत छौ निरन्तर निरन्तर !

र तिम्रै अर्को भाइ
तिमीलाई नै धपाउँदै पुच्छर निमोठ्दै
गाइरहेछ-
‘झिल्के गाईको छोरो
माली गाईको नाती
हिड हिड छिटो हिड
नरम परालमाथि
दाइँबराइँदो ….!’

तिमीलाई नै लाजभाँड गाली गरिएको
यो लाज हुने गीत
प्रसंसा संझेर / पवित्र संझेर
उत्सव मनाएर/ रमझम बनाएर
कहिलेसम्म गाइरहने हो ?

कहिलेसम्म चलिरहने हो
तिम्रै छात्तीमाथि
यो आदिम दाइँबराइँदो ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्रतिबन्धित मान्छेको घोषणा

२०७७ आश्विन २ गते, शुक्रबार

प्यारो देश

२०७७ भाद्र ३१ गते, बुधबार

संझनाका सङ्कट

२०७७ भाद्र ३१ गते, बुधबार