साँच्चिकै नयाँ शक्ति निर्माण जरुरी

२०७७ श्रावण २० गते, मंगलवार
नारायण शर्मा


अब नेपालका पुराना जुनसुकै नामका राजनीतिक शक्ति, व्यक्ती र नेता-नेतृबाट देस र जनताको स्वत्व, अस्तित्व, अस्मिता, सार्वभौमिकता र स्वाभिमानको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन हुने छांट छैन ! उनीहरुबाट न कम्युनिस्ट आन्दोलन (कम्युनिस्ट क्रान्तिकारी विचार, वर्ग र व्यवहार अनि संगठन, संघर्ष, संस्कार र संस्कृति)को न त राष्ट्रिय र जनवादी/लोकतान्त्रिक आन्दोलनको रक्षा, प्रयोग, विकास, विस्तार, सफलता/विजय र अग्रगमनको नेतृत्व हुन सक्ने भयो ! त्यसैले अब तेस्रो शक्ति निर्माणको आवस्यकता खट्कियो ! यसमा वामपक्षधर सबै माओवादी र एमालेभित्रका स्वच्छ, सच्चा र क्रान्तिकारी कम्युनिस्ट अनि अन्य सत्ताबाहिरका विप्लव समेतका सबैजसो शक्ति, व्यक्ती र प्रवृत्तिहरु सग्लै वा एक्लै दुक्लै गरी मिल्न-मिलाउन सुरु गरिहाल्नु जरुरी भयो ! तसर्थ पहिलो पिंढी, पंक्ति र प्रवृत्तिका नेता-शासकहरु सबैले यो जरुरत बुझेर आफ्नो स्वइच्छा, स्वविवेक र स्वनिर्णयले आआफ्ना स्थान, मान र सानयुक्त काम, कर्तब्य र हकभोगबाट राजीनामा दिएर वा रिटायरमेण्ट लिएर ससम्मान विदा हुनु स्वयं आफ्नो र आफ्नो योगदान/इतिहासको अनि जनताको, राष्ट्रको र आन्दोलनको हितमा हुन्छ । अन्यथा पछिल्ला पिंढी र तिनका नेताहरुले अघिल्ला पिंढी र तिनका नेताहरुलाई सचेत, सुनियोजित, सुसंगठित र सशक्त संघर्षद्वारा अली असहज, अप्रिय र अपमानजनक रुपमा बहिर्गमन गर्ने जिम्मेवारी पूरा गर्नेछन् ! यो जिम्मेवारी पूरा गर्नको लागि दोस्रो/तेस्रो पिंढी, पंक्ती र प्रवृत्तिका अर्थात् स्वच्छ, सरल, सदाचारी, साहसी, सकृय, समर्पित, स्वाभिमानी, स्वनिर्भर र स्वविवेकी चिन्तन र चरित्रका नेता-नेतृहरु यथेष्ट ज्ञान, ध्यान र ज्यानका साथ यतातिर अर्थात् साँच्चिकै नयाँ क्रान्तिकारी र देसभक्त शक्ति निर्माणतिर पो लाग्ने हो कि ? नत्र त बर्षातको बाढीले “लौरी पनि म पनि सङ्गै सललल” बगाएझैं आज पार्टी र तिनका नेता-शासकहरुमा क्रोनिक बनेका भ्रष्टाचार, कमिसनखोरी, घुसखोरी, परिवारवाद, गुटवाद, फुटवाद, राष्ट्रघात, जनघात, जनतन्त्र/लोकतन्त्रघात र गद्दारीको वर्तमान बाढीले कम्युनिस्ट वा लोकतान्त्रिक आन्दोलन र राष्ट्रकै भविष्यलाई समाप्त पार्ने देखिन्छ ! स्मरण रहोस्, नयाँका नाममा अनुहार नयाँ मात्र नयाँ होइन र बाबुराम जस्तो पुरानै पश्चगामी, प्रतिगामी, पुनरुत्थानवादी चिन्तन र चरित्र भएका पात्र र प्रवृत्तिहरुको पुनर्जीवन नहोस् ! चेतना भए होश गरौं, हिम्मत गरौं र हाम्रो हक भोग/उपयोग गरौं अनि आफ्नो वर्तमानको राष्ट्रिय जिम्मेवारी र भविष्यका सन्ततिहरुप्रतिको जवाफदेहीता पूरा गरौं ! यसरी अन्ततः आफ्नो जीवन सफल र सार्थक तुल्याऔं !!

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु