आज गाईजात्रा

२०७७ श्रावण २० गते, मंगलवार

काठमाडौं । आज गाईजात्रा , विशेष गरी नेवार समुदायले मनाउने यो पर्व काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा मनाइन्छ । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ ।
यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ । शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन गराइन्छ भने पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि यस पर्व मनाउन थालिएको छ ।
काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक पर्‍यो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ ।
कोरोनाका कारण यसपटकको गाईजात्रा त्यति उत्साह जनक नहुने भएको छ ।सरकारले बालबालिका र जेष्ठ नागरिकलाई भिडभाडमा नल्याउन भनेपछि यसपटको गाईजात्रा विगतमा जस्तो नहुने भएको हो । गाईजात्राको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु