पतनको संघारमा सरकारी नेकपा

२०७७ श्रावण १९ गते, सोमबार

   

    विष्णु पन्त

१. दिशाविहीनता र अकर्मण्यताको शिकार बनेको सरकारी नेकपा – सबैलाई प्रष्टै भएको तथ्य के हो भने सरकारी नेकपा आपूm कसरी बाँच्ने वा संघर्ष गर्ने भन्ने विषयमा दृष्टिकोणविहीन थियो र छ । ओली र दाहालको लडाईं केवल सत्ता र कुर्सीमा केन्द्रित छ । संसदमा बहुमत वा अल्पमतले भए पनि कुर्सीका लागि लड्नु नै उनीहरुको जीवनी बनेको छ । कुर्सीका लागि घरभित्रै कोतपर्व र भण्डारखालपर्वहरुको पुनरावृत्ति हुँदैछ । कुहिरो लागेको छैन, आकाश सफा छ तर सरकारी नेकपा कुहिरोको कागजस्तै रुमल्लिएको छ र दिशाविहीन बनेको छ । आज देशमा गम्भीर समस्याहरु छन्, कोरोना महामारीले देशलाई नै आक्रान्त पार्दैछ तर सरकारसँग न त रोकथाम छ न त उपचार । न त सरकारसँग राहत वितरणको लागि कुनै दृष्टिकोण नै छ । देशैभरि बाढी, पहिरो र डुबानले धेरै जनधनको क्षति भएको छ तर सरकार केवल रमिता हेरेर बसको छ । देशका सयौं स्थानमा भारतीय सीमा अतिक्रमण भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको नक्सा सार्वजनिक गरेकै विषयमा कसले गरेको भन्ने विषयमा आपसमै हानथाप गरेर बसेका छन् । नक्सा जारी गर्नु त सामान्य विषय हो तर त्योभन्दा गम्भीर विषय त भूमि फिर्ता गर्नु र कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्नु हो । यो संवेदनशील विषयमा आपसमा मिलेर अगाडि बढ्नुको साटो काटाकाट र मारामार गर्लान् जस्तो गरिरहेका छन् । संसदीय चेतनाको उपज यही हो कि उनीहरुसँग अगाडि बढ्ने कुनै सोच छैन र यथास्थितिमै रुमल्लिनु र लड्नु उनीहरुको कथा बनेको छ । भ्रष्टाचारले पूरै देश र समाजलाई आक्रान्त पारेको छ तर उनीहरुको जाईजात्रा उल्टो दिशातिर छ । वास्तवमा जनताले ओली, दाहाल वा नेपाल सबैलाई हेरिसकेका छन् र परीक्षण गरिसकेका छन् । यो व्यवस्था कायम रहँदासम्म जो सत्तामा गए पनि हुने यही नै हो । हामीले धेरै पहिला नै भनेका थियौं कि सरकारी नेकपा कुनै कम्युनिष्ट पार्टी बन्ने त कल्पना पनि गर्न सकिँदैन तर बुर्जुवा पार्टी पनि बन्न सक्दैन । बुर्जुवा पार्टी पनि एउटा विधि, पद्धति र दृष्टिकोणबाट निर्देशित हुन्छन् । खेलका नियम, अनुशासन र मूल्य, मान्यताहरु हुन्छन् । जसले हिजो विधिका कुरा उठाएका थिए आज तिनीहरु के गर्दैछन् ? जसले आज विधिको कुरा उठाएका छन् हिजो तिनीहरु के गर्दै थिए ? त्यसकारण विप्लवको संश्लेषण सही छ– ‘ओली–दाहाल गठबन्धन हो र त्यो पार्टी होइन । हो संसदीय चेतना नै भए पनि केही न केही प्रगतिशील, राष्ट्रवादी, राष्ट्रवादी र सुधारवादी सोच त राख्न सकिन्थ्यो नै । आज सबै संसदीय पार्टीहरुको हालत उस्तै छ । उनीहरुभित्र न आन्तरिक लोकतन्त्र छ न त कुनै दर्शन वा दृष्टिकोण छ । सबै कमिशन र कुर्सीको गोलचक्करमा डुबेका छन् ।

२. न त विभाजन न त एकताको दोसाधमा सरकारी नेकपा – केपी ओलीले त प्रष्टै भनेका छन कि–“प्रधानमन्त्री बन्ने रहर भए अर्को चुनाव कुर्नुस् ।” तिथि र पद्धतिको कुरा उठाइरहेका दाहाल र नेपाललाई गरिएको प्रहार थियो यो । उनले भनेका छन्–“तपाईंहरुसँग बहुमत छ भने मलाई कारवाही गरेर देखाउनुस् ।” ओलीको अनुपस्थितिमा बैठक त बस्न नसक्ने दाहाल–नेपालको मनोविज्ञानलाई ओलीले नबुझ्ने कुरा भएन । ओलीद्वारा एक पक्षीय रुपमा स्थगित गरिएको स्थायी समितिको बैठकलाई केही मिनेट संचालन गरेका दाहाल, नेपाल समूहले अन्त्यमा बैठक भन्न नसकी भेला भन्न बाध्य भए । ओलीको अनुपस्थितिमा बैठक वा भेला त संचालन गर्न नसक्ने दाहाल–नेपाल समूहले के बहुमतबाट ओलीलाई हटाउन सक्लान ? तस्बीर स्पष्टै छ, दाहाल समूह खिइँदै छ भने ओली समूह बाक्लिँदै छ । यसको मूल कारण के थियो भने यो विचार वा एजेण्डाको लडाई थिएन र केवल कुर्सी एंव कुण्ठाहरुको लडाई थियो । कुर्सीको लडाईमा ओलीले नै जीते जस्तो बन्यो र दाहाल समूहमा संकट उत्पन्न भयो ।

३.१ मंगलबार बोलाइएको स्थायी समितिको बैठक लज्जास्पद भयो – पछिलो पटक मंगलबारका लागि स्थायी समितिको बैठक बोलाइएको थियो तर केपी ओलीद्वारा दाहाललाई थाहै नदिई उक्त बैठक स्थगित गरियो । यो अर्का अध्यक्ष पुष्पकमल दाहालका लागि निकै नै लज्जाजनक थियो । दाहाल समूहमा बैठक सूचारु गर्ने वा स्थगित गर्ने विवाद बढ्यो । त्यतिकैमा ओलीको उर्दी आयो – त्यो बैठक संचालन भए त्यो अवैधानिक हुनेछ । दाहालले बैठक त सुरु गरे तर माइन्यूट थिएन । त्यसलाई बैठक भन्ने वा भेला भन्ने आपसमै विवाद भयो । अन्तमा भेला भनियो । भेला पनि केही मिनेटमै सकियो र त्यसले केही पनि ठोस निर्णय गर्न सकेन ।

२.२ वामदेवको ६ बुदे प्रस्ताव – मंगलबारकै दाहाल समूहको भेलामा वामदेव गौतमद्वारा पार्टी एकताका लागि भन्दै महाधिवेशनसम्म ओली नै अध्यक्ष बन्ने र यो पाँच वर्ष ओली नै प्रधानमन्त्री बन्ने भन्ने प्रस्ताव आयो । अन्यथा पार्टी फुट्ने र ‘नहुनुभन्दा कानो मामा ठीक’ भन्ने निष्कर्षमा पुगेको कुरा सुनाए । उता भीम रावलले पनि वामदेवलाई समर्थन गर्दै भने– वामदेवजीको प्रस्ताव सही छ, तपाईंहरु हाम्रा टाउका गन्दै कुर्सीको लडाई लड्ने ?

२.३ प्रचण्ड निकटकाले नै साथ छाडे – स्पष्टै थियो, त्यहाँ विचारको लडाईं थिएन । त्यहाँ व्यक्तिगत लाभ वा हानीको हिसाब–किताबबाट मात्र समर्थन वा विरोध हुनु स्वभाविक छ । पूर्वमाओवादी खेमाका केही नेताहरुले खुलेरै दाहालको लडाईले सबै गुम्ने खतरा देखे ।

३. पूर्वमाकेहरुको अपमान – स्पष्टै थियो, एमालेमा विलय हुनु पूर्व माकेहरुका लागि एउटा सुनौलो अवसर थियो । किनभने एमालेले लिँदैनन् कि भन्ने मात्र उनीहरुसँग चिन्ता थियो । एमालेका अध्यक्ष केपी ओलीका लागि यो अवसर गुमाउनु हुँदैन्थ्यो किनकि उनीसँग समय धेरै थिएन । एक त उनी मृगौलाको बिरामी अर्को प्रत्यारोपणको खतरा । जसरी हुन्छ चुनाव जित्ने रणनीतिअन्तर्गत एमाले र माकेको गठबन्धन सम्भव भयो । आज पूर्वमाकेहरु बढी नै अपमानित हुँदैछन् । ओलीले पछिल्लो पटक भने पनि “गुरिल्लाहरुसँग सँगै बस्न सकिँदैन ।” सरकार वा पार्टी माओवादीलाई बुझाउन सकिन्न भनेर ओलीले पूर्वएमालेहरुको सहानुभूति लिन खोज्दैछन् । हुन पनि पूर्वमाओवादी वा पूर्वएमालेको धारबाट जीत्न सकिँदैन भन्ने दाहाल निकटलाई पनि लागेको छ । हिजो पार्टी एकता गर्दा दाहालद्वारा गरिएको आत्मसमर्पणको परिणाम आज पूर्वमाकेहरुले भोग्दैछन् । दाहाल आफैं अध्यक्ष हुँ भन्छन् तर बैठक पनि चलाउन सक्दैनन् । बैठक स्थगित हुँदा दाहालले पछि मात्र थाहा पाउँछन् । आफ्नो पक्षमा बहुमत छ भन्छन् तर बैठक नै बस्न सक्दैनन् । बहुमतबाट ओलीलाई हटाउँछौं भन्छन् तर बैठक नै बस्ने हिम्मत गर्न सक्दैनन् । पार्टी एकता गर्दा सहमतीको आधारमा अगाडि बढ्ने भनेका छन् ।

४. पूर्वएमालेमा आएको विभाजन – सबैलाई थाहा भएको कुरा हो, पूर्वएमालेका माधव नेपाल र झलनाथ खनाललाई ओलीले धकेलेर किनारामै पु¥याएका थिए । माकेसँगको एकताले उनीहरुलाई ठूलो राहत मिलेको थियो । एकतापछिको केही समय दाहाल र ओलीको कृत्रिम लगनगाँठो निकै कस्सिए जस्तो देखियो । अन्तत्वगत्वा ओलीको दोस्रो मृगौला प्रत्यारोपण सफल भएपछि भने त्यहाँ संघर्ष शुरु भयो । ओलीसँग लड्नका लागि दाहालले नेपाल र खनालको समर्थन पाउनु स्वभाविक थियो । यसरी पूर्वएमालेहरुमा आएको विभाजन अनि पूर्वमाओवादीहरु्बीचको एकताले दाहाललाई सजिलो भएको थियो । अब भने त्यो अनुकूलता सधैंभरि कायम नरहन सक्ने सम्भावना प्रवल छ । ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने मागमा दाहालभन्दा बढी नेपाल र खनाल अडिग छन् ।

५. दाहालमा विकास भएको ढुलमुले चरित्र – ओलीसँग मिल्ने कि नेपालसँग यो प्रश्न दाहालका लागि निकै पेचिलो बनेको छ । नेपालसँग मिलेर ओलीलाई ढाल्न सक्दा सत्ता र पार्टीको शेर आफैं बन्न पाइने सम्भावनाले दाहाललाई नलोभ्याउने प्रश्नै थिएन । बहुमतको आडमा ओलीले राजीनामा दिन्छन् भन्ने सपना अपभ्रम भएको छ । नेपालका लागि त राम्रै भएको छ तर ओली–दाहाल लडाईं भने पेचिलो बनेको छ । जब ओलीले दुवै पद नछाड्ने अडान लिए तब दाहाल हच्किए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई गलाउँछ भन्नेहरु आफैं गले । दुवै पदबाट हटाउँछौं भन्नेहरु एक पदबाट हटे पुग्ने निष्कर्षमा पुगे तर ओली टसकोमस भएनन् । हुँदा–हुँदा अब दुवै पद उनैलाई छाडेर भए पनि गतिलो फेससेभिङ्ग गर्न पाए हुन्थ्यो भन्ने दिशामा दाहाल भौंतारिएका छन् । बालुवाटारमा ओलीसँग बस्दा ओलीसँगै सहमत हुने उता खुमलटारमा नेपाल र खनालसँग बस्दा अर्कै निर्णय गर्ने दाहालको अडानमा गम्भीर संकट आएको छ । यसबाट दाहाल समूहमा क्षयीकरणको विकल्प छैन भन्ने पनि देखाएको छ । कुनैबेला माओको उद्गारलाई स्मरण गर्दै दाहाल आफैं भन्थे– “कार्यदिशा सही भएमा नभएका चीज पनि प्राप्त हुन्छन् र गलत भएमा भएका चीज पनि गुम्छन् ।”

६. सबैले भनेका छन्, “पार्टी एकता विकल्प छैन”– पार्टीमा सबैले भनेका छन्, “विभाजन होइन एकता ।” एकता नै हो भने ओलीलाई दुवै पदबाट हटाउने नारा किन ल्याइयो ? कि त बहुमत देखाउन ओलीले खुरुखुरु राजीनामा दिएर पार्टी र सरकार दुवै हस्तान्तरण गर्लान् भन्ने लाग्नु प¥यो । अब अहिले सबैले भनेका छन्– विभाजन स्वीकार्य छैन र एकताको विकल्प छैन । यो नाराले दाहाल र नेपालको मागलाई कमजोर बताएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने कुरा निषेधको राजनीति थियो । हुन त मौका मिल्नासाथ एकले अर्कोलाई सिध्याउने नै खेल छ । न त बहुमतबाट निर्णय गर्न सक्ने न त बहुमतको निर्णय ओलीले नै मान्ने ! यो गम्भीर संकटमा सरकारी नेकपा उभिएको छ । एकता भन्नासाथ ओलीसहितको एकता नै हुने होला । यसबाट दाहाल नेपाल समूहमा ठूलो निराशा र विचलन पैदा भएको छ । अब फेरि पनि ओलीकै अधिनायकत्व स्वीकार गर्नुपर्ने विवशतामा उनीहरु पुगेका छन् ।

७. तानाशाहीकरणको विकास – स्पष्टै छ, केपी ओली संसदीय तानाशाह बन्ने बाटोमा छन् । राष्ट्रपति, अदालत, सेना, प्रहरी र संवैधानिक निकायहरुलाई आफ्नो नियन्त्रणमा राखेर उनी निरंकुश जस्तै बन्न खोज्दैछन् । विप्लव नेतृत्वले नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएर उनले शुरुदेखि नै फासीवादी यात्रा तय गरेकै थिए । खासगरी अमेरिकाको क्याम्पमा आत्मसमर्पण गरेदेखि नै उनमा फासीवादी, तानाशाही र अधिनायकवादी सोच बढेको स्पष्टै थियो । पछिल्लो पटक पार्टीभित्र पनि उनी तानाशाह बनेर निस्किए । ओलीको ठाउँमा जोसुकै पुगे पनि हुने त्यही नै हो । अब सरकारी नेकपाले जन्माउने भनेकै दलाल, तानाशाह र फासीवाद हो । ओलीको ठाउँमा दाहाल वा नेपाल जो आए पनि हुने एउटै हो । बाहिर कुनै विदेशी शक्तिसँग आत्मसमर्पण गर्ने, दलाली गर्ने र भित्र तानाशाह बन्ने चरित्र वा प्रवृत्ति नै अहिलेको सरकारी नेकपाको मूल प्रवृत्ति बन्दैछ । मान्छेहरुले प्रश्न गरेका छन् के अब सरकारी नेकपाको महाधिवेशन होला ? यदि महाधिवेशन भएमा केपि ओलीले अहिले घोषणा गरेजस्तै अध्यक्ष छाड्लान ? किनभने ओलीको प्रवृत्ति आपूm स्वस्थ रहँदासम्म सत्ता छाड्ने त छैन । उनी त बाँचुञ्जेल प्रधानमन्त्री बन्ने चाहना राखेका छन् । त्यस्तै चाहना दाहाल वा नेपालको पनि छ । अहिलेको विश्वमा सि जिङपिङ वा भ्लादिमिर पुटिनको प्रभाव बढ्दै छ । नेपालको संसदीय राजनीतिले त्यो लाइन पूरा नभए पनि खराब वा असल दुवै खाले शासकको त्यस्तो इच्छा हुनु स्वभाविक हुन्छ ।

आज सरकारी नेकपाका लागि लोकप्रिय बन्ने र इतिहास रच्ने केही सुनौला अवसर थिए । पहिलो त उनीहरुसँग सुविधाजनक बहुमत थियो । दोश्रो राष्ट्रियताका सन्दर्भमा काम गर्ने अनुकूलता थियो । विश्व शक्तिसन्तुलनमा आएको नयाँ फेरबदल, नयाँ शितयुद्ध चीन अमेरिकाबीचको द्वन्द्व, चीन भारतबीचको द्वन्द्वका बीचमा नेपालको राष्ट्रियतालाई माथि उठाउने सुनौला अवसर थियो । तर, ओली सरकार केवल नक्सा जारी गर्दैमा विजयोत्सव मनाउँदै बसेको छ । ऊ अहिले पनि अमेरिकाको दलाल बनेर सत्ता चलाउने सपना बुन्दैछ । कम्युनिष्ट नामको सरकार भएकै कारणबाट लोकप्रिय काम गर्ने थुप्रै अवसर थिए । कोरोना महामारीको नियन्त्रण, उपचार र राहत वितरण, बाढी–पहिलो र डुबानबाट पीडितलाई राहत वितरण, भ्रष्टाचार नियन्त्रण र सुशासनजस्ता तमाम अवसर थिए । तर, सरकारी नेकपा उल्टो बाटोमा हिँड्यो । यदि उसमा प्रगतिशील चेतले मात्र निर्देशित गरेको भए संसदीय व्यवस्थाको विकल्पमा जानेसम्मको सम्भावना थियो । आज उनीहरु उद्देश्यविहीन, विचार र दृष्टिकोणविहीन बनेका छन् । उनीहरु जनतामा भ्रमहरुको प्रचार गरेर सत्तामा पुग्ने अनि टिक्ने रणनीति बनाइरहेका छन् । कम्युनिष्टको भ्रम, राष्ट्रवादको भ्रम अनि समाजवादको भ्रमलाई उनीहरुले व्यापार गरिरहेका छन् । अब उनीहरु तानाशाह, सामन्त, राजा रजौटा बन्ने र विरोधीहरुको सफाया गर्ने बाटोमा गएका छन । यो बाटो पतनको बाटो हो र त्यो पनि शीघ्रपतनको बाटो हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु