साहित्यकार पारस राहादी गिरफ्तार : सरकारको ब्यापक आलोचना

२०७७ श्रावण १९ गते, सोमबार


काठमाडौँ । साहित्यकार पारस राहादी मगरको गिरफ्तारीविरुद्ध सरकारको चर्को आलोचना गर्दै विभिन्न साहित्यिक सङ्घसंस्थाहरूले तत्काल उनको रिहाइको माग गरेको छन् । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिका तर्फबाट अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरी र महासचिव समीर सिंहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै साहित्यकार पारसलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा विचार प्रवाह गरेकै आधारमा कुनै पनि स्रष्टालाई गिरफ्तार गर्नु गलत भएको उल्लेख छ । त्यसैगरी प्रलेस रूपन्देही शाखाले पनि नेपाली साहित्यका क्षेत्रमा उदीयमान युवा प्रतिभालाई विचारका आधारमा गिरफ्तार गरी झूट्टा मुद्दा लगाउने कार्यको घोर विरोध गरेको छ । विज्ञप्तिमा पारसको गिरफ्तारी निन्दनीय र संविधानविपरीत रहेको उल्लेख छ ।
त्यसैगरी बुटवल साहित्य परिषद्का अध्यक्ष वसन्त पोखरेलले विज्ञप्ति जारी गर्दै कलम बोकेर श्रमजीवी वर्गका पक्षमा क्रियाशील साहित्यकार पारसलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाउने षड्यन्त्र गर्नु निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । उनले सरकार स्रष्टाहरूमाथि दमन गरेर विचार तथा अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध उभिएको भन्दै देश तथा श्रमिक जनताका पक्षमा कलम चलाउँदै आएका सम्पूर्ण स्रष्टाहरूलाई निर्वाध रूपले सिर्जनात्मक क्षेत्रमा क्रियाशील हुने वातावरण सिर्जना गर्न माग गर्नुका साथै पारसको गिरफ्तारीप्रति घोर आपत्तिसहित रिहाइको माग गरेका छन् ।
त्यसैगरी गजल सागर नेपालले पनि पारसको गिरफ्तारीको विरोध गरेको छ । अध्यक्ष मीन राना र सचिव कृष्ण गाउँलेले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कवि पारसलाई नेकपाका नाममा प्रहरीले गिरफ्तार गरी झूट्टा मुद्दा लगाएर फसाउन खोजेको छ । नेपाली साहित्य क्षेत्रका उदीयमान युवालाई विचारका आधारमा गिरफ्तार गरी झूट्टा मुद्दा लगाउने कार्यको गजल सागर नेपाल घोर विरोध गर्दछ । गिरफ्तार गरिएका पारसलाई बिनासर्त तत्काल रिहा गरी नेपाली साहित्य क्षेत्रको सम्मान गर्न हामी सरकारसँग माग गर्दछौँ ।’
साहित्यकार पारस रूपन्देहीमा बुटवल साहित्य परिषद्, साहित्य सङ्गम, गजल सागर नेपाललगायत दर्जनौँ साहित्यिक तथा सांस्कृतिक सङ्घ–सङ्गठनहरूमा आबद्ध रहेर सिर्जनात्मक क्षेत्रमा क्रियाशील छन् । उनको गिरफ्तारीपछि साहित्यकारहरू बलराम तिमिल्सिना, खोमा तरामु मगर, मुक्तान थेबा, निभा शाह, ज्ञानु केसी, बिहानी मगर, लीला राना मगर, रसुवाली कवि, रामचन्द्र श्रेष्ठ, श्याम पोखरेल, विकल्प खत्री, माधवकुमार पौडेल, सुर्जन तिवारी, सागर केसी, श्रीराम स्वरूप, प्रगति राना, टीका राना, अर्जुन तरामु, प्रदीप राहादी, गुणदेव सिंजाली, गणेश खनाल, टेकराज भुसाल, यज्ञप्रसाद न्यौपाने, गणेश खनाल, राजेश थापा, सुमिना, दलबहादुर गुरुङ, कृष्ण गाउँले, ऋषि आजाद, सुमन भण्डारी, गुणाखर भट्टराईलगायतले रिहाइका लागि माग गरेका छन् ।

प्रतिक्रियाहरु