कमाल चस्मा – बलराम तिमल्सिना

२०७७ श्रावण १८ गते, आईतवार

फरक चस्मा लगाएर हेरेपछि
कमरेडले आफ्नो बिगत
खुङ्खार आतङ्ककारी देखियो आफैलाई
आफ्ना सहयात्रीहरूलाई हेर्दा
ती पनि उस्तै आतङ्ककारी देखिए !

कमरेड छक्क परे
त्यसपछि निस्किए उनी
दुई दशक आची गरेको ढुङ्गो हेर्न
अहो ! त्यो त साक्षत सालिग्राम देखियो
कमरेडले टाउको ठोकेर ढोगे त्यसलाई !

चस्मा वदलेको दिन
आफ्नै सेनालाई हेरे कमरेडले
ती त आफैंतिर आइरहेका देखिए
बन्दुक सोझ्याएर दौडदै
हतार हतार सरकारी सेना बोलाएर
नियन्त्रणमा लिए कमरेडले !

चस्मा वदलेपछि
देशको वाचाल विदुषक
साक्षत एङ्गेल्स देखे कमरेडले
आफूलाई मार्क्सको कल्पना गर्दै
हतार हतार आलिङ्गन गरे !

यो जादू चस्मा
थुप्रै थान किने कमरेडले
र आसेपासेहरूलाई लगाइदिए
त्यसपछि आसेपासेले पनि
दुरुस्तै त्यस्तै देख्न थाले
जस्तो कमरेडले देख्ने गर्थे ।

चस्मा कमालको छ
यो चस्मा लगाएपछि
मरुभूमिमा हरियाली देखिन्छ
हरियालीमा मरुभूमि देखिन्छ
नाङ्गै भएको बखत पनि
नाङ्गो भएको भान हुदैन
चस्माकै कारणले
कैयन पटक कमरेड
नाङ्गै निस्किएका छन् सडकमा
नाङ्गै उक्लिएका छन् मञ्चहरूमा !

कमरेडले अचेल
यसो भन्न थालेका छन्-
‘सकिन्छ संसार बदल्नोस
सकिन्न चस्मा बदल्नोस
आखिर बदलिएको देख्नु त हो
विना रक्तपात विना युध्द
चस्मा लगाएरै संसार बदलिन्छ भने
यो त काइदाको तरिका हो नि !’

कमरेडलाई
यो नयाँ सश्लेषण गर्न
मद्दत गर्ने महान तत्व हो -कमाल चस्मा !
.

प्रतिक्रियाहरु