‘सरकारको दमनविरुद्ध प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु अधिकार हो’

२०७७ श्रावण १८ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन गर्दै गएमा प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु आफ्नो अधिकार भएको बताएको छ । सो पार्टीका महासचिव विप्लवले हालै पार्टीको मुखपत्र इ–रातोखबरलाई दिएको अन्तर्वार्तामार्फत् सो खुलाशा गरेका हुन् । महासचिव विप्लवले क्रान्ति भन्ने कुरा भित्रभित्रै र बाहिर–बाहिरै गर्ने भन्ने हुँदैन भन्दै केही पत्रकार र पत्रिकाले ढुङ्गा हानेर तरङ्ग नाप्न खोजेको देखिएको र यसको कुनै तुक नभएको स्पस्ट पारेका छन । महासचिव विप्लवले पार्टी दलाल, राष्ट्रघाती, भ्रष्ट, हत्यारा, तस्कर, दमनकारीका विरुद्धको सङ्घर्षमा केन्द्रित भएको बताएका छन् ।

महासचिव विप्लवले कोरोना महामारी र भारतसँगको सङ्घर्ष चर्किएपछि सरकारविरुद्धका आक्रामक कारबाहीहरू रोकेको बेला सरकारले दमनलाई निरन्तर जारी राखेको बताउदै अगाडि भनेका छन्, ‘देशको स्वाधीनतामाथि समस्या आउँदा स्वाधीनताका पक्षमा उभिने शक्तिसँग नेकपाले सहकार्य गर्नसक्छ तर च्याङ काई सेकले जस्तो साम्राज्यवादसँग सहायक र क्रान्तिकारीविरुद्ध प्रमुख प्रहार गर्ने नीति लिने राज्यसँग जस्तालाई त्यस्तैको तरिकाद्वारा जबाफ दिनुको विकल्प हामीसँग रहँदैन ।’

आफ्नो पार्टीले कोरोना महामारीमा जनताको भावनालाई कदर गर्दै राज्यविरुद्ध आक्रामक कारबाहीहरू रोकेको बेला सरकारले दमन अभियान सञ्चालन गरेको उनले बताएका छन् । सरकार र विद्रोही नेकपाबारे बाहिर पटक–पटक सार्वजनिक हुने वार्ताका हल्लाहरुका बारेमा प्रस्ट पार्दै महासचिव विप्लवले आफ्नो पार्टीले धेरैपटक वार्ताका बारेमा स्पष्ट धारणा राख्दै आएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले त कोरोना रोकथाममा सबैसँग सहकार्य गर्ने पनि भन्यौँ । केपी सरकारले हाम्राविरुद्ध अप्रेसन गर्ने, गिरफ्तार गर्ने, जेल हाल्ने कार्य एकछिन् पनि रोकेको छैन ।’

उनले वार्ताको विषयलाई रहस्य र गुपचुपको विषय बन्न दिन नहुने बताउँदै यो सरकारी षड्यन्त्रको जाल भएको प्रस्ट पारेका छन् । सरकारलाई उनले प्रश्न गरेका छन्, ‘सरकार समर्थक मान्छे र उनीहरूका विभिन्न प्रतिनिधिहरूले विभिन्न तरिकाले वार्ताको कुरा लिएर आउने र छाम्ने गरिरहेका छन् । एकातिर कमरेडहरूलाई हत्या गर्ने, गिरफ्तार गर्ने, जेलमा कोच्ने अनि वार्ताको प्रचार गर्ने ! यसको के तुक छ र ?’ यो व्यवस्थासँग सन्तुष्ट नरहेका कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त शक्ति जो जहाँ भए पनि देशलाई रूपान्तरण गर्ने नयाँ जिम्मेवारी बहन गर्न एक हुनुपर्छ भन्ने आफ्नो पार्टीको दृष्टिकोण रहेको भन्दै विप्लवले थुप्रै खालका जटिलतालाई चिर्दै प्रत्यक्ष–अप्रत्यक्ष रूपले त्यस्ता पार्टी, शक्ति, नेता र व्यक्तित्वहरूसँग आपूmहरुको छलफल भइरहेको पनि जनाएका छन् ।

नेपाली स्वाभिमानी जनताको दबाबमा परेर केपी वली सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नक्सा प्रकाशित गर्ने निर्णय गरे पनि भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउन भारतसँग विभिन्न मोर्चामा सङ्घर्ष सञ्चालन गरेर मात्र सफलता प्राप्त हुने धारणा उनले राखेका छन् । सरकारी नेकपाको विवाद र राजनीतिक घटनाक्रमहरुका बारेमा महासचिव विप्लवले भनेका छन्, ‘डबल नेकपाको विवाद जता पुगे पनि देशको सङ्कटको समाधान यिनै पार्टीभित्रबाट सम्भव छैन । यसको सही समाधान नेपाली क्रान्ति जहाँ पुगेर अल्झिएको छ त्यसलाई पूर्णता दिनु मात्र हुनसक्छ ।’

जनताका पक्षमा उठ्ने र सञ्चालन गरिने न्यायपूर्ण सङ्घर्ष दमन, प्रतिबन्ध र बन्दुकभन्दा अतुलनीय रूपले शक्तिशाली हुने भन्दै विप्लवले केपी सरकारले जनताका पक्षमा लडिरहेको आफ्नो पार्टीविरुद्ध मात्र होइन, युवा, पत्रकार, कर्मचारी, विभिन्न व्यवसायीविरुद्ध जस्तो दमनकारी नीति अपनाइरहेकाले यसले उसैलाई सक्ने दिशामा लगिरहेको पनि स्पष्ट पारेका छन् । महासचिव विप्लवले ब्रिटिस साम्राज्यवादी काल एक ढङ्गले समाप्त भएको स्थितिमा गोरखा भर्ती कायम रहनु भनेको लाजमर्दो कुरा भएको बताएका छन् । विप्लवले देशलाई भाडावाल लडाकु पठाउने स्थानबाट मुक्त गर्न राज्यले गोर्खा भर्तीकेन्द्र खारेज गर्न सम्भव भएको बताएका छन् ।

रुकुम चौरजहारीमा भएको जघन्य, अमानवीय र कलङ्कित घटनाले सिङ्गो मानव जातिलाई लज्जित बनाएको भन्दै उनले यो घटना राज्यको असफलता, जनयुद्धको अपूर्णता र समाजमा हाबी भएको प्रतिक्रान्तिको अभिव्यक्ति पनि भएको बताएका छन् । यस्ता घटनालाई कानुनी समाधान गरेर मात्र नहुने भन्दै उनले चलिआएका सामाजिक संस्कार, आर्थिक, राजनीतिक मान्यताहरूलाई नै परिवर्तन गर्न आवश्यक भएको प्रस्ट पारेका छन् । यतिबेला कोरोना महामारीले पुँजीवादी विश्व र पुँजीवादी नेतृत्वलाई असफलसिद्ध गरिदिएको भन्दै विप्लवले पुँजीवादी सभ्यताका केन्द्र भनिनेहरू नराम्रोसँग प्रभावित भएका र उनीहरू जनतालाई सुरक्षा दिन पूर्ण रूपले असफल भएको धारणा प्रस्तुत गरेका छन् । यसको पछाडि पुँजीवादी अर्थराजनीतिक सम्बन्धको असफलता भएकाले मुनाफाका लागि मात्र सक्षम देखिने पुँजीवाद जनताका लागि काम नलाग्ने भइसकेको छ भन्ने साबित भएको बताएका छन् । उनले भनेका छन्, ‘कोरोनाविरुद्धको लडाइँमा पुँजीवादभन्दा कैयौँ गुणा प्रभावकारी समाजवादी देशहरू देखिएका छन् । अमेरिकासहितका देशहरूले कम्युनिस्ट र समाजवादका विरुद्ध दिइरहेका गलत अभिव्यक्तिले पुँजीवादभित्र समाजवादी क्रान्तिका नयाँ सम्भावनाहरू देखिएको बुझ्न सकिन्छ ।’

प्रतिक्रियाहरु