नेकपामाथिको दमन बन्द गर

२०७७ श्रावण १८ गते, आईतवार

देश र जनता कोराना भाइरसबाट आतंकित भइरहेका छन् । यही समयमा छिमेकीभित्र राष्ट्र भारतले अतिक्रमण र हस्तक्षेप बढाएको छ । सत्तारुढ पार्टीभित्र सरकारको विषयमा छिनाझम्टी भइरहेको छ । तर, नेपाल कम्युनिस्ट पार्टी भने भारतीय हस्तक्षेपको विरोध गर्दै कोरोना भाइरसबाट प्रताडित जनताको सेवामा जुटेको छ । देशलाई अस्थिर बनाउँदै आफ्नो स्वार्थ पूरा गर्न देश र जनतालाई दाउमा राखेर सरकारमा पुग्न खोज्ने देशी, विदेशी दलालहरु नेपाल कम्युनिस्ट पार्टीको कार्यशैलीबाट आहत बन्न पुगेका छन् । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल कम्युनिस्ट पार्टी यतिबेला राष्ट्र र जनसेवामा तल्लिन रहेको छ । सो पार्टीको राष्ट्र र जनताबाट त्रसित केही देशी, विदेशी दलालहरु स्थितिलाई भड्काउने प्रयत्नमा लागेको देखिएको छ । जसको प्रमाणस्वरुप गतसाता मात्र नेपाल कम्युनिस्ट पार्टीका चितवन र रुपन्देही इन्चार्ज, दलित मुक्ति मोर्चाका महासचिवलगायत देशभर दर्जनौँ नेता, कार्यकर्तालाई गिरफ्तार गरेको विषयलाई लिन सकिन्छ ।

देशमा देखिएको कोरोना आतंक, भारतीय हस्तक्षेप र अतिक्रमणलगायत तमाम समस्या समाधानको लागि सम्पूर्ण क्रान्तिकारी र राष्ट्रवादी राजनीतिक दल र नेताहरु एकजुट हुनुपर्छ । यतिबेला देशी, विदेशी दलालहरु क्रान्तिकारी र राष्ट्रवादी दल र नेताहरुलाई एकापसमा जुधाएर आफ्नो स्वार्थ पूरा गर्न तल्लिन भएका छन् । तसर्थ, यस्तो अवस्थामा सरकार चनाखो हुनु जरुरी छ । देशका बाह्य र आन्तरिक दलालहरुलाई पाखा लगाउन राष्ट्रवादी र क्रान्तिकारी दल र नेताहरु एकजुट हुनैपर्छ । यस कार्यको लागि सरकार स्वयम् क्रियाशील हुनुपर्छ । देश र जनताको रक्षाको दायित्व बोकेको सरकार कुनै पनि हालतमा देशी, विदेशी दलालको गोटी बन्नु हुँदैन ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले भनेजस्तै समृद्ध राष्ट्र र सुखी नेपाली बनाउन तमाम राष्ट्रवादी र क्रान्तिकारी दल र नेताहरु एकजुट हुनुपर्छ । त्यसकारण देश र जनतालाई केन्द्रबिन्दुमा रखेर राष्ट्र र जनसेवामा जुटेको नेपाल कम्युनिस्ट पार्टीलाई उपेक्षा गरेर समृद्ध राष्ट्र र सुखी नेपालीको नारा पूरा हुन सक्दैन । यसको लागि सरकारले तत्काल नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध खारेज गरेर उसका तमाम नेता, कार्यकर्तालाई स–सम्मान रिहा गरी वार्ताको वातावरण बनाउनुपर्छ । यदि वर्तमान प्रधानमन्त्री केपी ओली साँच्चै देश र जनतालाई देशी, विदेशी दलालहरुको चंगुलबाट मुक्त पार्दै स्वाधीन राष्ट्र बनाउन चाहन्छन् भने नेपाल कम्युनिस्ट पार्टीसँग काँधमा काँध मिलाएर अगाडि बढ्नुको विकल्प छैन । जसबाट देशको तमाम आन्तरिक समस्या समाधान गर्न सकिन्छ भने भारतीय अतिक्रमण र हस्तक्षेपबाट देशलाई मुक्त पार्न सकिन्छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु