नेकपाद्वारा बाढीपहिरो पिडितलाई सहयोग गर्न पार्टी पङ्क्तिलाई निर्देशन

२०७७ श्रावण १७ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको भेरी–कर्णाली ब्युरोले साउन महिनाको १३, १४ र १५ गतेको अविरल वर्षाका कारण कालीकोट जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट २५ जनाको ज्यान गएको र कैयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । नेकपाका भेरी–कर्णाली ब्युरो इन्चार्ज रविले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।
यस्तै विज्ञप्तिमा कर्णालीका जाजरकोट, बाँके, बर्दिया, हुम्ला, जुम्ला, सुर्खेत, मुगु, दैलेख र डोल्पामा पनि मानवीय र भौतिक क्षति भएकोमा दुःख व्यक्त गरिएको छ । विज्ञप्तिमा जनताको सुरक्षा गर्नु राज्यको मूल दायित्व भएको र वर्तमान सरकारका दलाल, भ्रष्ट, राष्ट्रघातीहरू विभिन्न खालका भ्रष्टाचार र राष्ट्रघाती सम्झौताहरू गरेर कुर्सीको खिचातानीको नाङ्गो नाच नाचिरहेको उल्लेख छ ।
इन्चार्ज रविले बाढीपहिरोका कारण समस्यामा परेकाहरूलाई सहयोग गर्न आफ्नो पार्टीपङ्क्तिलाई निर्देशन गर्दै पीडित नागरिकहरूको सहायताका लागि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु